२ कार्तिक २०८१, शुक्रबार

१९ महिनामा ढल्यो प्रचण्ड सरकार


 

सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वास गुमाएका छन् । शुक्रबार उनले आफूमाथि विश्वास छ भन्ने प्रस्ताव प्रतिनिधिसभामा राखेका थिए । सो प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।

विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएसँगै प्रचण्ड स्वतः पदमुक्त भएका छन् । शुक्रबार प्रचण्डले राखेको प्रस्तावको पक्षमा ‍‍६३ मत परेको छ भने विपक्षमा १९४ मत पर्‍यो । शुक्रबार २५८ सांसद उपस्थित थिए । एक मत कतै पनि परेन ।

प्रचण्डको प्रस्तावको पक्षमा माओवादी केन्द्र, रास्वपा र नेकपा एसले मतदान गरेका थिए भने विपक्षमा कांग्रेस, एमाले, राप्रपा, जसपा, जसपा नेपाल, नागरिक उन्मुक्ति, लोसपालगायतले मतदान गरेका थिए ।

प्रचण्ड सरकार १९ महिनामा ढलेको छ । उनी २०७९ पुस १० मा प्रधानमन्त्री बनेका थिए । एमालेको समर्थनमा प्रधानमन्त्री बनेका उनी एमालेकै कारण सत्ताविमुख भएका हुन् ।

अब कांग्रेस र एमालेको गठबन्धनबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा प्रधानमन्त्री बन्नेछन् ।