२१ बैशाख २०८१, शुक्रबार

सुर्खेत–हिल्सा सडक निर्माणमा ६४ अर्ब लाग्ने अनुमान

६ बर्षमा निर्माण सम्पन्न गर्न सकिने

सुर्खेत । कर्णाली प्रदेशलाई भारत र चीनसंग जोड्ने त्रिदेशीय सडक निर्माणका लागि ६४ अर्ब लाग्ने अनुमान गरिएको छ । चीन सरकारको स्वामित्व रहेको चाइना रेलवे इन्जिनियरिङ्ग कम्पनीले गरेको सुर्खेत हिल्सा सडकको सम्भाव्यता अध्ययन प्रतिवेदन अनुसार ४ सय ३ किमि दुरीको सडक निर्माणमा लागि ६४ अर्ब लाग्ने अनुमान गरिएको हो । नेपाल र भारतसंग जोड्ने त्रिदेशीय सडकको अध्ययन प्रतिवेदन तयार पारेको छ ।
गत कार्तिकदेखि सम्भाव्यता अध्ययन थालेको चाइना रेलवे इन्जिनियरिङ्ग कम्पनीले विहीबार काठमाडौमा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई प्रतिवेदन बुझाएको छ । चाइना रेलवे इन्जिनियरिङ्ग कम्पनीले तयार गरेको सम्भाव्यता अध्ययन प्रतिवेदनले सुर्खेतदेखि हिल्सासम्म सडकको दुरी ४ सय ३ कलिोमिटर हुने र त्यसका लागि ६४ अर्ब लाग्ने अनुमान गरेको कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा. पुण्यप्रसाद रेग्मीले जानकारी दिए । ‘झण्डै ११ महिना समय लगाएर सिआरईइसीले प्रतिवेदन बुझाएको छ’ उनले भने, ‘प्रदेश सरकार र संघीय सरकारको प्राथमिकतामा रहेको उक्त सडक निर्माणले कर्णालीलाई छिमेकी चीन र भारतसंग जोड्ने महत्वपूर्ण कार्य हुनेछ ।’
त्रिदेशीय सडकले कर्णालीको समृद्धिका लागि योगदान गर्ने उपाध्यक्ष रेग्मीले विश्वास गरे । सम्भाव्यता अध्ययन प्रतिवेदन पछि एक बर्षमा सडकको डिपीआर र डिजाईन स्टेमेट बनाई ६ बर्षमा सडक निर्माण सम्पन्न हुने गरी योजना बनाइएको उनले बताए । विहीबार काठमाडौमा कर्णाली प्रदेशका सभामुख राजबहादुर शाही, विपक्षी दलका नेता जीवनबहादुर शाही, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष रेग्मीसहितको उपस्थितीमा मुख्यमनत्री महेन्द्रबहादुर शाहीले प्रतिवेदन बुझेका हुन् ।
गत कार्तिकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहितको चाइना रेलवे इन्जिनियरिङ्ग कम्पनीको प्रतिनिधी टोलीले उक्त सडकको हवाई सर्भे गरेको गरेको थियो । कर्णली सरकार र सिआरईइसीको १२ सदस्यीय टोलीले सडकको हेलिकोप्टर र स्थलमार्गबाट सम्भाव्यता अध्यययन गरेको थियो । चाइना रेलवे कम्पनीको प्राविधिक समूहले सडकमार्ग भएर अध्ययन र कर्णाली सरकारले विभिन्न क्षेत्रसंग छलफल पछि प्रतिवेदन तयार पारिएको बताइएको छ ।
गत बर्ष असोजमा भएको कर्णालीका मुख्यमन्त्री शाहीको चीन भ्रमणको क्रममा पहिलो चरणमा चीन सरकारको सहयोगमा हिल्सा–सुर्खेत–जमुनाह सडक निर्माणका लागि सम्भाव्यता अध्ययन गरिने सहमती भएको थियो । चाइना रेलवे इन्जिनियरिङ्ग कम्पनीले सम्भाव्यता अध्ययनपछि प्रदेश सरकारलाई प्रतिवेदन बुझाए पछि अब संघीय सरकारसँग सम्झौता गरेर यो द्रुतमार्ग निर्माणको काम अगाडि बढाइने प्रदेश सरकारको तयारी छ ।
यस्तो छ त्रिदेशीय मार्ग
चीनको तिब्बत र भारतको उत्तरप्रदेशसँग जोडिने त्रिदेशीय मार्ग कर्णाली र प्रदेश ५ लाई समेट्नेछ । उत्तरी नाका हिल्साबाट दक्षिणी नाका जमुनाहसम्म पाँच सय २१ किलोमिटर हुनेछ । यसले हिल्सा, सिमिकोट, लैफु, खुलालु, बामेसिमल, नेपालगन्ज हुँदै जमुनाहलाई जोड्नेछ । यसले तिब्बतको हिल्सासँग कर्णाली प्रदेशको सम्बन्ध जोड्ने विश्वास गरिएको छ । छिमेकी देशसँग सीधा र सहज आवतजावत नभएको कर्णाली प्रदेश मात्रै हो ।