आयोगले जसपालाई दियो नयाँ दलको मान्यता


काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता दिएको छ । केन्द्रीय सदस्य वा संसदीय दलमध्ये एउटामा २० प्रतिशत भए हुने नियमावलीअनुसार नयाँ दल दर्ताको निवेदन प्राप्त भएको जनाउँदै आयोगले अशोक राई नेतृत्वको जसपालाई नयाँ दलको मान्यता दिएको हो ।
आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयका अनुसार आज बसेको आयोगको बैठकले जसपालाई नयाँ दलको मान्यता दिने निर्णय गरेको हो ।
आइतबार जसपाका कार्यवाहक अध्यक्ष एवं सांसद अशोक राईको नेतृत्वमा सात सांसदसहित ३० केन्द्रीय सदस्यले मूल पार्टीबाट अलग भएको जनाउँदै नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए ।
आजै जनता समाजवादी पार्टी नेपालले आइतबार दल विभाजनसम्बन्धी निर्वाचन आयोगमा दिएको निवेदन अवैधानिक भएको दाबी गरेको छ ।
जसपाका प्रवक्ता मनीषकुमार सुमनले सोमबार विज्ञप्तिमार्फत दल विभाजन भएको भन्ने भ्रममा नपरी सबै केन्द्रीय सदस्यलाई पार्टीले तोकेको जिम्मेवारीमा लाग्न आग्रह गरेका छन् ।
कर्णालीपाटी । २४ बैशाख २०८१, सोमबार १७:३१