६ जेष्ठ २०८१, आईतवार

पहिले जस्तो छैन्, अहिले बजारमा व्यापार


सुर्खेत । आर्थिक मन्दीले सताएपछि पहिले जस्तो अहिले व्यापार नभएको व्यापारी बताउने गरेका छन् । बजारमा आर्थिक चपलपहल नहुँदा व्यापारमा कमी आएको हो ।

अहिले बजारमा तथा अन्य क्षेत्रमा आर्थिक अवस्था कमजोर हुँदा घरजग्गा कारोबारदेखि व्यापारमा कमी देखिएको छ ।

बैंकको चर्को व्याज, देशमा आएको आर्थिक मन्दी र घरजग्गाको कारोबार नहुँदा विगतकोभन्दा अहिले व्यापार व्यवसायमा कमी आएको उद्योग बाणिज्य संघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले बताए । ‘पहिला जस्तो अहिले बजारमा क्षेत्रमा चहलपहल छैन् ।’ उनले भने,‘व्यापार र व्यवसायमा कमी आएको छ ।’

बजार क्षेत्रमा व्यापार नहुँदा अहिले कयौंका सटर खाली हुन थालेको वीरेन्द्रनगर–४ सुर्खेतका जयवीर शाहीले बताए । ‘मेरो घर बजारको मुख्यचोक यरीचोकमा रहेको छ । सटर खाली भएको एक वर्ष भयौं ।’ उनले भने,‘अहिलेसम्म कुनै व्यापारी व्यापार व्यवसाय गर्नका लागि आएका छैनन् ।’

विगतकोभन्दा अहिले बजार क्षेत्रमा व्यापार हुने नगरेको खाँडाचक्र नगरपालिका–१ मान्म बजारमा छापाखाना तथा अन्य काममा व्यापार गर्दै आएका हिरामणी चौलागाईले बताए । ‘दैनिक सुको व्यापार छैन् । व्यवसायीहरु मर्कामा परेका छन् ।’ उनले भने,‘आर्थिक अवस्था कमजोर हुँदै गएका कारणले युवाहरु विदेश पलायन हुन लागेका छन् ।’

नेपाल सरकारले आर्थिक सूचक सुर्धिदै गएको देखाएपनि हाल बजार चरम आर्थिक अभाव रहेको छ ।