१८ चैत्र २०८१, मंगलवार

अवसर नचुकाउ बामपंथीहरु


                                                 चित्रसिंह गाउँले   

आजको सिंगो देश बामपंथीमय छ । बामपंथी भनेका बसिखाने नभइ गरिखाने वर्गका मान्छेहरु हौं । गरिखाने भन्नुनै निकै ज्यादा श्रम गर्नेहरु हुन । श्रम गर्ने वर्ग आज सत्तामा छ । हाम्रो सत्ता सित्तिमत्ति कसैले हल्लाउनै नसकिने गरेर बलियो समेत छ । यो सत्ता सजिलोसँग प्राप्त भएको हैन र सजिलै गुम्ने र गुम्न दिइने छैन । केन्द्र, प्रदेश र स्थानीय तह तीनवटै सरकारमा हाम्रो बर्चस्व मात्रै हैन निकै पहुँचमा छौं हामी । यधपी निकै मेहनत नागरिकहरुको देशमा बामपंथीहरुको सरकार भैरहदा हामीले देश विकासको गतिलाई कतातिर लिइरहेका छौ ? देश र देशबासीका गतिविधि देख्दा गम्भीर समिक्षा गर्ने समय आइसकेको छ ।

निर्वाचन ताका बामपंथी गठबन्धनले अगाडि सारेका एजेन्डा कम सान्दर्भिक अवश्य थिएनन् । तत्कालीन पार्टीको रुपमा नेकपा(एमाले)अध्यक्ष केपी ओली नेतृत्वको सरकारले देशमा पारेको ताजा छाप जनताको मनमा बिर्सिनै नसकिने गरेर बसिरहेको समयमा बामपंथीको स्थिर सरकार बनेमा देशले विकासमा एकाएक फड्को मार्छ भन्नेमा जनता विश्वस्त थिए । त्यही हुनाले बामपंथी गठबन्धनका चिन्हहरुमा छाप लगाएर मतपेटिकाहरु भरिदिएका थिए जनताले । आज निर्वाचन भएर तीनै तहका सरकार बनेको दुई वर्ष पुगेको र पुग्दै गरेको स्थितिमा एकपटक अरु भन्दा हामी निकै गम्भीर भएर देश र देशबासीको अवस्थाको समिक्षा गर्नु आवश्यक छ ।         सामाजिक सञ्जालमा सरकार बिरुद्ध अफवाह फैलाउनेहरु मात्रको कुरा नसुन्ने हो भने सरकारले विकासको जग मात्रै बसालेको नभइ पर्खाल पनि खडा गरिसकेको छ । योगदामा आधारित सामाजिक सुरक्षा कार्यक्रमको सुरुवाती,पूर्व – पश्चिम रेल मार्गको डिपिआर तयार मात्रै नभइ भारत र चिन दुबै देशबाट रेल सेवा सञ्चालनमा आउने स्थिति सुनिश्चित हुनु जस्ता महत्त्वपूर्ण योजनामा सरकारले आशा जगाएको छ । लोडसेडिङ घटेको मात्रै हैन अब अन्त्यको स्थितिमा छ । पेट्रोलियम पदार्थ पाइपलाइनबाटै ल्याएर ढुवानी वापतको ठूलो धनराशि जोगाउने प्रयत्नसँगै दैलेखमा सम्भाव्यता अध्ययन सहित पेट्रोल उत्खनन हुने प्रक्रिया अघि बढ्दैछ । केन्द्र सरकारले समृद्ध नेपाल र सुखी नेपालीको कार्यक्रम कार्यान्वयन गर्न खोजिरहेको छ । प्रदेश सरकारहरुले पनि उत्पादन र आत्मनिर्भरता मार्फत यस अभियानलाई सार्थकता दिन खोजिरहेका छन् नै । स्थानीय तहहरु पनि कुन स्थानीय तहले के कार्यक्रम ल्याएर जनता बिच लोकप्रिय हुने भन्ने होडबाजी नै चलेको छ ।

मेरो विचारमा नयाँ नयाँ कार्यक्रम ल्याउन सके भनेर कसैले केवल महिलाको नाममा,कसैले बृद्ध र बालबालिकाको सहानुभूति बटुल्ने र कसैले युवा,दलित वा फरक क्षमताका समुहहरुको छापो पाउने कार्यक्रम तिर ध्यान दिएर पुग्दैन । समग्र देश समृद्धिका लागि सबै तहका सरकारले आम नागरिक र सिंगो बस्ती समृद्धिका योजनामा ध्यान दिन आवश्यक छ । विचरा भेडाबाख्रा र लोकल कुखुरा मार्फत आत्मनिर्भर बन्न सक्ने कर्णालीका स्थानीय तहमा आज जताततै गाडीमा मात्रै हैन भारी बोकेर कार्टुनका कार्टुन व्वाइलर कुनाकुना पसेको देख्नुपरेको छ । अर्गानिक सिमि र आलु,लसुन,टिमुर लगाएत महत्त्वपूर्ण तरकारी र मसलामा आत्मनिर्भर हुने स्थानीय तहहरुमा सिमाना पारी भारतबाटका सडेको तरकारी पसेको पसेइ छ । मार्सी धानमै आत्मनिर्भर हाम्रा बस्तीहरु सडेको चामलमा पराधिन भएका छन् । दुध,दही,घ्यू,राडीपाखीमा आत्मनिर्भर हुने स्थानीय तहमात्रै नभए र सिंगो प्रदेशले आज अन्य विषयमा भरपर्नु बाध्यता जस्तै किन बन्यो ? हामी सरकारले ल्याउने कार्यक्रमलाइ प्रभावकारी रुपमा कार्यान्वयन गर्न प्रतिबद्ध भएनौ भने सयौं वर्षसम्म देशमा जस्तोसुकै बामपंथीको सरकार बनेपनि सरकार चलाउनेहरुको गति उभो हुन पाउने छैन । सरकारले स्याउ नै स्याउ फल्ने स्थानीय तहलाई जानेबुझेर स्याउ जोन,ओखर नै ओखर हुने स्थानीय तहलाई ओखरजोन,भैंसी पालनमा उपयुक्त स्थानीय तहलाई भैंसी सम्बन्धि कार्यक्रम यस्तै यस्तै विशेषतामा आधारित विशेष कार्यक्रम ल्याएकै छ । यसलाई कसरी प्रभावकारी बनाउने भन्नेमा हामी बामपंथीहरुले नै ध्यान नदिएर लापरबाही गरेको स्थिति छ । प्रदेश तथा केन्द्र सरकारले पार्टी कार्यकर्ताहरुको विश्वास र स्थानीय सरकारको भरमा विशेष उत्पादन र पूर्वाधार निर्माणका कार्यक्रममा बजेट दिने तर तिनको कार्यान्वयनमा लापरबाही हुने स्थिति आएमा देश बन्दैन । पूर्वाधार निर्माणका सडकका लागि आउने बजेट उपभोक्ता मार्फत गरिदा त्यसैमा व्यवास्ता गर्ने र टेण्डर मार्फत डोजरद्वारा गरिदापनि लापरबाही भएर नेपालको लगानी इराकको तेललाइ हुने स्थिति छ । पूर्वाधार बिनाका उत्पादन केन्द्रित कार्यक्रमहरु पनि कृषि होस् या पशुपालन तर्फ जुनसुकै कार्यक्रम प्रभावकारी कार्यान्वयन बिना अनियमितताको कारण उत्पादन देखिएर आम समुदायको आर्थिक समृद्धि देखिने भन्दापनि निश्चित व्यक्तिहरुका शहरमा महल ठडिने कार्यक्रम बन्ने स्थिति छ । यस्तै हुँदै जाने हो भने सरकार मार्फत लोकप्रिय कार्यक्रम तय भएर मात्रै नपुग्ने हुन्छ । चाहे बामपंथी अझै भन्ने हो भने सत्तारूढ नेकपाकै नेता कार्यकर्ता अगुवा भएर कुनै योजना अघि बढ्दैछन् भने उदाहरणीय रुपमा सम्पन्न हुन सके भने मात्रै सरकार र पार्टीलाई सहयोग भएको मानिनेछ । हैनभने सरकारको सुखी नेपाली र समृद्ध नेपालको कार्यक्रमलाइ घाममा सुकाउने काम हामी बामपंथीहरु बाटै हुनेछ । यसले गर्दा हामीले ज्यानको बलिदानका साथ हजारौं सहिद बनाएर ल्याएको व्यवस्था र पाएको अवसर हामी आफ्नै कारण गुम्न पुग्नेछ । यो स्थितिको गम्भीरतापूर्वक समिक्षा सहित निराकरण आजको मुख्य आवश्यकता हो भन्ने बुझ्न अबेर गर्नु हुँदैन ।

अबको सन्दर्भमा सिंगो नेकपा पार्टी पङ्तीले प्रत्येक स्थानीय वडा तहदेखि केन्द्र सरकार सम्मका सानादेखि राष्ट्रिय गौरवका योजना समेतमा छनौटदेखि कार्यान्वयन प्रक्रिया सम्म हस्तक्षेपकारी भूमिका निभाउन विलम्ब गर्न मिल्दैन । व्यक्ति सँगका सम्बन्धका कारण स्थानीय तहदेखि प्रदेश हुँदै केन्द्र सम्मका जनप्रतिनिधि र नेताहरुका डेरा घेरेका कारण योजना पाउने र बजेट दुरुपयोग गर्ने परिपाटीको अन्त्य गर्नु जरुरी छ । नेतृत्व र जनप्रतिनिधिहरुलाइ काँधमा चढाए वापत चुनावमा समेत सहयोग नगरेका अझै भन्ने हो भने गुन्डागर्दी र घुसखोरी समेतका माहिर उच्च घरानाका पुजीवादीहरुले सेवा र अवसर पाएर आफुलाइ सत्तासिन गराउने वर्गलाई बिर्सने स्थिति बन्यो यसको क्षति सामना गर्न असम्भव हुनेछ भन्ने सामान्य कार्यकर्ता समेतले बुझ्न उचित छ । देशमा आफ्नो शाषणकालमा भैरहेका बेथिति प्रति आखाँ चिम्लिदा पछिल्लो समयमा कांग्रेस समेतले सत्ताबाट हात धोएको विषय हामीले यतिचाँडै बिर्सनु हुँदैन । यधपी खुट्टामा मोजा समेत बदल्न नसक्ने स्थिति रहञ्जेल पार्टीमा दिलो ज्यान दिएका इमान्दार कार्यकर्ता पनि धनदेखे महादेव का तीन नेत्र भनेझैं सेवा र सुविधामा चुकेर रातो कलम र गरिमामय ओहदाको दुरुपयोग गर्न पुगेको देख्नु परेको अवस्था छ । त्याग र बलिदानमा यतिठूलो इतिहास भएको हाम्रो केन्द्र सरकार र केन्द्र पार्टी नेतृत्व अनि हाम्रो पार्टीको गौरवपूर्ण इतिहासलाइ सुरक्षित राख्दै आगामी दिनमा अन्य कुनैपनि शक्तिले शिर ठाडो पार्न नसक्ने गरि देश र जनताको सुख्ख र समृद्धिमा योगदान गर्न बामपंथी शक्ति सचेत र थप इमानदार बनौं । ताकि आफ्नै पार्टी र पार्टी नेतृत्वबाट अभिभावकीय भूमिकामा कमी रहेका कारण जनप्रीय काम गर्न नसकेको भान जनप्रतिनिधिमा नपरोस् । जनप्रतिनिधिहरुले सकभर मातृ पार्टीको अभिभावकीय भूमिका नरहँदापनि जनताको मनमा बस्नेगरी काम गर्न सफलता पाइरहुन । जताततै योजना अघिसार्दै सुनारखोलामा गाडी जाम हुने गरेजस्तै जाममा र पान्तडीको बेलीब्रिज निर्माणको कामजस्तै अन्यौलमा पर्ने स्थिति कहीँकतैका जनप्रतिनिधिमा रहनु हुँदैन । कालिकोटकै पलाँतामा अध्यक्ष लक्ष्मण बमले हाँके जस्तै नेतृत्व हाँक्दै विशेषगरी सबैसँगको विशेष सहकार्यमा देश सञ्चालन गरौं । देश र पार्टी उभो लाग्न मुख्यगरी हामी र हाम्रा गतिविधि श्रमको सम्मान गर्ने र सरकार तथा पार्टीले अघि सारेका नीति तथा कार्यक्रमलाइ बिना स्वार्थ कार्यान्वयन गर्ने इच्छाशक्ति विकास हुन जरुरी छ । यसो हुन नसकेर हामीमा पनि पञ्चे र कांग्रेसी कार्यकरता पनको लत बस्दै गएर पार्टी नेतृत्वपनि यसैमा स्याबासी दिन थाल्यो भने इतिहासले हामीलाई दिएको अवसर फेरि खोजेर नभेटिने गरि हराउन बेर छैन । यसको असर सत्तारूढ नेकपा मात्रैले नभइ अहिले फेरि एकीकृत जनक्रान्ति को नाराका साथ अघि बढेका विप्लव देखि नेपालका सबै बामपंथी शक्तिले खेप्नुपर्ने हुन्छ । यसर्थ परिवर्तनका हरेक आन्दोलन र युद्धबाट प्राप्त उपलब्धिलाई रक्षा गर्ने मुख्य जिम्मेवारी हामी आफ्नो हो भन्ने ठान्दै व्यक्ति व्यक्तिको समृद्धितर्फ नभइ देश समृद्धिको यात्रामा हामी बामपंथीहरुको सच्चा अगुवाइ स्थापित गरौँ । (लेखक नेकपा कालीकाेटका यूवा नेता हुन ।)