८ जेष्ठ २०८१, मंगलवार

सक्रिय संक्रमित २५ हजार नाघे, पुनः कलडाउन नहुने


काठमाडौँ । देशभर कोरोना भाइरस (कोभिड १९) का सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ । बुधबार एकै दिन हालसम्मकै धेरै ३ हजार ४ सय ३९ जनामा संक्रमण देखिए संगै सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको हो ।

गत असोज ७ गते बसेको मन्त्रालयको ‘इन्सिडेन्ट कमान्ड सिस्टम’ को बैठकले सक्रिय संक्रमित २५ हजार नाघे स्थिति अत्यन्त जोखिमपूर्ण हुने भएकाले पुनः लकडाउन गर्न सिफारिस गरेको थियो ।

सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले काठमाडौं उपत्यकामा संक्रमण व्यापक बढिरहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

ज्येष्ठ नागरिक कोरोना संक्रमणको उच्च जोखिममा रहेकाले चाडबाडमा विशेष ख्याल गर्नुपर्नेमा उनले जोड दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्काल लकडाउन नहुने जनाएको छ। यसअघि मन्त्रालयले सक्रिय संक्रमितको संख्या २५ हजार नाघे लकडाउन गर्न सकिने गरी सरकारलाई सिफारिस गरेको थियो ।

सक्रिय संक्रमितको संख्या २५ हजार पुगे पनि पुनः लकडाउन भने नहुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिले नै लकडाउनमा जानुपर्ने स्थिति नआएको दाबी गरेका छन् ।

उनले अस्पतालमा संक्रमितको उपचारका लागि बेड अभाव नहुन्जेल लकडाउन नहुने जनाए ।