१७ मंसिर २०८१, सोमबार

नरहरिनाथ गाउँपालिकाले किसानलाई गोठालो भत्ता दिने


कालीकोट । कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाले पशुपालन गर्ने किसानलाई गोठालो भत्ता दिने भएको छ । चालु आर्थिक वर्षको स्वीकृत बजेटअनुसार ‘कृषकसँग उपाध्यक्ष कार्यक्रम’बाट पशुपालक किसानलाई गोठालो भत्ताको व्यवस्था गरिएको हो ।

पशुपालन बढाउन गाउँपालिकाले किसानलाई गोठालो भत्ताको व्यवस्था गरेको बताउँदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेलले पशुपालक किसानलाई मासिक रु एक हजार प्रदान गरिने जानकारी दिए ।

गोठालो भत्ता कार्यविधिअनुसार चारवटा भैंसी, ३० वटा बाख्रा र ४० वटाभन्दा बढी भेडा व्यावसायिक रूपमा पाल्ने किसानलाई भत्ता दिइनेछ ।

युवा तथा बेरोजगारलाई कृषिकर्ममा आकर्षित गर्न कार्यक्रम अघि सारिएको गाउँपालिका प्रवक्ता प्रदीप बोहराले बताए ।

‘गाउँमा गोठालोलाई हेयका हेरिन्छ,’ उनले भने, ‘यसले गोठालोको सम्मान गर्नेछ ।’

‘नरहरिनाथ गाउँपालिका पशुपालनको प्रचुर सम्भावना छ । यहाँ धेरै भैंसी तथा भेडाबाख्रापालक किसान छन् । उनीहरूलाई पशुपालनमा प्रोत्साहन गर्न भत्ताको व्यवस्था गरिएको हो,’ उनले थपे ।