२१ बैशाख २०८१, शुक्रबार

तालिमपछि स्वरोजगार बन्दै जाजरकोटका मुक्त हलिया



सुर्खेत । जाजरकोटको छेडागाड नगरपालिका–१३ कार्कीगाउँकी सेतु सार्कीले गाउँमै खाजा पसल सञ्चालनको तयारी गरेकी छिन् । जनरल कुकको ६० दिने तालिम लिएपछि सार्कीले गाउँमै पसल सञ्चालनको तयारी थालेको बताईन् ।
जनरल कुकको तालिमबाट सिकेका सीपलाई व्यवहारमा प्रयोग गरी आयआर्जन बढाउन खाजा पसल खोल्न थालेको उनले बताईन् । ‘सरकारले मुक्त हलिया घोषणा गरेपनि जग्गा तथा जमिन वा रोजगारीको व्यवस्था नगर्दा कठिन भएको थियो । तालिमबाट सिकेको सीपलाई व्यवहारमा उतार्न पाउँदा आयआर्जन बढ्ला भन्ने लागेको छ’ उनले भनिन् ।


विकजस्तै जाजरकोट छेडागाड नगरपालिका–१३ कार्कीगाउँकै वीरबहादुर खत्रीले आर्क वल्डिङ तालिम लिएपछि गाउँमै ग्रिल उद्योग शुरु गरेका छन् । उनले ५ लाख लागतमा सञ्चालन गरेको उक्त उद्योगबाट पहिलो महिना झण्डै ३५ हजार कमाएको बताए । ‘ग्रिल उद्योगबाट राम्रो आम्दानी भएको छ’ उनले भने, ‘यसैमा मैले आफ्नो समृद्धी देखेको छुँ ।’ उनले भने,‘सीप सिकेर व्यवहारमा लागु गर्दा रोजगारीका लागि अन्यत्र भौतारिनु पर्दैन् ।’
खत्रीले आफुसँगै तालिम लिएका अन्य ५ जनालाई आफ्नो ग्रिल उद्योगमा रोजगारी दिएको बताए । ‘मैले आफ्नो आयआर्जनको बाटो मात्र पएको छैन्’ उनले भने, ‘अन्यलाई रोजगारी दिदाँ झनै खुःसी लागेको छ ।’ त्यस्तै, जाजरकोट कुशे गाउँपालिका–४ डम्बरबहादुर नेपाली बाख्रापालन तालिम लिएका छन् । बाख्रापालन तालिम लिएपछि उनले गाउँमा नै व्यवसायिक बाख्रापालन गर्न थालेका छन् ।
बाख्रापालनबाट पनि राम्रो आम्दानी हुने भएकाले अहिले गाउँमा नै बाख्रापालनको तयारी गरेको त्यसका लागि आफुले पशुपालन फार्मको दर्ता गरेको नेपालीले बताए । ‘बाख्रापालनका लागि अहिले फार्म दर्ता गर्दैछु ।’ उनले भने,‘त्यसका लागि उनले फार्म दर्ता गरि लगानी जुटाउन लागेको छुँ ।’


पछिल्लो समयमा सुर्खेत र जाजरकोट जिल्लामा अन्र्तराष्ट्रिय श्रम संगठन (आईएलओ) आर्थिक सहयोगमा मुक्त हलिया राष्ट्रिय महासंघको साझेदारीमा न्युनतम सुबिधा बिहिन बालबालिकाका लागि शैक्षिक कार्यक्रम(युसेप नेपाल)ले सञ्चालन गरेको सीपमूलक तालिममा सहभागी भएपछि विकलगाएत आर्य आर्जनका लागि अग्रसर बनेका छन् ।
जाजरकोट र सुर्खेत जिल्लामा संस्थामार्फत दुई वर्षको अवधिमा २ सय ५ जनाले बाख्रापालन, वेमौसमी तरकारी खेती, हाउस पेन्टिङ, मेसन, टायलमार्बल फिटिङ्ग, मोवाइल मर्मत, जनरल कुक, हाउस वाइरिङ्ग, अटोरिक्सा मर्मत लगाएतका सीपमुलक तालिमहरु सञ्चालन गरेको थियो ।
सरकारले मुक्त घोषणा गरेका मुक्त हलिया परिवारलाई आय आर्जनमा सहयोग पु¥याउन सीपमुलक तालिम प्रदान गरिएको युसेप नेपालका कार्यक्रम संयोजक सञ्जिव खड्काले बताए । ‘दुई बर्षमा सुर्खेत र जाजरकोटका २ सय भन्दा बढी परिवारलाई सीपमुलक तालिम प्रदान गरिएको छ’ उनले भने, ‘तालिम लिएका सहभागीलाई रोजगारीमा लगाउने काममा पनि हामीले सहयोग गर्छौ ।’


स्थानीय बजारको माग अनुसार तालिमहरु छनोट गरिएकोले तालिम प्राप्त सबै जनशक्तिलाई काममा लगाउन सकिने युसेपका जिल्ला संयोजक खगेन्द्र भट्टराईले बताए । ‘स्थानीय आवश्यकता र सहभागीको माग अनुसार तालिम सञ्चालन गरिएकोले तालिम पछि सबैलाई रोजगारीमा लगाउनमा पनि सहयोग गर्ने गरिएको छ’ उनले भने, ‘अघिल्लो बर्ष तालिम लिएकाहरु पनि प्रायः आय आर्जनमा लागेको पाइएको बताए ।
तालिम पछि सहभागिहरु स्वरोजगारमा लाग्दा पनि राम्रो गरेको र अरुकोमा काम गर्दा पनि राम्रो पारिश्रमिक पाउने गरेको उनीहरुके भोगाई छ । मालिकको खेतमा हलो जोतेर परिवार पाल्दै आएका हलियालाई सरकारले मुक्त घोषणा गरे पनि आयआर्जनको उचित प्रबन्ध नहुँदा पुनः हलिया बस्नु पर्ने वा साहुको ऋण गाडेर पेट पाल्नु पर्ने अवस्था सिर्जना भएको उनीहरु बताउँछन् ।


२०६५ सालमा सरकारले हलिया मुक्त घोषणा गर्दा जाजरकोटका ४ सय ४४ जनाले मुक्त भएको परिचय पत्र पाएका थिए । मालिकको खेतमा हलो जोतेर घरपरिवार पाल्दै आएका मुक्त हलियाको पुर्नस्थापना हुन नसकेपछि मुक्त हलियाहरु समस्यामा परेका छन् ।
सुर्खेत र जाजरकोटका मुक्त हलियाहरु पुर्नस्थापना हुन नसक्दा उनीहरु समस्यामा परेका छन् । कर्णाली प्रदेशका १० जिल्लामध्ये हुम्ला १४२१, जाजरकोटमा ४४४ र सुर्खेतमा ८२६ जना रहेका छन् ।