२१ बैशाख २०८१, शुक्रबार

मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिने, प्रचण्डको निर्देशन अवज्ञा


 

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिने तयारी गरेका छन् । दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा शर्माले विश्वासको मत लिन लागेका हुन् ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चाहना विपरित मुख्यमन्त्री शर्माले विश्वासको मत लिने भएका हुन् ।

सत्ता गठबन्धन दलको शीर्ष नेताबीच भएको सहमतिअनुसार कर्णालीमा सरकारको नेतृत्व नेकपा एमालेलाई दिने निर्णय भएको थियो ।

केन्द्रको सहमतिको बेवास्ता गर्दै माओवादीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिने भएपछि सरकार गठनमा समस्या हुने देखिएको छ । यसअघि मंगलबार मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम थियो ।

तर गठबन्धनको प्रमुख घटक एमालेले असन्तुष्टि जनाउँदै विश्वासको मत नदिने बताएपछि प्रदेशसभाको बैठक आजका लागि स्थगित भएको थियो ।

कर्णालीमा माओवादीका १३, एमालेका १० र एकीकृत समाजवादीको एक गरी २४ सदस्य छन् । ४० सदस्यीय कर्णाली प्रदेशसभामा बहुमतका लागि कम्तीमा २१ प्रदेशसभा सदस्य आवश्यक पर्छ ।