जाजरकोट–डोल्पा सडकमा ज्यान जोखिममा राखेर यात्रा
जाजरकाेट । नेपालगन्जबाट पिठ्युँमा खाद्यान्न बोकेर लग्नुपर्ने बाध्यता अन्त्य भए पनि डोल्पाका बासिन्दालाई जाजरकोट–डोल्पा सडकको यात्रा भने कठिन भएको छ । ज्यानै जोखिममा राखेर यात्रा गर्नुपरिरहेको स्थानीय बासिन्दाले बताएका छन् । ट्र्याक खुलेको यो सडक स्तरोन्नति भएको छैन । त्यही सडकमा पुराना गाडी चलिरहेका छन् । त्यसमा पनि क्षमताभन्दा बढी यात्रु राख्ने गरिएको छ । ज्यान जोखिममा राखेर यात्रा गर्नुपरेको स्थानीय बासिन्दाले बताए । ‘भेडाबाख्राझैँ कोचिएर जानुपर्छ । त्यो पनि कहानिर के हुने हो भरोसा हुन्न,’ डोल्पाको मुड्केचुला गाउँपालिका–६ सुरका रवीन्द्र सिंहले भने ।
जाजरकोट–डोल्पा सडकमा चल्ने सबै सवारीसाधनमा यात्रुलाई सेवाभन्दा पनि सास्ती दिने गरेको स्थानीय बासिन्दाको गुनासो छ । कैयौँ नदी तथा खोलाहरूमा पुल छैनन् । सबै खोला तथा खोलेसामा झरेर हिड्नुपर्ने गरेको नलगाड नगरपालिका–११ का शशी विकले बताए । ‘गाडीमा चढ्दा यात्रामा सजिलोभन्दा सास्ती बढी हुन्छ,’ उनले भने । नलगाड, खोलेखेत, साप्नेखेत, खमाउरेखोला, वडाखोला, त्रात्रगाड, ताँसुगाड, तल्लुस्थित भेरी नदी, डोल्पाको खदाङ, त्रिपुराकोट, छलगाड, रुपगाडलगायतका ठाउँमा पुल निर्माण भएका छैनन् ।
राजमार्गका विभिन्न स्थानमा प्रहरी पोस्ट छन् । पोस्ट भएका ठाउँमा यात्रुलाई हिँडाउने गरिएको छ । छतमा समेत यात्रु राख्ने गरिएको छ । ‘प्रहरी भएको ठाउँमा एक–दुई सय मिटर हिड्नुपर्छ, झन् आपत हुन्छ,’ ठूलीभेरी नगरपालिका–५ का रामबहादुर रोकायाले भने । कच्ची र धुलाम्य सडकले एक ठाउँबाट अर्को ठाउँ पुग्दा मान्छे नै नचिनिनेजस्तै हुने गरेको उनले गुनासो गरे । ‘धुलैधुलोले सँगै यात्रा गरेका एक–अर्कालाई चिन्न गाह्रो हुन्छ,’ उनले भने ।
एक सय १८ किमिमा दुई हजार पाँच सय भाडा
अहिले जाजरकोट–डोल्पा सडकको एक सय १८ किलोमिटरमा गाडी सञ्चालन भइरहेको छ । तर, यात्रुले दुई हजार पाँच सय भाडा तिर्नुपर्छ । सिन्डिकेट भएकाले अत्यधिक भाडा तिर्नुपरिरहेको यात्रुले गुनासो गरेका छन् । यो सडकमा सडक विभागले गाडी सञ्चालनका लागि अनुमति पनि दिएको छ । अनुमति नलिएरै गाडी सञ्चालन भइरहेका छन् ।
कर्णालीपाटी । ४ असार २०७६, बुधबार ०९:३१