२१ बैशाख २०८१, शुक्रबार

कर्णाली सरकारलाइ नेपाली काँग्रेसको ११ बुँदे सुझाव


सुर्खेत । नेपाली कांग्रेसले क०ााृली सरकारलाई कोरोना संक्रमण राेकथामका लागि ११ बुँदे सुझाव दिएकाे छ । नेपाली काँग्रेस कर्णाली प्रदेश सभा संसदीय दलका नेता जीवनबहादुर शाहीले मंगलबार एक विज्ञप्ती जारी गर्दै कर्नाणाली सरकारलाई राजनीतिक व्यवहार नगर्न सुझाव दिएका छन् । नेपाल सरकारले लिएको लकडाउन नीतिलाई कडाइका साथ पालना गर्न, गराउन र यस अवधिमा अत्यावश्यक दैनिक उपभोग्य वस्तु एवं सेवाको सहज आपूर्ति एवं व्यवस्था गर्न शाहिले सरकारको ध्यानाकर्षण गराएका छन् ।

क्वारेन्टाइन बनाएर मात्र कोरोना नियन्त्रण नहुने हुँदा विदेशबाट आएका नागरिकको लगत संकलन गरी पहुँचका आधारमा सुर्खेतस्थित निर्माण भएका क्वारेन्टाइन र स्थानीय स्तरमा निर्माण भएका क्वारेन्टाइनमा कडाइका साथ राख्न शाहीको अनुरोध छ । प्रदेशभरका स्थानीय स्वास्थ्य केन्द्र, संस्थामा पर्याप्त आवश्यक औषधि, उपचार सामग्री, आइसोलेसन बेड, भेन्टिलेटर लगायतका उपकरणको तत्कालै व्यवस्था गर्न माग समेत शाहीले माग गरेका छन् ।

कोरोना महामारी नियन्त्रणमा रातदिन खट्नुभएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको उच्च मनोबल बढाउन, उनीहरूको जीवन रक्षा र स्वास्थ्य सेवाका लागि आवश्यक पीपीई लगायत चिकित्सा र स्वास्थ्य उपकरण, परीक्षण किट तथा सुरक्षाकर्मीलाई गुणस्तरीय मास्क, सुरक्षा उपकरणको अबिलम्ब व्यवस्था गर्न, कोरोनालाई सामूहिक प्रयासले मात्र परास्त गर्न सक्ने भएकाले आवश्यक संयन्त्र निर्माण गरी पीडितको राहत, उद्धार एवं प्रकोप रोकथामका कार्यमा स्थानीय तह, निजी क्षेत्र, संघसंस्थालाई परिचालन गर्न विज्ञप्तिमा आग्रह गरिएको छ ।

‘सुकुम्बासी, डेरावाल, बाढीपीडित, विद्यार्थी, दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्ने र प्रकोपबाट उच्च जोखिममा परेका समुदायलाई तत्कालै राहत हुने कार्यक्रमको घोषणा गर्न, प्रदेशभित्र कोरोना परीक्षण प्रयोगशाला तत्काल निर्माण गर्न, कोरोना नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको नीति, निर्देशनहरूको पूर्ण पालना गर्न गराउन सरकारलाई आग्रह गर्दछु,’ विज्ञप्तिमा लेखिएको छ, ‘कर्णाली प्रदेशका अधिकांश जिल्लाहरू अतिविकट भएका हुनाले त्यहाँ विपत व्यवस्थापनलाई नगद नपठाई सामग्रीको व्यवस्थापन गर्न, यतिखेर कसैलाई भिख माग्नतिर आफ्नो समय खेर नफाली आफूसँग भएको यथेष्ठ स्रोतसाधनको बुद्धिमता ढंगबाट परिचालन गर्न सरकारलाई आग्रह गर्दछु ।’

सरकारलाई दिइएका सुझावहरू कुनै भावावेशमा नभइ कर्णाली प्रदेशका जनताको रक्षाका लागि र सरकारको कुशलता तथा सफलताको लागि भएको हुनाले कार्यान्वयन गर्न नेता शाहीले सरकारलाई आग्रह गरेका छन् ।