सुरक्षित गर्भपतन गराउनेको संख्यामा बृद्धि


कालीकोटः कालीकोटमा सुरक्षित गर्भपतन गर्ने महिलाको संख्यामा वृद्धि आएको छ । अनिच्छिक गर्भधारण रोक्नका लागि अस्थायी साधनको प्रयोग नगर्दा चेतना भएर पनि हेलचेक्र्याइँ गर्ने गरेका कारण जिल्लामा गर्भपतन गर्नेको संख्यामा वृद्धि आएको हो ।
परिवार नियोजनको साधनको उपलब्धता हुँदा हुँदै पनि परिवार नियोजनका साधन प्रयोग नगरि गर्भपतनलाई नै परिवार नियोजनको साधनका रुपमा लिने गरेकाले गर्भपतन गराउनेको संख्यामा बृद्धि जिल्ला अस्पताल कालीकोटले जनाएको छ । गर्भवती महिलाको मञ्जुरीमा कानुनले मान्यता दिए अनुसार सूचीकृत स्वास्थ्यकर्मीद्धारा सूचीकृत स्वास्थ्य संस्थाबाट मात्र सुरक्षित गर्भपतन गराउनु पर्ने भएपनि कालीकोट जिल्लामा निजि मेडिकलमा गएर गर्भपतन गराउनेको संख्या भने एकिन हुन सकेको छैन । परम्परागत सोचले सूचिकृत स्वास्थ्य संस्थामा आउन लाज मानेर अधिकाँश महिलाहरुले निजी मेडिकलबाट गर्भपतन गराउने गरेका छन् ।
जिल्ला अस्पताल कालीकोटका प्रमुख कटक महतका अनुसार जिल्ला अस्पताल लागुभएदेखि अहिलेसम्म भ्यासेटोमि गर्नेको संख्या ३७ हजार २७ जना रहेको छ भने, आर्थिक वर्ष २०७५÷०७६ मा १५० जनाले भ्यासोटोमि गरेका छन् । सुरक्षित गर्भपतन गराउनेको महिलाको संख्या आर्थिक वर्ष २०७५÷०७६ मा १२६ जना रहेका छन् । जसमध्ये ३६ जना महिला २० वर्षभन्दा कम उमेर समूहका रहेका छन्, भने ९० जना २० वर्षभन्दा माथिको रहेको अस्पतालका प्रमुख महतले बताए । अवैध गर्भ बसेपछि अविवाहित किशोरीले समेत गर्भपतन गराउने गरेका छन् । अधिकाँश अविवाहित किशोरीले सुचिकृत स्वास्थ्य संस्थाबाट भन्दा पनि महंगो रकम तिरेर नीजि मेडिकलमा गएर गर्भपतन गराउने गरेका छन् ।
गर्भपतन गर्नेको संख्या बढी भए पनि डर, लाजका कारण आफ्नो जिल्ला भन्दा पनि छिमेकी जिल्लामा गएर गर्भपतन गराउने गरेको समेत अस्पतालका प्रमुख महतले बताए । परिवार नियोजनको साधनको प्रयोगको कमीका कारण अनिच्छित गर्भधारण धेरै भएको हुनसक्ने महतको भनाई छ । यतिका धेरै जनसंख्या यौन उमेरको छ तर परिवार नियोजनका साधनको प्रयोग न्यून छ पब्लिक हेल्थ नर्स सेतु शाहीले भनिन, अहिले कालीकोट जिल्लाको महावै गाउँपालिका बाहेक अन्य स्थानीय तहमा सुचिकृत स्वास्थ्य संस्था भएपनि निजी मेडिकलमा गएर गर्भपतन गराउनेको संख्या बृद्धि भएको छ ।
निजी मेडिकलबाट गर्भपतन गराउदा रक्तश्राव बढी भएपछि मात्र जिल्ला अस्पतालमा आउने गरेको सेतु शाहीले बताइन् । उनले सूचिकृति स्वास्थ्य संस्था भन्दा पनि निजि मेडिकबाट गर्भपतन गराउनेको संख्याको एकिन नभईसकेको बताइन् । राज्यले बढीमा १२ हप्तासम्मको गर्भ भएको गर्भवती महिलाको इच्छाअनुसार सुरक्षित गर्भपतन गराउनुलाई आकस्मिक सेवाको रुपमा मान्यता दिएको छ ।
पुष्पराज भट्टराई । ९ भाद्र २०७६, सोमबार १३:५५