२१ बैशाख २०८१, शुक्रबार

सलहले सिमि र स्याउमा क्षति


सुर्खेत । कर्णालीको हिमाली जिल्ला डोल्पामा सलह किराले स्याउ तथा सिमि बालीमा क्षति पुर्याएको छ । गत असारमा कर्णाली भित्रिएको सलहको वथानले डोल्पामा भने ८० प्रतिशत सिमि बालीमा क्षति पुर्याएको छ ।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका–६ का कृषक हरीबहादुर बुढाले भने, ‘यो समय स्याउँमा रंग, रस र आकार बन्ने समय हो । तर सलहले स्याउमा क्षति पुर्याएको छ ।’ उनको चार रोपनीमा सिमि खेति र १० रोपनीमा स्याउँको बगैचा छ ।

कर्णालीको माथिल्लो भेगमा उत्पादन हुने सिमिले राम्रो मुल्य पाउँने गर्छ । त्यहाँ उत्पादन हुने अर्गानिक र स्वादिलो सिमिको बजार माग राम्रो छ ।

‘यसपाली सिमि उत्पादन खासै हुदैन जस्तो छ । सलहको वथानले सिमिका पात र कोसा खाईदिएका छन्,’ निरास हुँदै बुढाले भने, ‘वेलावेलामा सलह आईराख्छ । हामी ड्रम र थाल ठटाउछौ ।’

कृषि विकास निर्देशनालय सुर्खेतका अनुसार डोल्पामा सलहले ३५ प्रतिशत कृषि उत्पादनमा क्षति पु¥याएको छ । ८० प्रतिशत सिमि वाली नष्ट भएका छन् । १० प्रतिशत स्याउँमा क्षति पुगेको छ ।

यसैगरी अमेरिकन फौजीकिराबाट समेत डोल्पामा २५ प्रतिशत कृषि उत्पादनमा क्षति पुगेको छ । सलहका कारण कर्णालीमा औषत ११ प्रतिशत कृषि उत्पादनमा क्षति पुगेको छ । सलहले सुर्खेतमा २०, दैलेखमा २०, जाजरकोटमा २०, जुम्लामा १० र कालिकोटमा पाँच प्रतिशत कृषि उत्पादनमा क्षति पु¥याएको छ ।

यसैगरी अमेरिकन फौजी किराले सुर्खेतमा १०, दैलेखमा १५, जाजरकोटमा १५, सल्यानमा २०, रुकुम (पश्चिम)मा १५, जुम्लामा पाँच र कालिकोटमा पाँच प्रतिशत कृषि उत्पादनमा क्षति पु¥याएको कृषि विकास निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकायले जानकारी दिए ।

मुगु पुग्यो सलह
सलह किरा अहिले मुगुमा पुगेको छ । कालिकोट, जुम्ला हुँदै मुगुको छायाँनाथ रारा नगरपालिका, सोरु खत्याड र मुगुमकार्मारोङ गाउँपालिकाको गाउँबस्तीमा सलह पुगेपछि किसान चिन्तित भएका छन् ।

छायाँनाथ रारा नगरपालिकाको रोवा, पिना, मुन्दु र मुगुमकार्मारोङ गाउँपालिकाको माग्री, सोरु गाउँपालिकाको सोरुकोट, नार्थपु र फोतु, खत्याड गाउँपालिकाको गम्थालगायतका स्थानमा सलह किरा देखिएका छन् ।

जिल्लामा सलह पुगे पनि अन्नबालीमा क्षति नगरेको जिल्ला कृषि विकास कार्यालय प्रमुख पञ्चलाल बुढाले बताए । आकाशमा सानो संख्यामा सलह उडिरहेको उनले बताए । किसानको खेतबारीमा बसेर मकै, कोदो, कागुनो, धानबाली नष्ट गरेको र धेरै संख्यामा सलह आए बाली क्षति गर्न सक्ने बुढाको भनाई छ ।

मुगुमा सलह किरा पुगेपछि किसानहरु कसरी अन्नबाली जोगाउने भन्नेबारे चिन्तित देखिएका छन् । किसानहरु कृषि कार्यालयमा पुगेर सलह किराबाट कसरी अन्नबाली जोगाउने भनेर परामर्श लिने गरेका छन् ।