१७ बैशाख २०८१, सोमबार

कृषकको सक्रियतामा बराँतु अर्गानिक



कालिकोट १४ फागुन ।

खाँडाचक्र नगरपालिका– ११ बरातु गाउँलाई कृषि उपजका वस्तु उत्पादनमा अर्गानिक गाउँ बनाइएको छ । कृषि उपजका वस्तुहरूमा कृषकहरूले रसायनको प्रयोग निषेध गरेर यस गाउँलाई अर्गा्निक गाउँ बनाएका हुन् । स्थानीय बाली उत्पादनमा कृषकले रसायनिक मल र बिषादी प्रयोग निषेध गरी स्थानीय प्राङ्गारिक मल र स्थानीयस्तरमा निर्माण गरिएका कीटनाशक औषधि प्रयोगमा ल्याएका छन् ।
कृषि उत्पादनको नमुना गाउँ रहेको बरातुका किसानहरूले २२ वर्षअघिदेखि नै व्यावसायिक खेतीको सुरुवात गरेका थिए । पहिला कृषि उपजका वस्तुहरू उत्पादनमा रसायनिक मलको प्रयोग गर्दा जग्गामा सुख्खापन वृद्धि भएको किसानहरूले बताएका छन् । पहिला पहिला कृषि बाली उत्पादन गर्नका लागि रसायनिक मलको प्रयोग गरेको र रसायनिक मलको प्रयोगले जग्गामा सुख्खापन आउनुका साथै बाँझोपनको समस्या देखिएको स्थानीय कृषक वीरु भारतीले बताए । ‘रसायनिक मलको प्रयोगले जग्गाको क्षतिबाहेक अरू केही हुँदैन भन्ने बुझ्यौँ’, उनले भने, ‘अहिले गाउँमा कसैले पनि रसायनिक मलको प्रयोग गर्दैनन् ।’
जग्गामा सुख्खापन बढेका कारण किसानहरूले अहिले कृषि उत्पादनका क्षेत्रमा जैविक र प्राङ्गारिक मलको प्रयोगमा ध्यान दिएको वडा अध्यक्ष पुष्पराज गिरीले बताए । ‘गाउँमा कसैले पनि रसायनिक मलको प्रयोग गर्दैनन्’, उनले भने, ‘स्थानीय रूपमा उत्पादन हुने हरेक कृषि उपजका वस्तुमा स्थानीय जैविक र प्राङ्गारिक मलको प्रयोग गर्न थालिएको छ ।’
बरातु गाउँका किसानहरूले वर्षभर नै बेमौसमी तरकारी उत्पादन गर्ने गरेका छन् । अन्य बालीभन्दा तरकारी बालीबाट राम्रो उत्पादन हुने भएकाले किसानहरूले तरकारी बाली उत्पादनमा जोड दिएका हुन् । यहाँका किसानहरूले वर्षभर नै बैमौसमी तरकारी उत्पादन गर्ने र त्यसबाट राम्रो आम्दानी लिने गरेको शिक्षक अजबहादुर गिरीले बताए । ‘यहाँ पहिला पहिला कसैले पनि तरकारी उत्पादन गर्न मानेनन्’, उनले भने, ‘पहिला मैले नै तरकारी खेती सुरु गरेर राम्रो आम्दानी लिन थालेपछि अरूले पनि तरकारी खेती सुरु गरेका हुन् ।’
बैमौसमी तरकारी तथा अन्य कृषिजन्य वस्तुको उत्पादन राम्रो हुने गरेको भए पनि बजारीकरणको समस्या रहेको स्थानीय किसान तारा गिरीले बताइन् । ‘यहाँ हामीले उत्पादन गर्ने गरेको तरकारीलगायतका अन्य कृषि उपजका वस्तुहरू बजारीकरणले समस्या छ’, उनले भनिन्, ‘यहाँ उत्पादन भएको तरकारी कसरी कहाँ बेच्ने भन्ने समस्या छ ।’ अहिले गाउँमा उत्पादित तरकारीहरू खेर जाने अवस्थामा रहेको सरिता भारतीले बताइन् । ‘अहिले गाउँमा आरु फालाफाल छ । यो कहाँ लगेर बेच्ने ?’, उनले भनिन्, ‘तर, सडक पुगेको ठाउँमा भारतीय तरकारी बिक्री हुन्छ ।’
खाँडाचक्र नगरपालिकाका प्रमुख जसीप्रसाद पाण्डेले किसानहरूले उत्पादन गरेको वस्तु बजारीकरणको समस्या हुन नदिने बताएका छन् । उनले कर्णाली राजमार्गदेखि बरातुसम्म ग्रामीण कृषि सडक पुगेको र अबका दिनमा ती समस्या हल हुने दाबी गरे । ‘बरातुका किसानहरू निकै मिहिनेती छन्’, नगर प्रमुख पाण्डेले भने, ‘उनीहरूले उत्पादन गरेका कृषि उपजका वस्तुहरूलाई बजारीकरणका लागि मलै पहल थाल्छु ।’ बरातु कालीकोट जिल्लाकै कृषि वस्तु उत्पादनमा नमुना गाउँ भएको प्रमुख पाण्डेले बताए ।
बरातुका किसानहरूले अहिले गाउँमा किवी खेतीको सुरुवात गरेका छन् । नेपालमा किवी खेतीको राम्रो सम्भावना भएका कारण बरातुका किसानहरूले किवी खेती सुरु गरेका हुन् । ३ वर्षअघि गाउँमा किवी खेती सुरु गरेको तर गत वर्ष थोरै फलेको तथा यस वर्ष धेरै दाना दिएको शिक्षक अजबहादुर गिरीले बताए । ‘किवी खेतीको सम्भावना निकै राम्रो छ’, उनले भने, ‘यसको बजार मूल्य पनि निकै राम्रो छ ।’
साविकको जिल्ला कृषि विकास कार्यालयले बरातु गाउँलाई सुन्तला जोनका रूपमा विकास गरेको थियो । अहिले गाउँमा सुन्तला उत्पादन गर्ने कृषकहरूको संख्या वृद्धि भएको र गाउँमा नै सुन्तलाका ७ जात बाली उत्पादन गर्ने गरेको माया गिरीले बताइन् । ‘यहाँ गाउँमा सुन्तला, जुनार, मुन्तला, कागती, स्थानीय जातको चुकलगायतका उत्पादन हुन्छन्’, उनले भनिन्, ‘यो हाम्रो प्रयासले सम्भव भएको हो ।’
कर्णाली प्रदेश सरकारले अर्गा्निक प्रदेश बनाउने भनेर घोषणा गरेको झण्डै २ वर्ष पुगेको छ । तर, बरातु गाउँका किसानहरू भने अर्गा्निक प्रदेश घोषणाबारे बेखबर छन् । गाउँमा २२ वर्षदेखि अर्गानिक कृषि खेती गर्दै आएका अजबहादुर गिरीले कर्णाली प्रदेश सरकारले अर्गानिक प्रदेश बनाउने भनेर ल्याएको नारा आफूहरूलाई थाहा नभएको बताए । ‘कताकता रेडियोमा अर्गानिक कृषि खेतीका विषयमा विज्ञापन बजाएको सुनेको थिएँ’, उनले भने, ‘सरकारले अर्गानिक प्रदेश भनेर के आधारमा भनिरहेको छ, थाहा छैन ।’