८ बैशाख २०८१, शनिबार

वीरेन्द्रनगरमा बढ्यो कोरोना संक्रमणको जोखिम


सुर्खेत । कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएको छ । पछिल्ला दिनहरुमा वीरेन्द्रनगरमा कोरोना संक्रमितको संख्या वृद्धि भएसंगै मानिसहरुमा त्रास बढेको हो । बजार क्षेत्रमा खटिएका सुरक्षाकर्मी, अन्य प्रदेशबाट आएका व्यवसायीहरु तथा तेस्रो मुलुकबाट आएका मानिसहरुमा कोरोना संक्रमण देखिएसंगै स्थानीय त्रसित बनृेका छन् ।

पछिल्ला दुई दिनमा वीरेन्द्रनगर नगरपालिकाभित्रका ३५ जनामा कोरोना संक्रमण देखिएको छ । तथ्याङ्क अनुसार हालसम्म वीरेन्द्रनगरमाभित्र एक सय ७६ जना संक्रमित भएका छन् । ती मध्ये एक सय २४ जना उपचार पछि डिस्चार्ज भएका छन् भने ३१ जना आइसोलेसन र २१ जना होम आइसोलेसनमा रहेको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ ।

पछिल्लो समयमा देखिएका संक्रमितहरु अन्य प्रदेशबाट आएका व्यवसायीहरु, सुरक्षाकर्मीहरु, विदेशबाट आएमा मानिसहरु रहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले जानकारी दिए । ‘घरमै बसेर सुरक्षाका उपाएहरु अपनाउनेलाई कोरोना संक्रमण देखिएको छैन’, उनले भने, ‘अन्य प्रदेशबाट आएका व्यवसायीहरु जसले सावधानी अपनाउनु भएको छैन ।’
पहुँचको आधारमा नाकाहरुबाट सजिलै आउने जाने बुझेको मान्छेहरु बाटै नै संक्रमणको जोखिम बढिरहेको उनको भनाई छ । अझै पनि कर्णालीमा दिन प्रतिदिन विदेशबाट मानिसहरु आइरहेकाले वीरेन्द्रनगर संक्रमणको जोखिममा रहेको उनले बताए ।

परिक्षण बढाउने तयारी
हाल दैनिक जसो पाँच सय देखि सात सयसम्मको कोरोना परिक्षण गरिरहेको प्रदेश सरकारले जोखिमलाई ध्यानमा राखेर दैनिक दुई हजार मानिसको कोरोना परिक्षण गर्ने तयारी गरेको छ । महाशाखा प्रमुख डा. तिवारीले विदेशबाट आएका मानिसहरुलाई लक्षित गरी परिक्षणको दायरा तीव्र गर्ने तयारी भइरहेको बताए ।

विदेशबाट आएका मानिसहरुलाई वीरेन्द्रनगरमा होल्ड गरेर सबैको पिसिआर परिक्षण गरेरमात्रै पठाउने तयारी भइरहेको उनले जानकारी दिए । ‘बाहिरबाट आएकाहरुलाई नाकामै स्वाव संकलन गरेर रिर्पोट नआउन्जेलसम्म वीरेन्द्रनगर वा सम्बन्धीत क्षेत्रमा होल्ड सेन्टरमा राख्ने र रिपोर्ट आए पनि नेगेटिभ आए सम्बन्धीत स्थानीय तहलाई जिम्मा लगाउने र पोजेटिभ आए आइसोलेसनमा राख्ने तयारी भइरहेको छ’ उनले भने ।

भदौ १ गते देखि निषेधाज्ञा

कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर जिल्ला प्रशासन कार्यालय सुर्खेतले आगामी भदौ १ गतेदेखि वीरेन्द्रनगरमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । जिल्ला कोरोना संकट व्यवस्थापन समितिको आज बसेको बैठकले आगामी भदौ १ गते बिहान ६ बजे देखि भदौ ५ गते राती १२ बजेसम्म निधेषाज्ञा गर्ने निर्णय गरेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेम्मीले जानकारी दिए ।

निश्चित समयसम्म मात्रै निषेधाज्ञा लागु गर्न लागिएकाले अत्यावश्यक र निर्माण योजनाहरु बाहेक अन्यमा क्षेत्र पूर्ण रुपमा बन्द गरिने रेग्मीको भनाई छ ।