२२ बैशाख २०८१, शनिबार

पश्चिम नेपालमा रहेका पंचदेवल कसले निर्माण गर्यो, किन हुन सकेनन् संरक्षण



सुर्खेत । धार्मिक, ऐतिहासिक, सामाजिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिएका पश्चिम नेपालका अछाम, कालिकोट र दैलेख जिल्लामा रहेका बिभिन्न पंचलदेवल अहिले ओझेलमा परेका छन् । अछाम जिल्ला पंचदेवल विनायक नगरपालिका–१ विनायक, कालिकोटको खाँडाचक्र नगरपालिका–२ मान्म, सान्नी त्रिवेणी गाउँपालिका–६ को मेहलुमडी र दैलेख नारायण नगरपालिकामा रहेको पंचदेवल ओझेलमा परेका हुन् ।
उचित संरक्षण र प्रचार प्रचारको अभावमा यी पंचदेवलहरु ओझेलमा परेको छन् । ऐतिहासिककालका निर्माण भएका यी पंचदेवलहरुको बिषयमा कसैले पनि संरक्षणमा उचित ध्यान नदिदाँ ओझेलमा पर्ने अवस्थामा आइपुगेका हुन् ।
पश्चिम नेपालका अछाम, कालिकोट र दैलेख जिल्लामा रहेको रहेका पंचदेवलहरु पाँच भाइ पाण्डवले महाभारत युद्धका बेला निर्माण गरेको जनश्रृति पाइन्छ । द्धापर युगमा पंचदेवल महाभारत युद्धकालिन समयमा कौरवहरुसँग सबै राज्य हारेपछि तेह्र बर्ष वनबास र एक बर्ष गुप्तबास रहेको बेला पान्डवहरु विभिन्न ठाँउमा लुकेर एक रात मात्र बस्थे । त्यसैक्रममा आफुहरु बस्नका लागि पंचदेवल निर्माण गरिएको पौरणिक कथा सुनिन्छ ।
खास बनायो कसले
यी पंचदेवलहरु पाँभ भाई पाण्डवका नभई ऐतिहासिककाल सिंजाका मल्ल राजाहरुले बनाउन लगाएको आफ्ना शिलालेखहरु राख्न लगाएको इतिहास पाइन्छ । ऐतिहासिककालमा सिंजाका खस राजाहरुको ग्रिमकालिकान राजधानी सिंजा र
अछाम जिल्लाको पंचदेव विनायक नगरपालिका–६ को विनायकमा रहेको पंचदेवलमा शाके १२०२ बि.स. १३३७ मा खस राज्यका राजकुमार अक्षम मल्लले पंचदेवलको निर्माण गरेको र यो ५ वटा देवल रहेको पंचदेवलको तेस्रो केवलका प्रवेशद्धारको तोरणशीलामा उत्कीर्ण गरिएको लेखिएको अभिलेख अनुसार इतिहासविद योगी नरहरिनाथले आफ्नो पुस्तकमा यो प्रमाणित गरेको स्थानीय कमल रावलले जानकारी दिए ।
अभिलेखमा ‘ॐ स्वस्श्रिमतः अक्षयमल्ल देवस्थल सपरिवारा
चिरंजयंतु आत्मन्निभिन्ताधै एकतारसा
पुरुषा निभिनानजैराज प्रासाद करायो शाके
१२०२ सुत्रधार नागदेव नाम कमायो ।’ उल्लेख गरिएको छ ।
करिब ८ सय बर्ष पुरानो पंचदेवलको कुनै पनि बेला संरक्षण प्रयास नभएको स्थानीयबासीको गुनासो रहेको छ ।
कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिकाको मान्म, सान्नी त्रिवेणी गाउँपालिकाको मेहलमुडी, कालिका गाउँपालिकाको सुककाटिया रहेका ऐतिहासिक पंचदेवल तत्कालिन सिंजा राज्यका मल्ल राजाहरुले निर्माण गरेको खाँडाचक्र नगरपालिका–२ मान्म (तत्कालिन मान्म गाविस) का पूर्व अध्यक्ष अजबहादुर शाहीले बताए । ‘यो पंचदेवलहरु बाईसे राज्यमा शान्नि राज्यको विशेष ईतिहांस बोकेको थलो हो । योगी नरहरिनाथका अनुसार यो १३१४ मा निर्माण भएको हो ।’ उनले भने,‘त्यसबेला यहाँ मल्ल राजाहरुले आफ्नो उपस्थिति जनाउनका लागि निर्माण गरेका हुन् ।’
त्यस्तै, संयुक्त राष्ट्रसंघीय (युनेस्को)ले नौ सय बर्ष अघि साके सम्बत १३२१ मा निर्माण गरिएको भन्दै विश्व सम्पदा सुचीमा सुुचिकृत गर्न नेपालको पुरातत्व विभागलाई सिफारिसको आधारमा यसको निर्माण पनि जुम्ला सिंजाका खस राजाहरुले नै गरेको प्रमाणित हुन्छ । त्यसबेला जुम्लाका सिंजाका खस राजाहरुको शितकालिन राज्य दैलेखको दुल्लुमा रहेको थियो ।
संरक्षणमा स्थानीय सरकार
यी ऐतिहासिक देवलहरुको मर्मतमा स्थानीय सरकारहरु लागेको भएपनि पुरातत्वका ऐतिहासिक संरचनाहरु पुरातत्व विभागले लिनुपर्ने उनीहरुको माग रहेको छ ।
इतिहासको साक्षीका रुपमा रहेको रहेको पंचदेवललाई उचित संरक्षणको अभावमा जिर्ण बन्दै गएकोले यसलाई संरक्षण गर्नका लागि नगरपालिकाले तयारी थालेको पंचदेवल विनायक नगरपालिका उपप्रमुख अम्बिका चलाउनेले बताइन् । ‘संरक्षणको अभावमा जिर्ण बन्दै जान थालेको छ । संरक्षणका लागि नगरपालिकाले लगानी गरेको छ ।’ उनले भनिन्,‘ऐतिहासिक र पर्यटकिय हिसाबले पंचदेवलको राम्रो संम्भावना रहेको भएपनि संरक्षण नहुदाँ समस्या यसको प्रचार प्रसार र संरचनाको संरक्षण गर्ने जिम्मा पुरातत्व विभागले लिनुपर्छ ।’
सान्नी त्रिवेणी गाउँपालिका–६ को मेहलमुडीमा रहेको पंचदेवल पाँच वटा देवल पुरै कलात्मक र आकर्षक भए पनि संरक्षणमा ध्यान नजानुले माटो र झारपात पुरिने अवस्थामा रहेको गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले बताए । ‘मेहलमुडी रहेका देवलहरु पुरिन थालेका छन् ।’ उनले भने,‘संरक्षणका लागि पुरातत्व विभागलाई लिन आवश्यक रहेको छ ।’
कालिकोटको मान्ममा रहेको देवलहरुको बिषयमा जिल्ला वाहिर प्रचार प्रसारका लागि आफुहरुले देवललाई झनै आर्कषक बनाउन लागि परेका नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले बताए । ‘कालिकोटमा रहेका पंचदेवलको संरक्षणका यसको प्रचार प्रसार हुन सकेको छैन् ।’ उनले भने,‘यसको संरक्षण र प्रचार प्रचारको आवश्यकता रहेको छ ।’
दैलेखको नारायाण नगरपालिका रहेको पंचदेवल क्षेत्रको संरक्षणका लागि डिपिआर तयार गरिएको त्यस अनुसार यसको संरक्षण गरिदै लगिने नारायण नगरपालिका–६ का वडा अध्यक्ष प्रकाश न्यौपाने बताए ।