२ जेष्ठ २०८१, बुधबार

गाउँमै गाडि देख्दा स्थानीय दङ्ग



सुर्खेत १० फागुन । कर्णाली करिडोरको बाटो हुम्लाको दक्षिणी गाउँपालिका ताँजाकोट र अदानचुली जोडिएको छ । सात गाउँपालिकामध्ये दक्षिणी बाजुरा सिमानाको स्थानीय तहलाई जोड्ने सडकको ट्रयाक खुलेर सवारीसाधन सञ्चालनमा आएपछि स्थानीय खुसी भएका छन् । गाउँबाटै गाडी चढेर सिमिकोट र सुर्खेत झर्ने स्थानीय ताँजाकोट गाउँपालिकाका ६२ वर्षिय नन्दप्रसाद जैसीको रहर पूरा भएको छ ।
‘पैसा तिर्न परे पनि गाउँमै गाडी चढ्ने मेरो धेरै रहर छ ।’ पहिलोपटक राजपुरमा पुगेर गाडी देखेको बताउने जैसीले भने, ‘हामी जस्ता बूढापाकाको आफ्नै गाउँमा गाडी पुगेको हेर्ने र गाडी चडेर सदरमुकाम सिमिकोटसम्म पुग्ने रहर यो सरकारले पूरा गरिदेला कि भन्ने लागेको छ ।’ कर्णाली करिडोरअन्तर्गत हुम्ला जिल्लालाई सडक सञ्जालसँग जोडिए पनि हालसम्म सदरमुकाम सिमिकोट जोडिएको छैन ।
नेपाल सरकारले सबै पालिकाको सदरमुकामसम्मकालोपत्रे सडकको योजना बनाए पनि अझैंसम्म हुम्ला सदरमुकाममा सडक पुगेको छैन । हुम्लाको उत्तरी क्षेत्रका बासिन्दाले एक वर्ष पहिले आफ्नै गाउँमा गाडी देखेपनि हुम्लाको दक्षिणी क्षेत्रका बासिन्दाका लागि भने यो सपना पूरा हुन पाएको छैन । कतिपयले सुर्खेत वा अन्यत्र जाँदा गाडी देखे पनि यहाँका ज्येष्ठ नागरिकले अहिलेसम्म सवारी साधन नंै देखेका छैनन् । उनीहरूमा कर्णाली करिडोर निर्माण अघि बढेसँगै आफ्नै गाउँमा सवारी साधन गुडेको देख्ने रहर जागेको छ ।
अदानचुली गाउँपालिका–१ हुम्लाकै ४९ वर्षीय रुपचन्द्र थापाले पनि अरू सबै जिल्ला सडक सञ्जालमा जोडिँदा समेत अहिलेसम्म हुम्ला सदरमुकाम नजोडिएको भन्दै गुनासो गरे । सरकारले अहिलेसम्म यस जिल्ला र यहाँका जनतालाई उपेक्षा गरिरहेको उनको भनाइ छ । सडक बनेर गाडी नगुडे पनि थापाले छिमेकी जिल्ला मुगु र बाजुरामा गाडी गुडेको देखेको बताए । उनले भने, ‘अहिलेसम्म हामी उताका गाडीका बारेमा सुनेरै बसिरहेका छौं, हाम्रो ठाउँमा देख्न पाएनौं ।’
कर्णाली करिडोरअन्तर्गतको धुलाचौर लेबणीदेखि सल्लिसल्लासम्मको सडक खण्डको निर्माण गर्ने जिम्मा पाएको नेपाली सेनाले हुम्ला र बाजुराको सीमाना कवाडीसम्मको ६ किलोमिटर सडक निर्माण सम्पन्न गरेको छ । कालीकोटदेखि हुम्लाको सल्लीसल्लासम्म १ सय ९६ किलोमिटर सडक निर्माण गर्ने कार्य नेपाली सेनाले धमाधम अघि बढाएको छ ।
कवाडीदेखि सल्लीसल्लासम्म ३९ किलोमिटर सडकमध्ये २२ किलो मिटरमा छ मिटरको चौडा ट्रयाक खोलिसकेको छ । त्यस्तै १७ किमी सडकमा विस्फोटन भइरहेको छ भने करिडोरको सडकमध्ये हुम्ला जिल्लामा सडक निर्माणको ६० प्रतिशत काम भइसकेको नयाँ भैरवी दल गुल्म सिमकोटले जानकारी दिएको छ । बाजुरा र हुम्ला जोड्ने कवाडी पुलबाट झण्डै पाँच किमी सडक सञ्चालनमा आएको छ ।
सडक सञ्चालनमा आउँदा आफ्नो गाउँपालिकाका बासिन्दाको जनजीवन सहज हुन थालेको अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले बताए । गाउँपालिकाले आगामी दिनमा सहायक सडकहरू खोल्ने लक्ष्य लिएको उनले बताए । ‘हाम्रो गाउँपालिकामा सडक आउनु विकासको सुरुवात हो,’ उनले भने, ‘आगामी दिनमा यसलाई अघि बढाइनेछ ।’
सडक विभागका महानिर्देशक केशवकुमार शर्माले सडक विभागले निर्माण गरिरहेको ५१ किमी सडक तीव्र रुपले अघि बढिरहेको जानकारी दिए । कर्णाली करिडोर आयोजना निर्देशनालयले विभागलाई निर्माणका लागि आवश्यक उपकरण समस्या भएको बताउँदै आएको छ । निर्देशनालयले आगामी असारसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ ।
केही समय अघि प्रतिनिधिसभाको विकास तथा प्रविधि समिति करिडोरको अनुगमनका लागि पुगेको थियो । सडक विभाग र नेपाली सेना दुवैले काम गरिरहेको पाइएको समितिका सदस्य गणेशकुमार पहाडीले बताए । आगामी असोजसम्म जिल्ला सदरमुकाम जोड्ने लक्ष्य लिएर सडक निर्माणको काम अघि बढेको छ । सेनाले कालीकोटदेखि हुम्लासम्मको सडकमा काम अघि बढाइरहेको छ भने सडक विभागले सिमिकोटबाट सल्लीसम्मको सडक निर्माण गरिरहेको छ ।
उनले भने, ‘विभागलाई पनि चट्टान फोरेर सडक निर्माण गर्न सेनाकै सहयोग चाहिन्छ ।’ सडक विभागले निर्माण अघि बढाइरहेको भएपनि ठूलाठूला चट्टान फुटाउन विस्फोटक पदार्थ चाहिने हुँदा निर्माणमा ढिलाइ हुनसक्ने उनको तर्क छ । विभागले निर्माण गरिरहेका स्थानमा पनि जिम्मेवारी नेपाली सेनालाई नै दिँदा चाँडो हुने स्थानीयवासीले समितिलाई आग्रह गरेका थिए ।