२१ बैशाख २०८१, शुक्रबार

जबरालाई महाअभियोग लगाउन कालीकोटका युवाको माग


कालीकोटः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउन कालीकोटका युवाले माग गरेका छन् ।
पूर्व डिआइजी रञ्जन कोइरालालाई सर्वस्वसहित जन्मकैदको सजायबाट सहुलियत दिएको भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउन माग गर्दै कालीकोटका युवाले प्रदर्शन गरेका छन् ।
कालीकोट जिल्लामा रहेको लिङ्गाशैनी युवा क्लवका युवाहरुले चोलेन्द्र शमशेर जबरा, न्यायाधीश तेजबहादुर केसीलगायतलाई तत्काल महाअभियोग लगाएर हटाउनु पर्ने माग गरेका छन् । लिङ्गाशैनी युवा क्लवका अध्यक्ष हिक्मतजंग मल्लको नेतृत्वमा युवाहरुले कालीकोटको प्रतिमाचौकमा विरोध गरेका हुन् । हत्या अभियोगमा सर्वस्वसहित जन्मकैदको सजाय पाएका अभियुक्तलाई उन्मुति दिएको भन्दै युवाहरुले विरोध गरेका हुन् ।


विभिन्न नाममा प्लेकार्ड बोकेर विरोधमा उत्रिएका युवाहरुले ‘न्याय मरेको मेरो देश’ ‘अदालति अड्डा भ्रष्टाचारको अखडा’ ‘न्याय खोज्न कहा जाने’ ‘अदालतको चोला फेर्ने चोलेन्द्रलाई महाअभियोग’ ‘अदालतले के दिन्छ’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।
२०६८ सालमा श्रीमतीको हत्या गरी शवसमेत नष्ट गरेका तत्कालीन डीआईजी कोइरालालाई २०७१ वैशाख ७ गते काठमाडौं जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । हत्याबाट नै श्रीमती गीता ढकालको मृत्यु भएको ठहर गरेको थियो । पुनरावेदन अदालत पाटनले पनि त्यसैलाई सदर गरेको थियो । जेल सजाय भोगिरहेका कोइरालालाई सर्वोच्च अदालतले गत असार दोस्रो साता फैसला गर्दै २० वर्षको कैदलाई साढे ८ वर्ष हुने भनी सजाय घटाएको थियो ।
अभियुक्तलाई सजाए दिनुको सट्टा उल्टै सजाए मिनाहा गरेको भन्दै कालीकोटका युवाहरु सडकमा आएका हुन् ।