२० बैशाख २०८१, बिहीबार

पहुँचवालालाई सजिलै हवाई टिकट



सुर्खेत । कर्णालीका हिमाली जिल्लाका रुपमा परिचित डोल्पा, मुगु र हुम्लामा राष्ट्रिय सडक सञ्जालले राम्ररी छुन सकेका छैनन् । यहाँ पुग्नका लागि अहिले पनि हवाई मार्ग एक मात्र विकल्प हो ।
हवाई मार्ग विकल्प रहेको यी जिल्लामा जानका लागि पहुँचको भरमा नेपालगंज र सुर्खेतबाट जान र आउनका लागि सिडियो, हवाई कम्पनी कर्मचारी, पाइलट, नेता, सांसदको पहुँचमा मात्र हवाई टिकट पाइने गरेको छ । यहाँका विमानस्थलबाट बिरामीलाई लैजान र ल्याउनका लागि ठुलाठालुकै भर पर्नुपर्ने बाध्यता रहेको छ ।
डोल्पा, मुगु, जुम्ला र हुम्लामा निजी एयरलाइन्सका सीता, तारा, समिट एयरले उडान भर्दै आएका छन् । यी विमान कम्पनीहरुमा साधारणले टिकट पाउनु मुस्किल हुन गरेको छ । हवाई टिकटका लागि पहुँचवालालाई दिने गरिएको छ । साधारणलाई विमान कम्पनीका एजेन्टले सिधै नाईनास्ती गर्ने गरेको हुम्ला सिमकोट गाउँपालिका–४ का शेरबहादुर रोकायले बताए । ‘हामीलाई टिकट नै छैन् भनिन्छ,’ उनले भने,‘हवाई टिकटका लागि सधै सांसद, सिडियो, ठुलाठालुको भर पर्नुपर्ने बाध्यता रहेको छ ।’
हवाई टिकटका लागि मन्त्रीको समेत पावर लगाउनु पर्ने बाध्यता रहेको र साधारण नागरिक त विमानस्थलबाट फर्किनुबाहेक अन्य विकल्प नभएको डोल्पा त्रिपुरासुन्दरी नगरपालिका नोर्बे लामाले बताए । ‘पहुँचवाला मान्छेहरु एकै दिनमा उड्ने गरेका छन् । एयरलाइन्सका कर्मचारी, पाइलट, सिडिओ, सांसद र मन्त्रीका मान्छेहरु एकदिनमै उड्ने गर्छन् ।’ उनले भने,‘सर्वसाधारणले दुई हप्ता कुर्दा पनि हवाई टिकट पाउने अवस्था रहेको छैन् ।’
कर्णालीका दुर्गम तथा हिमाली जिल्लामा हवाइ यात्रा भर्ने नीजि कम्पनीका विमानका कर्मचारीका बेइमानीका कारणले यात्रुहरुलाई समस्या हुने गरेको स्थानीय बताउँदै आएका छन् ।
यात्रु चाप बढी
कर्णालीका हिमाली जिल्ला हुम्ला, डोल्पा, मुगु र जुम्लामा दशैं तिहारका बेला घरमा गएका फर्किनेक्रम बढेको ती विमानस्थलमा यात्रुको चाप बढी रहेको छ ।
मुगुमा राराताल घुम्न आउने पर्यटक, हुम्लामा मानसरोवर जाने पर्यटक र डोल्पामा से–फोसण्डो ताल हेर्न जाने पर्यटक दशैमा घरमा टिका थापेर फर्किने विद्यार्थी तथा कर्मचार र व्यापारीका कारणले विमानस्थल व्यस्त भएका छन् ।
यी विमानस्थलहरुबाट नीजि कम्पनीका विमानहरुले दैनिक दुईदेखि तिन उडान भर्ने गरेको भएपनि हवाई टिकट पाउनका लागि समस्या हुने गरेको मुगु ताल्जा विमानस्थलमा होटेल व्यवसाय संञ्चालन गरेका रातु बमले बताइन् । ‘पर्यटक तथा अन्य कामले फर्किनेको विमानस्थलमा घुइचो नै लाग्ने गरेको छ ।’ उनले भनिन्,‘तर, टिकट पाउन मुस्किल रहेको छ ।’
दैनिक हवाई यात्रा गर्ने दुई सयदेखि तिन सय जना हुने गरेको र त्यसमध्ये विमानहरुले दैनिक ५० देखि ६० जनासम्मलाई मात्र यात्रा गराउने गरेका छन् ।
टिकट नपाउँदा विरामीलाई समस्या
विमानको टिकट नपाउँदा दिर्ग रोगका विरामी तथा आकस्मिक उपचार गर्नुपर्ने बिरामीलाई सास्ती हुने गरेको छ ।
खार्पुनाथ गाउँपालिका– १ प्युस गाउँका ६० वर्षीय वीरजित शाही दम रोग लागेको र उनलाई थप दमले च्यापेपछि हुम्ला जिल्ला अस्पताल सिमकोटले कर्णाली प्रादेशिक अस्पताल सुर्खेत रिफर गरेको उनले हवाई टिकट नपाउँदा आफन्तहरुले हुम्ला विमानस्थलमा ल्याउने र पुनः फर्काउने गरेका छन् ।
विमानस्थलमा हवाई जहाजको टिकट नपाउँदा रिफर गरिएको विरामीलाई उपचारका लागि समस्या भएको उनका ज्वाई खडकबहादुर शाहीले बताए । ‘विमानको टिकट नपाउँदा समस्या भएको छ,’ उनले भने,‘दमका दीर्घ रोगी सुसुराको उपचार गर्नका लागि अहिले पनि धाइरहेको छु ।’