१३ माघ २०८१, आईतवार

उद्घाटन भएको दुई महिना वित्न लाग्दा पनि भएन नियमित उडान


कालीकोटः जिल्लामा रहेको एक मात्र सुनथराली विमानस्थल उद्घाटन भएको दुई महिना वित्न लाग्दा पनि नियमित उडान हुन सकेको छैन ।
३८ वर्षपछि निमार्ण भएको सुनथराली विमानस्थलको गत फागुन १४ गते उद्घाटन भएको थियो । विमानस्थल उद्घाटन हुदा कालीकोटवासीले जहाज चढ्ने सपना पूरा हुने भन्दै खुसी व्यक्त गरेका थिए । २०४२ सालदेखि निर्माण सुरु भई बीचमा गौचरन बनिसकेको यहाँको एक मात्र कोटबाडाको सुनथराली विमानस्थलको फागुन १४ गते सोमबार तत्कालीन उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले तामझामका साथ उद्घाटन गरेका थिए ।
फागुन १३ गते आइतबार तारा एयरको विमान अवतरण गरेर परीक्षण गरेपछि सोमबार १४ गते तत्कालीन उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, नागरिक उड्डयनमन्त्री सुदन किराँती, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, पूर्वमुख्यमन्त्रीद्वय महेन्द्रबहादुर शाही र जीवनबहादुर शाहीसहितको टोलीले नेपाल एयरलाइन्स र तारा एयरका दुईवटा जहाज अवतरणपछि विमानस्थलको उद्घाटन गरेका थिए ।
सुनथराली विमानस्थलको उद्घाटन गर्दै उपप्रधान तथा रक्षामन्त्री खड्काले लामो समयपछि निकै मेहनत र कठिन परिस्थितिका बाबजुद विमानस्थलको उद्घाटन गरेको बताएका थिए । विमानस्थल निर्माणका क्रममा मारिएका एक नाबालकसहित ३५ जना धादिङ जोगिमाराका मजदुरप्रति उनले श्रद्धाञ्जलीसमेत व्यक्त गरे ।

विमानस्थलको उद्घाटन भएसँगै अब आवश्यकताअनुसार नियमित उडानका लागि स्थानीय, प्रदेश र संघ सरकारले काम गर्ने उनको प्रतिबद्धता थियो । उनले कालीकोटबासीको प्रदेश राजधानी सुर्खेतसंगको सम्बन्ध थप मजबुत भएको बताएका थिए ।
कर्णाली प्रदेशको विकासका लागि सवै राजनीतिक दल एकतावद्ध भएर लागेको खड्काले बताएका थिए । उनले विमानस्थल संचालनका लागि सवै एकतावद्ध भएर लाग्ने प्रतिवद्धता व्यक्त गरेका भएपनि उद्घाटन भएको दुई महिना हुन लाग्दा पनि फेरी विमान फकिएको छैन ।
विमानस्थल उद्घाटनको अवसरमा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले हप्ताको एकपटक यात्रुको चाप हेरेर उडान भर्ने बताए थिए । ‘कोटबाडा मात्र नभएर अहिले कर्णालीका जिल्लामा नियमित उडान हुन सकेको छैनन् । यस्तो अवस्थालाई हेरेर हप्ताको एकपटक नियमित उडान भर्छौँ,’ किराँतीले भनेका थिए । साथै सबै प्रदेशमा नेपाल एयरलाइन्सको एक–एक जहाज दिने उनको उद्घोष थियो ।
०४२ सालदेखि निर्माण सुरु भएको विमानस्थल डेढ वर्षअघि कालोपत्रे सकिए पनि उद्घाटन नहुँदा कालीकोटवासीको ‘चिलगाडी’ चढ्ने सपना पूरा हुन सकेको थिएन । ०७३ माघमा तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीले कच्ची धावनमार्गमा परीक्षण उडान गराए पनि त्यसपछि जहाज आएको थिएन । कहिले स्थान छनोटको विवाद, कहिले बजेट अभाव त कहिले सशस्त्र द्वन्द्वको असरले कामले गति लिन नसकेको कोटबाडा विमानस्थल पछिल्लो समयमा पिच भएर उद्घाटन भईसक्दा पनि नियमित उडान हुन सकेको छैन ।