९ जेष्ठ २०८१, बुधबार

भोकको आगोले गिट्टी कुट्न बाध्य मुगुका महिला


मुगु । पुसको चिसो । घरबाहिर निस्कनै पनि हतपत जागर चल्दैन । तर, मुगु छायाँनाथ रारा नगरपालिका–५ ढुमगाउँका दलित महिला बिहान उज्यालो हुँदा नहुँदै हातमा हथौडा, टाउकोमा रुमाल, मुखमा मास्क लगाएर घरबाट निस्कन्छन् । यो दैनिक उनीहरूको अहिले मात्रै होइन । के जाडो के गर्मी, हरेक मौसममा उनीहरू उज्यालो हुँदासम्म गिट्टी कुट्न थालिहाल्छन् । यही कामबाट उनीहरूले वर्षौदेखि परिवार पालिरहेका छन् ।

ढुमगाउँकी रन्नदेवी विकलाई बिहान उठ्ने बित्तिकै आज कुन ठाउँ जाउ, के गरु, के खाऔँ, के लाऔँ भन्ने चिन्ता हुँदैन । सिर्फ चिन्ता हुन्छ त गिट्टी कति कुट्ने भन्ने मात्रै ।तर पनि बर्षौदेखि उनी यही काम गर्न बाध्य छिन । यस्तो बाध्यता रन्नादेवीलाई मात्रै होइन मुगुका अधिकांश दलित महिला ढुंगा फुटाएर घर परिवार चलाइरहेका छन् ।

विशेषगरी छायाँनाथ रारा नगरपालिकाको थार्प, रुगा, लुम, ढुम, तलितुमलगायत गाउँका दलित महिलाको जीवन धान्ने माध्यम गिट्टी कुटान बनिरहेको छ । छायाँनाथ रारा नगरपालिका-५ की २६ वर्षीया रामति कामी घरबाट बिहानै निस्केर बेलुका अबेर मात्रै फर्किन्छिन् । उनी सदरमुकाम गमगढी बजार आसपास गिट्टी फोड्ने गर्छिन् । कामीले भनिन्, ‘गिट्टी कुटेर मासिक १० हजारसम्म आम्दानी हुने गर्छ । यही आम्दानीले घर खर्च, छोराछोरीको पठनपाठन गरिरहेकी छु ।’ उनले गिट्टी कुट्न लागेको करिब १० वर्ष भइसकेको बताइन् ।

४० वर्षीया रन्नदेवि विकले श्रीमानले पनिसँगै गिट्टी कुट्ने गरेको बताइन् । ‘हाम्रो रोजगारी भनेकै यही हो । श्रीमानश्रीमतीले गिट्टी कुट्दा महिनाको २० हजार रुपैयाँसम्म कमाइ हुन्छ,’ उनका श्रीमान नारायण सिंह कामीले भने ।

बालमन्दिर आधारभुत विद्यालय चैन गाउँमा कक्षा ३ मा अध्ययनरत ११ वर्षीया बालिका भैपुरा कामी आमाकाकीसँगै गिट्टी कुट्न बजारमा पुग्छिन् । उनी पनि रहरले गिट्टी कुटन आएकी होइनन् । पढाई खर्चको जोहो गर्न आएको बताइन् । उनले कापीकलम किन्ने पैसा गिट्टी कुटेरै जोहो गरेको बताइन् । घरबाट गिट्टी कुट्न निस्कदा हथौडा बोकेर निस्कुन्छु तर साथीहरू किताबकापी, झोला बोकेर विद्यालयतर्फ निस्कन्छन् । त्यो देखेर आशु झर्ने गरेको उनले सुनाइन् ।

मुगुका अधिकांश बेरोजगार युवती र महिला घर खर्च चलाउन निजी र सरकारी भवन निर्माणमा सामेल हुँदै आएका छन् । तर, काम गरे अनुसारको पारिश्रमिक नपाएको उनीहरूको गुनासो छ । घर चलाउनका लागि उनीहरू न्यून पारिश्रमिकमै भए पिन काम गर्न बाध्य छन् । निर्माणको काममा महिलालाई न्यून पारिश्रमिक दिने गरेको उनीहरूको दुखेसो छ । महिलाले एक कट्टा गिट्टीको ५० देखि ६० रुपैयाँ मात्र पाउँछन् । उनीहरूले दिनभरिमा बढीमा तीन कट्टा गिट्टी फोड्छन् ।