१५ बैशाख २०८१, शनिबार

विद्यार्थीलाई छात्रवृत्ति वितरण


चामुण्डाबिन्द्रासैनी नगरपालिका–६ स्थित जयदेव मावि जम्बुकाँधका विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्दै परियोजनाका फिल्ड अधिकृत टेकराज न्यौपाने सहित विद्यालयको टोली । तस्बिरः घिरेन्द्र शाहीको फेसबुकबाट ।

दैलेख । दैलेखका आर्थिक रुपले विपन्न परिवारका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । शैक्षिक सत्र २०७७ का लागि छनोट भएका बालबालिकाहरुलाई छात्रवृत्ति वितरण गरिएको हो ।

सेभ द चिल्डेनको आर्थिक सहयोगमा एभरेष्ट क्लबद्वारा संचालित युवा सशक्तिकरण बुलगारी परियोजना अन्र्तगत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका र गुराँस गाउँपालिकाका विद्यार्थीलाई वितरण गरिएको हो ।

जस अन्तर्गत बिहीबार चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नम्बर ६ मा रहेको जयदेव माध्यामिक विद्यालयका विद्यार्थीलाई वितरण गरिएको छ ।

परियोजनाका फिल्ड अधिकृत टेकराज न्यौपानेले चामुण्डाबिन्द्रासैनीका जयदेव मावि जम्बुकाँधका ५ जना, बिन्द्रासैनी माविका ६ जना, धर्मदेव मावि आयरपाटाका ५, चामुण्डा माविका ४ जना र आनन्द माविका ६ जना विद्यार्थीलाई छात्रवृत्ति दिइएको जानकारी दिए ।

यस अघि परियोजना अन्तर्गत चामुण्डाबिन्द्रासैनी र गुराँस गाउँपालिकाका विद्यार्थीलाई घरघरमा पुगि पहिलो किस्ता बापतको छात्रवृत्ति रकम वितरण गरिएको थियो ।

परियोजनाबाट प्रतिविद्यार्थी बार्षीक रुपमा १० हजार छात्रबृक्ति दिने निर्णय अनुसार चार हजार पहिला नै वितरण गरिसकिएको र ६ हजार हाल वितरण भएको फिल्ड अधिकृत न्यौपानेको भनाई छ ।

‘अहिले चामुण्डाबिन्द्रासैनीका २६ जना विद्यार्थीलाई ६, ६ हजारका दरले छात्रवृत्ति वितरण गरिएको छ भने गुराँस गाउँपालिकाका ६ वटा विद्यालयका ३४ जना विद्यार्थीलाई वितरण गरिएको छ ।’ उनले भने ।