१ जेष्ठ २०८१, मंगलवार

स्थानीय तहमा बालबालिकाको क्षेत्रमा अत्यन्त न्यून लगानी


कालीकोटः जिल्लाको शुभकालीका गाउँपालिकाले बालबालिकाको क्षेत्रमा अत्यन्त न्यून बजेट लगानी गरेको छ । शुभकालीका गाउँपालिकामा ३० प्रतिशत नागरिक १८ बर्ष मुनिका छन् ।
भविष्यमा देशको जिम्मेवारी बोक्ने उनीहरुको मानसिक तथा बौद्धिक विकासका लागि स्थानीय सरकारले निकै न्यून लगानी गरेको छ । कुल बजेटको ५ प्रतिशत भन्दा कम रकम बालबालिका क्षेत्रका लागि छुट्याइएको पाइएको छ । त्यसैमा पनि बालबालिका तथा किशोर किशोरीहरुको मानसिक स्वास्थ्यको क्षेत्रमा शुभकालीका गाउँपालिकाको लगानी शुन्य रहेको छ । बालबालिकाको प्रवद्धन र संरक्षण गर्नु पर्ने दायित्व स्थानीय तहको भएपनि शुभकालीका गाउँपालिकाले बालबालिकाको क्षेत्रमा बजेट कम छुट्याएको हो ।
गाउँपालिकाले छुट्याएको बालबालिकाको बजेटमध्ये बालहितका कुनै पनि क्रियाकलाप संचालन भएका छ्रैनन् । शुभकालीका गाउँपालिकामा ८ वटा वडा छन् । वडामार्फत बालबालिकाको क्षेत्रमा विनियोजन गरिएको बजेट समेत उनीहरुको हितमा खर्च नभएको पनि पाइएको छ । वडाबाट छुट्याइएको बजेटमा पनि मनलाग्दी खर्च गर्दा बालबालिकाको हित हुन सकेको छैन ।
सेभ द चिल्ड्रेनको सहयोगमा शुभकालीका गाउँपालिकामा संचालित सहयात्रा परियोजना अन्तरगत बालबालिकाको क्षेत्रमा गरिएको लगानीको अन्भेषण गर्दा यस्तो पाइएको हो । स्थानीय तहले बालबालिकाको क्षेत्रमा बिनियोज गरेको रकम पनि खर्च गर्न सकेको छैन ।
शुभकालीका गाउँपालिकामा कति बजेट कुन शिर्षकमा खर्च गरियो भन्ने तथ्यांकन छैन । वडामा दिएको बजेटबाट वडाले बालबालिकाको क्षेत्रमा के क्रियाकलाप गर्यो भन्ने नै एकिन छैन । वडाले एकमुष्ट विल पेश गरि भुक्तानी लिएको देखिन्छ । गाउँपालिकाको बजेटबाट कति बालबालिका लाभाम्वित भए, बालबालिकाको रकमबाट के काम गरियो भन्ने तथ्यांक गाउँपालिकासंग छैन । यसरी स्थानीय तहले खर्च गरेको रकमको एकिन नभएपछि बालबालिकाको क्षेत्रमा काम गर्ने गैर सरकारी संस्थालाई पनि समस्या भएको छ ।
बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको किडाकलाई पनि हैरानी हुने गरेको छ । स्थानीय तहले बालबालिकाको क्षेत्रमा लगानी गर्न नसकेपछि गैससलाई हैरानी परेको छ । गाउँपालिकाले यस वर्ष बालबालिकाको लागि ८ वटा वडामा करिव १० लाख मात्र विनियोजन गरेको छ । भने अघिल्लो आर्थिक वर्षमा पनि १० लाखको हाराहारीमा बजेट विनियोजन गरेको गाउँपालिकामा विनियोजन अनुसार रकम खर्च पनि भएको छैन ।