८ बैशाख २०८१, शनिबार

‘काम गर्नेलाई रोजगारी दिन्छौँ’ – अध्यक्ष शाही


कोरोना भाइरस (कोभिड १९) संक्रमणको महामारीका कारण विश्वका धेरै मानिसले रोजगारी गुमाइरहेका छन् । नेपालको सन्दर्भमा पनि कामको शिलशिलामा भारत तथा अन्य तेस्रो मुलुकमा गएका मानिसहरु रोजगारी गुमाएर स्वदेश फर्कीरहेका छन् । जस कारण देशभर वेरोजगारको संख्या बढिरहेको छ । तिनै तहका सरकारले प¥याप्त मात्रामा स्वदेशमै रोजगारी सिर्जना गर्न सकेका छैनन् । विशेष गरी स्थानीय सरकार माथि जनताको अपेक्षा र गुनासो धेरै छ । यसरी जनताले सरकारले आफुहरुको लागि केहि पनि काम गर्न नसकेको बताइरहँदा सुर्खेतको चौकुने गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाही काम गर्न चाहानेलाई गाउँपालिका मै रोजगारी दिने सकिने बताउँछन् । स्थानीय स्तरमै सिप सिकेर स्वरोजगार बन्न चाहानेलाई सिपमुलक तालिम दिएर स्वरोजगार बनाउन सकिने उनको भनाई छ । यी र यस्तै सन्दर्भ सहित अध्यक्ष शाही संगै मालिकापोष्ट दैनिकका लागि गरिएको कुराकानी ।

कोरोना भाइरस (कोभिड १९)को महामारी नियन्त्रणमा कसरी लागि राख्नु भएको छ ?

कोरोनाको संक्रमण नेपालमा देखिए देखि नै हामी योजनावद्ध रुपमा लागिरहेका छौँ । नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को मापदण्ड पालना गर्दै यहाँका घरघरमा मास्क, साबुन सेनिटाइजर बितरण गर्ने, स्वास्थ्यचौकीलाई व्यवस्थीत गर्ने जस्ता कामहरु गरिरहेका छौँ ।
गाउँपालिकाका विभिन्न ठाउँमा क्वारेन्टिन, आइसोलेसन सेन्टर निर्माण ग¥यौँ । भारत तथा अन्य तेस्रो मुलुकबाट आएका मानिसहरुलाई क्वारेन्टिनमा राख्ने उनीहरुको कोरोना चेकजाँच गरेर मात्रै घर पठाउने, गाउँगाउँमा जनचेतना मुलक सन्देश प्रवाह गर्ने कामहरु गरिरहेका छौँ ।
अहिले सम्म हाम्रो गाउँपालिकामा ३७ जनालाई कोरोना पोजेटिभ देखिएको थियो सबैलाई निको भइसकेको छ । क्वारेन्टिनमा बसेका सबैको चेक जाँच भएर घर गइसकेका छन् । अहिले पनि भारत तथा अन्य तेस्रो मुलुकबाट आउने मानिसहरुलाई क्वारेन्टिनमा राखेर चेकजाँच गरिरहेका छौँ ।
तथ्याङ्क अनुसार हाल सम्म ३५ सय बढि मानिस भारत तथा तेस्रो मुलुकबाट फर्कीएका छन् । तर पनि अहिले मानिसहरुमा पहिला जस्तो त्रास छैन । कोरोनालाई सामान्य रुपमा लिन थालेका छन् । कोरोना संक्रमणलाई नियन्त्रण गर्न केन्द्र सरकारबाट २३ लाख र प्रदेश सरकारबाट २४ लाख बजेट आएको थियो ।

गत आर्थिक बर्ष २०७६÷०७७ को बजेट कार्यान्वयन कति भयो ?

गत आर्थिक बर्षको अधिकांश बजेट कार्यान्वयन भयो । हामीले सुरु गरेका केहि ठूला योजनाहरु लकडाउनका कारण पुरा हुन नसके पनि अरु योजनाहरु पुरा भएका छन् । तर कोरोना भाइरसका कारण अघिल्ला बर्षहरुको जस्तो सत प्रतिशत कार्यान्वयन भने हुन सकेन । तर ७५ प्रतिशतको हाराहारीमा बजेट खर्च भएको छ । यदि लकडाउन नभए सत प्रतिशत नै खर्च हुन्थ्यो ।

तपाईको कार्यकाल झण्डै ३ बर्ष बितिसकेको छ । यो समयमा मुख्य मुख्य के के काम गर्नुभयो ?

तिन बर्षको यो अवधिमा हामीले पूर्वाधार, शिक्षा, स्वास्थ्य, आर्थिक विकासका क्षेत्रमा धेरै काम गरेका छौँ । धेरै कामको आधारशिला तयार गरेका छौँ । बाँकी दुई बर्षमा यी काम पुरा गर्ने छौँ ।

मुख्य मुख्य काम भन्नुपर्दा हाम्रा विद्यालयका पक्की भवन निर्माण भएका छन्, एक घर एक धारा खानेपानीको योजना ल्याएका छौँ । त्यो केहि सम्पन्न भएको छ भने केहि सम्पन्न हुने क्रममा छ । हामीले थुर्पै ठाउँमा कुलो निर्माण गरेका छौँ ।
सबै वडामा मोटर बाटो जोड्न सफल भएका छौँ । उर्जाको क्षेत्रमा एक सय किलोवाटको सोलार मिनिग्रेट गुटुमा निर्माण गरेका छौँ । त्यसले साढे ३ सय घरघुरीलाई उज्यालो दिएको छ ।

वेतखोली लघुजलविद्युत आयोजना रेक्चा र वेतखोली लघुजलविद्युत आयोजना लगाम सम्पन्न भएका छन् भने अन्य थुर्पैै लघुजलविद्युत योजना निर्माणको क्रममा छन् । कृषि क्याम्पस र वन विज्ञान क्याम्पसको लागि पूर्वाधारका काम अघि बढाएका छौँ । एक युवा एक सिप कार्यक्रम, महिलाहरुलाई सिलाई कटाई, व्यवसायीलाई बेमौसमी तरकारी सम्बन्धी तालिम, कृषिका विभिन्न कार्यक्रम ल्याएका छौँ ।

शिक्षाको क्षेत्रमा कृषि जेटिय र जेटिएका कक्षाहरु, सव–ओभरसियर, इलेक्ट्रिकल सव–ओभरसिएरका कक्षाहरु गाउँपालिका मै भइरहेका छन् । पाँच वडामा स्वास्थ्यचौकीको भवन नै थिए भने बाँकी वडामा भवन निर्माणका काम अघि बढाएका छौँ । बिजौरमा १५ सैयाका हस्पिटल निर्माणको क्रममा छाँै । यस्ता विभिन्न कामहरु हामीले अघि बढाइरहेका छौँ ।

कानुन निर्माणको काम कहाँ पुग्यो, के कस्ता जटिलताहरु झेल्नु भयो ?

हामीले गाउँपालिकाको लागि चाहिने १९ वटा जति ऐन निर्माण गरेका छौँ । त्यसमा चाहिने कार्यविधि नियमावली पनि निर्माण भएका छन् । केहि कार्यविधि र नियमावली निर्माण गर्न बाँकी छन् । त्यो चालु आवमा गर्छौ । काुनुनका कुराहरु राम्रो संग अध्ययन गर्नु पर्छ खासै जटिलता छैन ।

तपाईको गाउँपालिकामा मुख्य प्रथामिकता के लाई दिनु भएको छ ?

हाम्रो मुख्य प्रथामिकता पूर्वाधार हो । खानेपानी, सिँचाई, सञ्चार, विद्यालयका भवन निर्माण, सडक निर्माण, विद्यत निर्माण जस्ता कामहरुलाई हामीले प्रथामिकतामा राखेका छौँ । यो संगै स्वास्थ्य क्षेत्र पनि हाम्रो प्रथामिकता क्षेत्र हो । हामीले सात वटा सामुदायीक स्वास्थ्य ईंकाइ निर्माण गरेर सञ्चालन गरेका छौँ ।

कोरोना भाइरसको कारणले धेरै मानिसहरुले रोजगारी गुमेको छ । भारत तथा अन्य तेस्रो मुलुकबाट धेरै मानिसले रोजगारी गुमाएर आएका छन् । अब उनीहरुलाई रोजगारी कसरी दिने के छ योजना ?

हामीले प्रत्येक वडा तहमा युवाहरुलाई तालिम दिएर स्वरोजगार बनाउने नीति लिएका छौँ । जस अनुसार प्रत्येक वडा तहमा काम गर्ने मानिसलाई सिपमुलक तालिम दिएर उनीहरुलाई स्वरोजगार बनाउँछौँ । यदि त्यसमा छुटेका युवाहरुले सिप सिकेर स्वरोजगार बन्न चाहेमा हामीले उनीहरुलाई पनि जुनसुकै समयमा तालिमको व्यवस्थापन गछौँ । यसरी उनीहरुले तालिम लिइसके पछि काम गर्नु पर्छ कोहि मानिस बेरोजगार बस्नु पर्दैन ।

काम गर्नुेलाई रोजगारी दिन्छौँ । उनीहरुले काम गर्नु पर्छ । गाउँपालिकाले दिएको सिपलाई गम्भिरता पूर्वक लिएर श्रम गर्नु पर्छ । भारतका विभिन्न गल्ली गल्लीमा गएर काम गर्ने युवाले स्वदेशमा पनि त्यहि मेहेनत देखाउनु पर्छ । हाम्रो गाउँपालिकामा अथाह सम्भावना छ काम छ । तर युवाहरुले काम मात्रै गर्नुपर्यो ।

अहिलेको अवस्थामा जुनसुकै तहका सरकारले काम गरेको बताए पनि जनता सन्तुष्ट छैनन् ? किन के पाउनु भएको छ ?

जो मानिस सुविधा र विकास निर्माण गर्नु पर्छ भन्ने धारणा राख्छ ती मानिस असन्तुष्ट भएका छैनन् । हाम्रो गाउँपालिकाका अधिकांश जनता हाम्रो काम प्रति सन्तुष्ट छन् । कतिपय अवस्थामा राजनीति, व्यक्तिगत स्वार्थका कारण पनि केहि असन्तुष्टी पोखेको पाइन्छ । तर नितान्त जनताले यो गुनासो गरे हामी उनीहरुलाई अझ सन्तुष्टी हुने गरी काम गछौँ ।

जनप्रतिनिधि माथी विभिन्न आरोप लाग्ने गरेको छ । सबै ठाउँमा आफ्ना मानिसहरु राखियो भन्ने, कतिपय ठाउँमा त जनप्रतिनिधिहरु बिचमै विवाद छन् किन होला ?

हामीले हाम्रो स्थानीय तहमा हरेक कुरालाई पारदर्शी हिसाबले प्रतिष्पर्दाबाट गरेका छौँ । कर्मचारी, नियुक्ती, अपभोक्ता समिति निर्माण सबै पारदर्शी तरीकाले बनाएका छाँै । प्ररदर्शी कानुन बनाएका छौँ । जनप्रतिनिधिहरु बिचकै विवाद हुने यो अघिकांश स्थानीय तहमा यो समस्या छ । तर हाम्रोमा यो समस्या छैन । स्थानीय तहका प्रमुख र उपप्रमुख दुवै निर्वाचित हुन्छन् तर कानुनले अध्यक्षलाई धेरै जिम्मेवारी दिएको छ । कति पय ठाउँमा अध्यक्षले आफ्नो अधिकार प्रयोग गर्दा उपाध्यक्षले कानुन नै नहेरेर विरोध गरेको समेत पाइन्छ । भने कतिपय ठाउँमा फरक राजनीतिक पार्टीका जनप्रतिनिधि हुँदाका कारण पनि यो समस्या आएको देख्छु । तर जनप्रतिनिधिहरु कानुन अनुसार अघि बढ्दा यो समस्या हल हुने म देख्छु ।

आगामी दिनदिनमा के कस्ता योजना बनाउनु भएको छ ?

हामीले यो समय सम्म गाउँपालिकामा विकासका निर्माणका आधारशीला तयार गरेका छौँ । अब बाँकी दुई बर्षमा त्यो आधारशिलामा रहेर हामीले सुरुवात गरेका सबै योजनाहरुको काम पुरा गर्ने छौँ । जस अनुसार चौकुने गाउँपालिका प्रशासकिय भवन बनिसकेको हुनेछ । प्रत्येक वडामा स्वास्थ्य चौकी, गाउँपालिकामा १५ सैयाको अस्पताल, प्रत्येक घरघरमा खानेपानीका धाराहरु निर्माण भइसकेका हुने छन् ।
यस्तै हाम्रा प्रत्येक टोलटोलमा मोटरबाटो पुगिसकेको हुनेछ, प्रत्येक विद्यालयका भवनहरु पक्की बनिसक्नेछन्, चौकुनेमा कृषि क्याम्पस र वनबिज्ञान क्याम्पसका पूर्वाधार बनिसकेका हुनेछन्, धेरै युवाहरुले आफ्नै ठाउँमा रोजगारी पाएको अवस्था हुनेछ । कृषिको व्यवसायी करण, औद्योगिकरण भएको हुनेछ । विदेशजाने युवाहरुको जमात घट्दै गएको हुनेछ । उनीहरुले आफ्नै गाउँमा काम गर्ने थालेका हुनेछन् । चौकुने गाउँपालिकाको उत्पादन देशका विभिन्न ठाउँमा बिक्री बितरण भएको हुनेछ, चौकुने उज्यालोका कार्यक्रम सम्पन्न भइसक्ने लगायतका विभिन्न कामहरु गरिसक्ने हाम्रो योजना रहेको छ ।