सर्पको टोकाइबाट घाइतेको हेलिकोप्टरमार्फत उद्धार
कालीकोट । सर्पको टोकाइबाट गम्भीर घाइते भएका कालीकोटको शुभकालिका गाउँपालिका–६ का २४ वर्षीय धनप्रसाद आचार्यको शनिबार हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । शुक्रबार आफ्नै बारीमा घाँस काट्ने क्रममा सर्पको टोकाइबाट गम्भीर घाइते भएका आचार्यलाई थप उपचारका निम्ति सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा पुर्याइएको हो ।
उनी शनिबार बिहान जिल्ला अस्पताल पुगेका थिए । त्यहाँ सर्पको विषको असरलाई नियन्त्रण गर्ने एन्टी स्नेक भेनम नहुँदा थप उपचारका निम्ति कर्णाली प्रदेश अस्पतालमा लगिएको छ ।
जिल्ला अस्पतालमा सर्पदंशको उपचार सेवा नभएकाले जिल्ला प्रशासन कार्यालयसँग आग्रह गरेर हेलिकोप्टरमार्फत सुर्खेत पठाइएको जिल्ला जनस्वास्थ्य अधिकृत कटकबहादुर महतले जानकारी दिए । “हवाई उद्धारको शुल्क बिरामीका आफन्तले व्यहोर्ने गरेर हेलिकोप्टरमार्फत प्रदेश अस्पताल सुर्खेतमा पठाएको हो,” उनले भने, “जिल्लामा सर्पदंशको उपचार नुहँदा समस्या भएको छ ।”
जिल्ला अस्पताल कालीकोटमा एन्टी स्नेक भेनम नहुँदा सर्पको टोकाइबाट घाइते भएकालाई जिल्लाबाहिर पठाउनुपर्ने बाध्यता रहेको जिल्ला अस्पतालले जनाएको छ ।
कर्णालीपाटी । ५ श्रावण २०८१, शनिबार १६:३०