१६ आश्विन २०८१, बुधबार

रारा राष्ट्रिय निकुञ्जबाट ३८ लाख राजस्व


मुगु । आर्थिक वर्ष २०७५÷०७६ मा रारा राष्ट्रिय निकुञ्ज कार्यालय हुटु मुगुले ३८ लाख भन्दा बढी राजस्व संकलन गरेको छ । रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको प्रवेश शुल्क, दण्डजरिवाना, काठ पुर्जी, ढुङ्गा बालुवा गिट्टी र रारा तालमा डुङ्गा चलाएको २० प्रतिशत रकम वापत उक्त राजस्व संकलन भएको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका निमित्त संरक्षण अधिकृत यज्ञराज रोकायाले जानकारी दिए ।
रारामा यस वर्षमा ४ सय ६५ जना विदेशी र कात्तिक देखि यता करिब १२ हजार भन्दा बढी स्वदेशी पर्यटकहरु रारा घुम्न आएको निकुञ्जले जनाएको छ । विदेशी पर्यटकको लागि रारामा प्रवेश शुल्क पहिले देखि नै लागु गरेको भएपनि आन्तरिक पर्यटकहरुको लागि भने गत कात्तिक महिना देखि प्रवेश शुल्क लिने व्यवस्था मिलाईएको थियो ।
गत कात्तिकबाट आन्तरिक पर्यटकको प्रति व्यक्ति रु १ सय र विदेशीको लागि प्रति व्यक्ति ३ हजार बाट बढाएर ३ हजार ३ सय ९० रुपैयाँ तय गरिएको थियो । यसैगरी सार्क राष्ट्रको सदस्यको लागि प्रवेश शुल्क वापत १ हजार पाँच सय तोकिएको छ । गत वर्षको तुलनामा यस वर्ष राजस्व घटेपनि आन्तरिक पर्यटकको प्रवेश शुल्कको व्यवस्था लागु भएकाले आउँदा वर्षहरुबाट राजस्वमा वृद्घि हुन सक्ने निमित्त संरक्षण अधिकृत रोकायाको भनाई छ ।