१९ बैशाख २०८१, बुधबार

कालीकोटमा संगठन विस्तारमा गर्दै एकीकृत समाजवादी


सुर्खेत । कालीकोट जिल्लामा नेकपा(एकीकृत समाजवादी)ले संगठन बिस्तार गर्न अभियान नै सञ्चालन गरेको छ । जिल्लाका नौ वटै स्थानीय तहका ८२ वटा वडामा संगठन बिस्तार गर्नका लागि संगठन विस्तार तथा प्रशिक्षण अभियान सञ्चालन गरेको हो ।
कालीकोट नौ वटै स्थानीय तहमा संगठन निर्माण गरिएको र जिल्लाका ८२ वडामध्ये ७१ वडा कमिटी गठन गरिएको एकीकृत समाजवादीका जिल्ला अध्यक्ष विश्वराज बमले जानकारी दिए । ‘बाँकी रहेका ११ वटा वडा कमिटी पुस मसान्तसम्म गठन गरि सक्ने योजना रहेको छ ।’ उनले भने,‘नौ वटै स्थानीय तहमा यसभन्दा अघि नै पालिका स्तरीय कमिटी निर्माण भइसेका छन् ।’
एकीकृत समाजवादीले देशभर संगठन विस्तार तथा प्रशिक्षण अभियान चलाएको त्यसै अन्र्तगत कालीकोटमा संगठन विस्तार अभियानलाई तिब्रता दिइएको अध्यक्ष बमले जानकारी दिए । ‘हामीले टोल, वडा, पालिका, प्रदेश निर्वाचन क्षेत्रमा संगठन विस्तारलाई तिब्रता दिएका छौं ।’ उनले भने,‘आगामी पुस मसान्त भित्र पार्टी सदस्यता वितरण र सम्पूर्ण तहका कमिटी बनाइसक्छौं ।’
कालीकोट जिल्लाका दुई प्रदेश निर्वाचन क्षेत्रमा प्रदेश सभा निर्बाचन(क)मा श्रीबहादुर शाहीको अध्यक्षतामा ३५ सदस्यीय र प्रदेश सभा निर्वाचन क्षेत्र (ख)मा अग्रबहादुर बोगटीको अध्यक्षतामा ४५ सदस्यीय प्रदेश सभा निर्वाचन क्षेत्र कमिटी गठन गरिएको अध्यक्ष बमले जानकारी दिए ।
अध्यक्ष बमका अनुसार खाडाँचक्र नगरपालिकामा कृष्ण मल्ल अध्यक्षतामा ७५ सदस्यीय, राष्कोट नगरपालिकामा राजेन्द्रनाथ योगीको अध्यक्षतामा ८५ सदस्यीय, तिलागुफा नगरपालिकामा पुर्णबहादुर शाहीको अध्यक्षतामा ७५ सदस्यीय, नरहरिनाथ गाउँपालिकामा गंगबहादुर बुढाको अध्यक्षतामा ७५ सदस्यीय, सान्नि त्रिबेणी गाउँपालिकामा यज्ञराज शाही अध्यक्षतामा ६५ सदस्यीय, पचालझरना गाउँपालिकामा पौरख बिक(दंगली)को अध्यक्षतामा ६५ सदस्यीय, पलाँता गाउँपालिकामा छत्रबहादुर बमको अध्यक्षतामा ६५ सदस्यीय, शुभकालिका गाउँपालिकामा रेशम आचार्यको अध्यक्षतामा ८५ सदस्यीय र महाबै गाउँपालिकामा दर्शन शाहीको अध्यक्षतामा ७५ सदस्यीय पालिका स्तरीय कमिटी गठन गरिएको छ ।
त्यस्तै, २८ वटा विभिन्न विभाग गठन गरिएको र ९५ वटा टोल कमिटी गठन गरिएको अध्यक्ष बमले बताए ।