२ जेष्ठ २०८१, बुधबार

५१ फिट अग्लो शिवको मुर्ति स्थापना गरिने



सुर्खेत।

सुर्खेत पर्यटकीय स्थल वीरेन्द्रनगर–९ ,लाटिकोइलीमा ५१ फिटको शिव मुर्ती स्थापनाका लागि शिवरात्रीको अवसर पारेर शिलान्यास गरिएको छ । मन्दिरमा भेटिएको शिलालेख अनुसार साके संवत १५०४ र इस्वी संवत् १६३९ मा स्थापना भएको शिव मन्दिरमा स्थापना गरिने उक्त मुर्तिका लागि २६ लाख रुपैयाँ लाग्ने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विद्याभूषण मानन्धरले जानकारी दिए ।
कर्णालीकै सबैभन्दा पुरानो इतिहाँसका रुपमा रहेको शिव मन्दिर भग्नावशेष रुपमा रहेको थिया र विभिन्न सहयोगी दाताहरुबाट मन्दिरलाई पुनर्निर्माण थालिएको उनले बताए । ‘मन्दिरको व्यवस्थापनका लागि गत साउनमा तीन दिने शिवपुराण महायज्ञ आयोजना गरि संकलन गरिएको १ करोड ७ लाख २९ हजार ९ सय रुपैयाँमध्येबाट पनि लगानी गरिने छ ।’
शिवपुराण महायज्ञ मुल आयोजक समितिका अध्यक्ष ध्रव कुमार श्रेष्ठका अनुसार कुल बजेटमध्ये ८० लाख रुपैयाँ बैंकमा मुद्धती खातामा राखिएको छ । बाँकी रकम ‘अर्ध नारेश्वर’ मुर्ति बनाउनका लागि खर्च गरिने बताए । वीरेन्द्रनगर–९ का वडा अध्यक्ष सुरेश मानन्धरले नेपालमै यस्तो अग्लो र अर्धनारेश्वरको मुर्ति पहिलो पटक स्थापना गर्न लागिएको दावी गरे ।
एउटै ढुंगाबाट शिव र पार्वतीको आधा–आधा शरीर जोडिएर बनेको ‘अर्धनारेश्वर’ मुर्तिले समाजमा सकरात्मक सन्देश पु¥याउने भएकोले यस्तो निर्णय गरिएको स्थानीय प्रवेशमान मानन्धले जानकारी दिए । स्थानीय, प्रदेश र केन्द्र सरकारले पनि यसलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न बजेट छुट्याउनुपर्ने बताए ।