३० बैशाख २०८१, आईतवार

असारे बिकास रोक्न अनुगमन



कालिकोट ।
नरहरिनाथ गाउँपालिकाले बिकासमा असारे प्रवृत्ती रोक्न योजना अनुगमन थालेको छ । आर्थिक बर्षको अन्त्यतिर योजना सम्झौता गरी असारमा किर्ते बिल बनाएर कागजमा योजना सम्पन्नको विल उठाएर रकम भुक्तानी लिने कार्यलाई निरुत्साहित गर्न अनुगमन थालिएको हो ।
बिकास आयोजना समयमै सक्न गाउँपालिकाले ठेकेदार तथा उपभोक्ता समितिलाई सचेत गराउनका लागि योजनाको अनुगमन थालेको हो । विगतमा आर्थिक वर्षभित्र विकास आयोजना सक्न मुस्किल भएपछि विकास बजेट फिर्ता गएको भन्दै गाउँपालिकाले यस वर्ष सतर्कता अपनाएको जनाएको छ । चालु आर्थिक वर्षमा गाउँसभाबाट विनियोजन गरेका विकास योजनाको कार्यान्वयनलाई तीव्रता दिने र समयमै योजना सम्पन्न गर्नका लागि सम्बन्धित उपभोक्ता समिति, निर्माण व्यवसायी लगायतलाई सचेत गराउन अनुगमन गरिएको गाउँपालिकाका उपाध्यक्ष मनशोभा बुढाले बताईन् ।
गाउँपालिकाभित्र सञ्चालित सडक, सिँचाइ, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानीलगायत पूर्वाधारतर्फका योजना तोकिएको समयभित्रै सम्पनन्न गर्ने गरी विभिन्न समिति र व्यवसायीलाई सचेत गराउन जनप्रतिनिधि र कर्मचारीहरु अनुगमनका लागि विभिन्न वडाहरुमा जिम्मेवारी दिइएको छ । समितिमार्फत काम भइरहेको योजनाको उपभोक्ता समितिलाई सम्बन्धित स्थानमै पुगेर समयमै कार्य सम्पन्न गरिसक्न सचेत गराइएको गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले बताए । ‘समितिले काम गर्न समस्या भए त्यसको कारण खोज्नसमेत लागेका छौं,’ अध्यक्ष विष्टले भने, ‘समयमै काम नसक्दा एकातिर विकासमा पछि पर्ने, अर्कोतिर बजेट फिर्ता हुने र अर्को वर्ष त्यही योजनालाई बजेट नपर्ने हुन्छ ।’
गाउँसभाबाट विनियोजन भएका एक सय पचास योजना मध्ये हालसम्म करिब एक सय योजनाको उपभोक्ता समिति गठन भई सम्झौता भइसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लालबहादुर मल्लले बताए । सम्झौता भएकामध्ये २५ वटा योजनाको काम सम्पन्न भइसकेको छ । एक सय १० बढी योजना कार्यान्वनयको चरणमा छन् । उनले भने, ‘विनियोजन भएकोमा एक सय बढी सम्झौता भई ८० वटा कार्यान्वयनको चरणमा छन् ।’ ठूला योजनामध्ये एउटा सम्पन्न भइसकेको उनले बताए ।
पाँचदेखि १० लाख बजेटसम्मका ३० योजना मध्ये २३ वटा योजनाको सम्झौता भएर काम सुरु गरिएको उनले बताए । प्रदेश सरकार र संघीय सरकारमार्फत आएका ठुला योजनाको अख्तियारी ढिलो आएकाले केही ढिलाई भएको उनको भनाइ छ । गाउँपालिकाले ७५ लाख भन्दा तलका योजनाहरु उपभोक्ता समितिमार्फत निर्माण गर्ने जिम्मा दिएको जनायएको छ ।
सम्झौता भएका मझौला योजनामध्ये चार वटा सम्पन्न भइसकेको गाउँपालिकाका प्रवक्ता एवं वडा नं ५ का अध्यक्ष गगन बहादुर फडेराले बताए । ‘विगतमा समयमा काम नसकेर केही योजनाको पैसा फिर्ता भयो,’ उनले भने, ‘त्यही भएर यो वर्ष कडाइ गरिएको छ ।’ वडाबाट सिफारिस भएका योजनाको अनुगमन तथा सुपरिवेक्षणको जिम्मा सम्बन्धित वडाध्यक्षलाई दिइएको उनले जानकारी दिए ।