२१ बैशाख २०८१, शुक्रबार

कर्णालीमा थप ६ जनामा कोरोना संक्रमण


सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णालीमा थप ६ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । दैलेख अस्पतालमा गरिएको परिक्षणमा पाँच जना र चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाला रुकुम पश्चिममा गरिएको परिक्षणमा एक जनामा संक्रमण देखिएको हो ।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका अनुसार संक्रमित मध्ये दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका ८, ६ र ९ का चार जना, महाबु गाउँपालिकाका दुईका एक जना रहेका छन् । यस्तै रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका १० एक जनामा पनि संक्रमण देखिएको हो ।

यो संगै कर्णालीमा कुल संक्रमित हुनेको संख्या दुई हजार ८७ पुगेको मन्त्रालय स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए ।

थप ४ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा कर्णालीमा चार जना कोरोना संक्रमित उपचार पछि डिस्चार्ज भएर घर फर्कीएका छन् । यो संगै कुल डिस्चार्ज हुनको संख्या एक हजार नौ सय ३२ पुगेको छ ।

कोरोना भाइरसको संक्रमण पुष्टी भएका मध्ये हाल सम्म ६ जनाको मृत्यु भएको छ भने एक सय ४९ जना सक्रिय संक्रमितको प्रदेशका विभिन्न आइसोलेसन सेन्टरमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।