२९ चैत्र २०८१, शनिबार

होटलमा लगानी बढ्दै


कालीकोटः पछिल्लो समय मान्ममा होटल व्यवसायमा लगानी बढ्दै गएको छ । पछिल्ला केही वर्षमा कालीकोट जिल्लाको सदरमुकाम मान्ममा होटल व्यवसायीहरुले होटल संचालनका लागि लगानी बढाई रहेका छन् ।
नेपालकै प्रख्यात पर्यटकिय स्थल रारा ताल, भारतिय धार्मिक पर्यटकहरुको आस्थाको केन्द्र कैलाश मानसरोबर जाने सडक कर्णाली करिडोर लगायतका कारण कालिकोटमा होटल व्यवसायमा व्यवसायीहरुको लगानी बढ्दै जान लागेका हो । कर्णाली प्रदेश सरकारले रारा पर्यटन बर्ष घोषणा गरेपछि रारा जाने पर्यटकहरुको संख्यामा बृद्धि भएसँगै कर्णालीको गेटका रुपमा रहेको कालिकोटमा होटलहरुको संख्या समेत बढेको छ । करीव पाँच बर्ष पहिले जिल्लामा एक मात्र स्तरिय होटल ह्वाईट गेष्ट हाउस मात्र थियो । बर्षेनी होटलहरुमा बृद्धि भएर हाल स्तरिय होटलहरुमा मदन होटल, स्वीस बेल होटल, होटल हिलसाईड, होटल चन्द्रसुर्य, सन लाईट होटल लगायत दर्जर्नौ होटलहरु संचालनमा आएका छन् ।
कालीकोट जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरि ससाना होटलहरुको संख्या बढेको होटल व्यवसायी संघले जनाएको छ । करीव ६ करोडको लगानीमा तीन तारे होटल संचालनको तयारी गरिरहेका होल व्यवसायी संघ कालिकोटका अध्यक्ष जनकबहादुर शाहीले पछिल्लो समय होटल व्यवसायमा लगानी बढिरहेको बताए । उनले झण्डै १० बर्ष अगाडी मान्ममा ५∕७ वटा होटलहरु मात्र थिए । अहिले साना ठुला गरी १ सय ५० भन्दा बढी होटलहरु मान्म बजारमा रहेको जानकारी दिए । पछिल्लो समयमा खोलीएका होटलहरुमा लगानी समेत बढेको छ । करोडौँको लगानीमा संचालन भईरहेका होटलहरु पर्यटकहरुको पनि रोजाईमा पर्ने गरेका छन् ।
जिल्लामा अहिले संचालनमा रहेका साना ठूला होटलहरुको लगानी जोड्दा झण्डै ५० करोड भन्दा बढी छ । ती मध्ये करिव एक दर्जन होटलमा करोड रुपैयाँ लगानी भएको होटल व्यवसायी संघका अध्यक्ष शाहीको अनुमान छ । कालिकोटमा व्यावसायिक कारोबारमा भएको बृद्धिसँगै कर्णाली आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको चाप पनि बढेको छ । उनीहरुलाई लक्षित गरेर पनि सेवामा स्तरीयता कायम गर्न सके ग्राहकको कमी नहुने होटल व्यवसायीको भनाई छ । होटल व्यवसायी धनबहादुर बटालाले जिल्ला सदरमुकामको खाँडाचक्र नगरपालिकाले पर्यटन व्यवसाय केन्द्रीत कार्यक्रमहरु ल्याउन नसक्दा आफुहरुको व्यवसायीक भविश्य जोखिममा रहेको बताए ।
जिल्ला सदरमुकामका होटलहरुले आवश्यकता अनुसार पानी नै पाएका छैनन् । बटालाले भने, ‘बाहिरबाट आउने पर्यटकहरुले मान्मका होटलहरुमा सबै सेवाहरु राम्रो भएपनि पानीको समस्या समाधानका लागि सुझाव दिने गरेका छन् ।’ कर्णालीको रारा ताल, नेपालकै अग्लो कालिकोटको पचालझरना, बढीमालिका, त्रिवेणी पाटन लगायतका पर्यटकिय स्थलहरुका कारण यहाँ आउने पर्यटकहरु संख्या बढ्दै जाने होटल व्यवसायीहरुको अनुमान छ । जसका कारण होटलमा अझै लगानी गर्न यहाँका व्यवसायी इच्छुक रहेको बताउँछन । भारतको रुपडियादेखी हुम्ला हुँदै चिनको सिमाना हिल्सा जोड्ने नेपाली सेनाद्धारा निर्माणाधिन कर्णाली करिडोर निर्माण भएपछि यहाँ आउने पर्यटकहरुको संख्यामा ह्वात्तै बढ्ने व्यवसायीहरुको भनाई छ । धेरैले भविष्यको सम्भावना हेरेर लगानी थप्दै लगे पनि बाह्य पर्यटकलाई भित्र्याउने वातावरण भने कालिकोटमा नरहेको व्यवसायीहरुले बताउने गरेका छन् ।