१५ बैशाख २०८१, शनिबार

खार्पुनाथ–च्वाखोला–टापुलेख जोड्ने भितगौँडाको काम सुरु


हुम्ला । खार्पुनाथ–च्वाखोला–टापुलेख जोड्ने सडकअन्तर्गत भितगौँडाको कडा चट्टानी भाग छिचोल्ने कामले तीव्रता पाएको छ । ०७६ असोजमा सम्झौता भएको यस सडकको चट्टानी भाग छिचोल्ने कामले दुई वर्ष बितेपछि तीव्रता पाएको हो ।

लामो समयदेखि विस्फोटक पदार्थ अभावले भितगौँडाको काम रोकिएको पूर्वाधार विकास कार्यालय हुम्लाका कार्यालय प्रमुख देवी ऐडीले जानकारी दिए । चार मिटर कडा चट्टान छिचोल्न १५ महिनापछि विस्फोटक पदार्थ बल्ल उपलब्ध गराउन सफल भएको उनले बताए । मौसमी वर्षा, हिमपात, कोभिडजस्ता समस्या आएपछि निर्माण सामग्री उपलब्ध गराउन ढिला भएको ऐडीले भने ।

उनका अनुसार भितगौँडाको कडा चट्टानी भाग अबको दुई–तीन महिनाभित्रै छिचोलेर सकिनेछ । यो क्षेत्रमा अझ कडा चट्टान भएकाले काम गर्न कठिनाइ भएको उनले बताए । चट्टानी भाग छिचोल्ने काम ढिलासुस्ती भएपछि स्थानीयलाई समेत आवतजावतमा समस्या हुँदै आएको छ ।