६ जेष्ठ २०८१, आईतवार

“गैर आवासीय नेपालीको हकहितका निम्ती सरकार जम्मेवार बन्नुपर्छ”


माल्टा (युराेप) । गैर आवासीय नेपालीको हकहितका निम्ती सरकार जिम्मेवार बन्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । गैर आवासीय नेपाली संघको वर्तमान परिवेश, आइसीसी, एनसीसी र एनआरएनएको आगामी कार्यदिशा अन्तराष्ट्रिय समन्वय परिषद् र राष्ट्रिय समन्वय परिषद्को सम्बन्ध विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सरकार जिम्मेवार बन्नुपर्ने बताएका हुन् ।

गैर आवासीय नेपाली संघ युरोप क्षेत्रीय परिषद् (एनसीसी) को आयोजनामा अन्तरक्रिया कार्यक्रम डिसेम्बर १६ तारीखका दिन सम्पन्न भएको हो । गैर आवासीय नेपालीमा देखिएका विभिन्न समस्या समाधानमा गैर आवासीय नेपाली संघ एनआरएनले निरन्तर सहयोग गर्दै आएको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले बताएका थिए ।

गैर आवासीय नेपालीमा कानुनी अड्चनका समस्या देखिएकोले त्यस्ता समस्या समाधानमा नेपाल सरकार जिम्मेवार भई अग्रसर हुनुपर्ने र सरकारलाई सहयोग गर्न एनआरएनए, आईसीसी र एनसीसी सधैं तयार रहेको उनीहरुले बताएका थिए । गैर आवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष डाक्टर बद्री केसीले एनआरएनको आगामी कार्यदिशा प्रस्तुत गर्दै देश बनाउनका लागि सबैले मिलेर काम गर्नुपर्ने बताए ।

गैर आवासीय नेपाली संघको विधी विधान, नीति नियम मानेर हामी सबैले काम गर्नुपर्छ । जायज, नाजायज बाटो भएर युरोप आउने नेपालीहरु यतिबेला समस्यामा परेकोले यसको दिर्घकालिन समस्या समाधानको बाटो सबै मिलेर खोज्नुपर्ने केसीले बताए । उनले भने, “सधैं विदेशमा पैसा उठाएर नेपालीको शवको व्यवस्थापन गर्न सकिदैन । शव व्यवस्थापनको बारेमा सोच्नुपर्ने भएको छ” आत्महत्या रोकथाम र मानसिक स्वास्थ्य समस्या देखिएकोले यस सम्बन्धी अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिनेछ ।

प्रतिव्यक्ति सहयोग गरेको रकम मध्येबाट १ डलर महिलाको लागि र १ डलर युवाको लागि छुट्याउने केसीले बताए । आउने समस्यालाई मध्यनजर गर्दै विदेशमा रहेका सबैले समयमै श्रम नवीकरण गर्न अध्यक्ष केसील ध्यानाकर्षण गराएका थिए । एक फरक प्रसङ्गमा उनले निर्वाचन मार्फत आफू अध्यक्ष पदमा निर्वाचित भएको र कसैले निर्वाचनको प्रक्रिया र परिणामलाई गलत सावित गरे आफू पद त्याग्न तयार रहेको बताउँदै कसैले पनि मतभेद नराखी गैर आवासीय नेपालीको पक्षमा सबै मिलेर काम गर्नु पर्ने बताएका थिए ।

गैर आवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष डाक्टर हेमराज शर्माले संस्थालाई गतिशील बनाउने गरी काम गर्नुपर्ने बताए । त्यसैगरी महासचिव गौरीराज जोशीले निर्वाचनको विषयलाई लिएर कसैले पनि द्बिविधामा नरही संस्थालाई अगाडी बढाउन एक हुनुपर्ने बताए । कोषाध्यक्ष सुदन थापाले एनआरएनएले गरेका परोपकारी कामको बारेमा जानकारी गराएका थिए । गैर आवासीय नेपाली संघ युरोप उपसंयोजक महेश अधिकारी, रोर्बट लिम्बु र राजु अर्याल लगातका वक्ताहरुले एनआरएनएका गतिबिधी अगाडी बढाउनु पर्ने भन्दै नव निर्वाचित गैर आवासीय नेपाली संघका केन्द्रीय  अध्यक्ष डाक्टर बद्री केसीलाई बधाई दिदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

गैर आवासीय नेपाली संघ युरोप क्षेत्रीय समितिका संयोजक डाक्टर चिरनजिवी खड्काको अध्यक्षतामा भएको अनलाइन  भर्चुअल अन्तरक्रिया कार्यक्रममा विभन्न देशका १ सय भन्दा बढी सहभागीहरुको सहभागिता रहेको गैर आवासीय नेपाली संघका केन्दिय सदस्य एवम् नव नियुक्त युरोप क्षेत्रीय सचिव भुवन अर्यालले बताए । अन्तरक्रिया कार्यक्रमले महत्वपूर्ण विषयमा छलफल गर्दै आगामी कार्यदिशा समेत तयार पारेको अर्यालले बताए ।

पछिल्लो समयमा वैदेशिक रोजगामा रहेका नेपालीहरुले काम नपाउँदा डिप्रेसनमा गई आत्महत्याको समस्या बढ्दै गएको अवस्थाप्रति अन्तरक्रिया कार्यक्रममा सहभागी सबैले चिन्ता व्यक्त गरेका थिए । विदेशमा ज्यान गुमाएका नेपालीको शव व्यवस्थापनको प्रक्रिया धेरै झन्झटिलो भएकोले सरकारको समन्वयकारी भूमिका आवश्यक रहेको भन्दै आत्महत्या रोकथाम र मानसिक स्वास्थ्य सम्बन्धी अभिमूखिकरण कार्यक्रम संचालन गर्नुपर्ने विषयमा छलफल भएको गैर आवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद् माल्टाका सल्लाहकार बाबू अर्यालले बताए ।

गैर आवासीय नेपाली संघका उपाध्यक्ष रामशरण सिमखडाले युरोप क्षेत्रीय सचिबमा नियुक्त भएका भुवन अर्याललाई बधाई दिदै राम्रो कार्यक्रमको आयोजना गरेकोमा आफू खुसी भएको बताएका थिए । गैर आवासीय नेपालीको शवको व्यवस्थापनका लागि सचिवालयमा उलग्गै डेस्क स्थापना गरी प्रक्रियागत रुपमा काम गर्नुपर्ने उनले बताए । एनआरएनए बेलायतका महासचिब सचिब गोविन्द खरेलले एनआरएनएको चुनावले विश्वास गुमेकोले आन्तरिक मतभेद हटाएर काम गर्नुपर्ने बताए ।

त्यसैगरी एनआरएनएका अभियन्ता हेम गुरुङले माल्टा र पोर्चुकलमा धेरै नेपाली आउने र काम नपाएका कारण डिप्रेसनमा गई आत्महत्या समेत गर्ने घटना घटेकोले यसतर्फ सबै गम्भीर बन्नुपर्ने बताए । युरोप महिला संयोजक प्रसुना कंडेलले संचालन गरेको अन्तरक्रिया कार्यक्रममा गैर आवासीय नेपाली संघका केन्द्रिय सचिब डाक्टर नवराज रोस्याराले संस्थाको हितको लागि सबैले मिलेर काम गर्नुपर्ने बताए । हेमराज सुवेदीले आजको अन्तरक्रिया कार्यक्रमले राम्रो सन्देश दिएको बताएका थिए भने एनआरएनका बेल्जिएम सल्लाहकार चन्द्राकुमारी गुरुङले गैर नेपालीको समस्या समाधानमा सहयोग पुग्ने गरी सहकार्य गरेर काम गर्नुपर्ने बताईन् ।