२ जेष्ठ २०८१, बुधबार

पूर्वराज्यमन्त्री सहित संविधानसभा सदस्य उपाध्याय एकाएक कालीकोटमा


कालिकोटः प्रहरीले नेत्रविक्रम चन्द विप्लव समूहका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री नविन विश्वकर्मा हितमान र समूहको वैल्कपिक केन्द्रीय सदस्य तथा पुर्वसभासद धीरेन्द्र उपाध्याय भृकुटीलाई कालिकोट ल्याइएको छ। प्रहरीले पुर्वस्थानीय विकास राज्यमन्त्री हितमान र पुर्व सभासद भृकुटीलाई संगठित अपराध तथा बम विस्फोटन मुद्दामा अदालतमा हाजिर गराउन कालिकोट ल्याएको हो।

दुबैलाई तीन दिन अगाडी जिल्लामा ल्याएको प्रहरीले सोमबार अदालतमा पेश गरेको छ। सरकारले प्रतिबन्ध लगाए पछि गृह जिल्लामा निकै कम आएका पुर्वमन्त्री हितमान र सभासद भृकुटीलाई जिल्लावासीले सोमबार एकै पटक जिल्ला प्रहरी कार्यालय अगाडी प्रहरीको हत्कडीमा देखे। २०६२र०६३ को जनआन्दोलन पछि बनेको आन्तरिक सरकारका स्थानिय विकास राज्यमन्त्री बनेका हितमान र २०६४ सालको पहिलो संविधानसभा निर्बाचनमा जिल्लाबाट समानुपातिक सभासद बनेकी भृकुटी तत्कालिन एकिकृत नेकपा माओवादीका अग्रज लोकप्रिय नेताका रुपमा चिनिन्थे। उनीहरु तत्कालिन एकिकृत नेकपा माओवादी केन्द्र पार्टी विभाजन हुँदा बैद्य नेतृत्वको नेकपा माओवादी हुँदै बिप्लवको नेतृत्वको समूहमा लागेका थिए।

२०७४ साल साउन ४ गते शुभकालिका गाउँपालिका(१ को कालेखोलामा भएको बम विस्फोट गराएको भृकुटी र २०७५ साल चैत ११ गते खाडाचक्र नगरपालिका(५ राताडाबमा प्रहरीलाई लक्षित गर्दै बम फालेको हितमानमाथि आरोप छ। प्रहरीले कालेखोलामा भएको बम विस्फोटमा प्रेसर कुकर बमका टुक्राहरु, जुटको बोरा, विद्युतका तारहरु फेला पारी विप्लव समर्थक कासे दर्जी पनि पक्राउ परेका थिए। उनलाई जिल्ला अदालत कालिकोटले २५ हजार धरौटीमा छोडेको थियो।

यस्तै राताडाबमा बम फालेको घटनामा जिलेटिन ३२ थान, डेडकट १ थानसहित विप्लव निकट बुद्धिजीवी संगठनका कर्णाली ब्यूरो संयोजक धनराज शाहीलाई प्रहरीले पक्राउ गरेको थियो। उनलाई जिल्ला अदालतले ३० हजार धरौटीमा छोडेको थियो।

हितमानले आफुलाई प्रहरीले झुटो मुद्दा लगाएर कालिकोट ल्याएको बताए। उनले ‘मलाई जुन बिस्फोटनको मुद्दा लगाएको छ। त्यसबारे मलाई जानकारी नै छैन्। जुन समय विस्फोट भएको भनिएको छ। त्यो समयमा म काठ्माडौंमा थिएँ।’

यस्तै भृकुटीले आफुलाई पनि प्रहरीले झुटो मुद्दा लगाएको दाबी गरिन। उनले आफु महिला संगठनको केन्द्रीय महासचिवको जिम्मेवारीमा रहेकाले मुलुकभर पार्टीका कार्यक्रमहरुमा व्यस्त रहेको र बढी समय काठमाडौंमै रहेकाले यो मुद्दा सरासर झुटो रहेको बताइन्। पुर्व सभासद भृकुटीलाई २०७६ साल साउन १४ गते र पुर्व मन्त्री हितमानलाई २०७६ असोज ६ गते काठमाडौंबाट पक्राउ गरेको थियो। उनीहरु त्यति बेला नेकपाको काठ्माण्डौ इन्चार्ज र सेक्रेटरीको भूमिकामा थिए। उनीहरुलाई केन्द्रीय कारागारबाट सुनसरी हुँदै कालिकोट ल्याएको हो।

http://annapurnapost.com