७ बैशाख २०८१, शुक्रबार

डोल्पाका पाँच पालिकाका ४० वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न


डोल्पा । नेपाली कांग्रेस डोल्पाले जिल्लाका पाँच स्थानीय तहका ४० वडामा अधिवेशन सम्पन्न गरेको छ । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका, ठुलिभेरी नगरपालिका, काइके, मुड्केचुला र जगदुल्ला गाउँपालिकाका ४० वटा वडामा अधिवेशन सम्पन्न भएको हो ।

क्रियाशील सदस्यता विवादका कारण लामो समयदेखि रोकिएको वडा अधिवेशनमा सम्पुर्ण वडामा सर्वसम्मत नेतृत्व चयन भएको नेपाली कांग्रेस डोल्पाले जनाएको छ । उपल्लो डोल्पाका शे–फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङ्सोङ गाउँपालिकामा भने अधिवेशन भएको छैन ।

पार्टीको संगठन भएपनि समयको अभाव, भौगोलिक कठिनाइ र जनशक्ति परिचालनमा समस्या हुँदा उपल्लो डोल्पामा वडा अधिवेशन गर्न नसकिएको सभापति अंगतकुमार बुढाले बताए ।
उनले जगदुल्ला गाउँपालिकाको १ र ३ नम्बर वडामा अधिवेशन भइसकेको र बाँकी वडामा गर्ने तयारी भइरहेको जानकारी दिए ।

वडा अधिवेशनमा अल्पसङ्ख्यक, अपाङ्गता भएका र दलित महिला प्रतिनिधिहरु पाउनै मुस्किल भएको डोल्पा कांग्रेसले जनाएको छ।