४ बैशाख २०८२, बिहीबार

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको पहिलो चरणको काम सम्पन्न


दैलेख : दैलेखमा गत कात्तिकदेखि सुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषणको पहिलो चरणको सर्भे सम्पन्न भएको छ । साइस्मिक सर्भेअन्तर्गतको काम सकिएसँगै पहिलो चरणको काम सम्पन्न भएको हो । नाबिस्थान शिरिस्थान पादुकालगायतका क्षेत्रलाई आधार मानी ४०० वर्ग किलोमिटर क्षेत्रलाई समेटेर २०० किलोमिटर साइस्मिक सर्भे गरिएको हो ।

म्याक्टो टेल्युरिक जिओ लोजिकल सर्भे जियोक्यामिकल स्याम्पलिङ सर्भे साइस्मिक सर्भेपछि पहिलो चरणको काम सम्पन्न भएको खानी तथा भूर्गभ विभागका अन्वेषण अधिकृत डा. गणेशनाथ त्रिपाठीले बताए । उनका अनुसार साइस्मिक सर्भेअन्तर्गत १० वटा लाइनमध्ये तीनवटा पूर्व–पश्चिम र सातवटा उत्तर–दक्षिण दिशामा खनिएका १० वटा साइस्मिक लाइनमा सर्भेको काम सम्पन्न भएको छ।

चीनको प्राविधिक टोलीले भैरवी गाउँपालिका, दुल्लु नगपालिका, डुंगेश्गा गाउँपालिका, चामुण्डा बिन्द्रासैनी नगरपालिका, महाबु गाउँपालिकाका र नारायण नगरपालिकाका केही क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषण गरेको थियो । अन्वेषण अधिकृत त्रिपाठीका अनुसार चिनियाँ प्राविधिक टोलीले अहिलेसम्म गरेको चारवटा सर्भेबाट संकलन गरिएका डाटाहरु चीनमा गएर अध्ययन गरी निष्कर्ष निकालेपछि अर्को विशेषज्ञ टाेली आएर चार किलोमिटर गहिराइसम्म मुख्य डिलिङको काम गर्ने छन्।