२० बैशाख २०८१, बिहीबार

कर्णालीका उत्कृष्ट कृषकलाई पुरस्कार


सुर्खेत । कर्णाली प्रदेश सरकारको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सुर्खेतका उत्कृष्ट कृषकलाई पुरस्कार प्रदान गरेको छ । कृषि पेशालाई सम्मान गरि कृषि क्षेत्रमा उत्पादन र आकर्षण वढाउनका लागी मन्त्रालयले पुरस्कार वितरण गरेको हो ।
भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सुर्खेतको आयोजनामा शुक्रबार एक कार्यक्रमकाबीच सुर्खेतको वीरेन्द्रनगरमा भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले सुर्खेतबाट छानिएका उत्कृष्ट कृषक, समूह र सहकारीलाई नगदसहित प्रमाणपत्र प्रदान गरेकी हुन् । सुर्खेतका नौ वटा स्थानीयतह वाट २÷२ जना छनौट गरेर जिल्ला स्तरमा पुरस्कार प्रदान गरिएको छ । मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार र कृषक प्रोत्साहन कार्यक्रम गरेर ३३ जनालाई पुरस्कार प्रदान गरिएको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सुर्खेतका सूचना अधिकारी मोहन गिरीले जानकारी दिए ।
मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार अन्तर्गत स्थानीय तहबाट गाई, भैसी, बाख्रा, कुखुरा र माछा पालन व्यवसाय सञ्चालन गरेका कृषक मध्यवाट एक जना महिला र पुरुष गरेर १८ जना उत्कृष्ट कृषक, जिल्ला स्तरीय गाइ भैसी, बाख्रा, कुखुरा र माछापालन व्यवसाय सञ्चालन गरेका कृषक, समुह, सहकारी र कृषि फार्म मध्येवाट ४ जना र उत्पादनका आधारमा दिइने प्रोत्साहन कार्यक्रम अन्तर्गत जिल्ला भरीबाट प्रतिनिधित्व हुने गरि ११ जना सफल कृषकलाई पुरस्कार प्रदान गरिएको गिरीले जानकारी दिए ।
स्थानीय तहबाट छानिएका मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट १८ जना कृषकलाई प्रति कृषक रु १५ हजारका दरले २ लाख ७० हजार, उत्पादनका आधारमा दिइने प्रोत्साहन अन्तर्गत रु ४ लाख २९ हजार र मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार जिल्ला स्तरकालाई रु एक लाख ३५ हजार प्रदान गरिएको उनले बताए ।
पुरस्कार वितरण कार्यक्रममा बोल्दै कृषि मन्त्री विमला केसीले कर्णालीमा कृषिमा आकर्षण बढाउन र वास्तविक कृषकलाई सम्मान गर्न मन्त्रालयले मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारको कार्यक्रमको व्यवस्था गरिको जानकारी दिईन् । कृषि पेशा र कृषकलाई हेला गर्ने गरिएको भन्दै मन्त्री केसीले अव सवैले कृषिमा लगानी गर्नुपर्ने बताईन् ।
कृषि पेशा तथा कृषकलाई सम्मान र प्रवद्धन गरेर मात्र समृद्धि सम्भव भएकोले कर्णाली सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राखेको मन्त्री केसीले बताईन् । प्रत्येक जिल्लाबाट एक जना महिला र पुरुषलाई छनौट गरेर प्रदेश स्तरमा पनि पुरस्कार प्रदान गरिने मन्त्री केसीले जानकारी दिईन् । कर्णालीका १० जिल्लाका उत्कृष्ट कृषकहरुवाट एक महिला र एक पुरुष गरेर २० जना प्रदेशमा आउने तथा उनीहरु मध्येबाट प्रदेशको उत्पादक नायक र नायिका घोषणा गरिने उनले बताईन् । प्रदेश स्तरीय उत्कृष्ट नायक र नायिकालाई जनही २ लाख ५० हजार सम्मान स्वरुप पुरस्कार प्रदान गरिने पनि मन्त्री केसीले जानकारी दिईन् ।