बरामद गरिएका औषधि गाउँपालिकाद्वारा नष्ट
सुर्खेत । हुम्लाको सदरमुकाम सिमकोट बजारमा सञ्चालित औषधि पसलहरुमा अनुगमन गरी बरामद गरिएका औषधि सिमकोट गाउँपालिकाले नष्ट गरेको छ । सदरमुकाम सिमकोटमा सञ्चालित औषधि पसलहरुले कालोबजारी गर्नुका साथै बिचौलिया हाबी भएको गुनासो आएपछि गाउँपालिका र जिल्ला प्रशासन कार्यालय हुम्लाको समन्वयमा बरामत भएको उक्त औषधि नष्ट गरिएको हो ।
जसमध्ये सिपि औषधि पसलमा डाक्टरको अनुमतिमा प्रयोग गरिने ट्रामाडोले चार सय ट्याब्लेट औषधि भेटिएको थियो । त्यस्तै हेल्थ अस नेपाल मेडिकल सेन्टर फार्मेसीमा पनि डाक्टरको अनुमतिमा प्रयोग गरिने फेनाइटोन चार सय १०, फोलोफाजेपाइम चार सय १० ट्याब्लेट बरामद गरिएको थियो ।
अनुगमनमा भेटिएका सबै औषधि शुक्रबार मुचुल्का उठाएर गाउँपालिकाले आफ्नो कार्यालय अगाडी नष्ट गरेको गाउँपालिका स्वास्थ्य संयोजक नरबहादुर भण्डारीले जानकारी दिए ।
ती मेडिकलमा मनपरी औषधि बेचेको, एक व्यक्तिको लाइसेन्समा अर्को व्यक्तिले मेडिकल खोलेर बसेको, औषधि र क्लिनिकको अनुमति नलिई सञ्चालनमा भेटिएका थिए । उक्त औषधि डाक्टर बाहेक अन्य स्वास्थ्यकर्मीले विक्री वितरण गर्न नमिल्ने भएपछि बरामत गरिएको थियो ।
उक्त पसलेहरुले औषधि पसल सञ्चालन गर्दा आफ्नो निश्चित तोकिएको भन्दा फरक वा करेट एरिया भन्दा बाहिरको औषधि विक्री गर्दै आएको भेटिएको थियो । अनुमति विना औषधि बिक्री गरिएको औषधि पसलेहरुलाई पहिलोपटक माफी दिएको र यसपछि पनि त्यस्तो भेटिएमा कार्वाही गरिने संयोजक भण्डारी बताए ।
कर्णालीपाटी । २५ बैशाख २०८१, मंगलवार १३:१८