४ जेष्ठ २०८१, शुक्रबार

कार्यालय सहयोगीको भरमा भन्सार कार्यालय, दुई वर्षदेखि राजश्व संकलन शून्य


मुगु । हिमाली जिल्ला मुगुको एक सरकारी कार्यालय दुई वर्षदेखि सहयोगीको भरमा सञ्चालन हुँदै आएको छ । जिल्लाको एक मात्रै अन्तरदेशीय नाका नाक्चेलाग्ना भन्सार कार्यालय करिब दुई वर्षदेखि कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएको हो ।

जिल्लाको पूर्वी नाका नाक्चेलाग्ना भन्सार कार्यालयमा कर्मचारीहरू नहुँदा दुई वर्षयता दुई जना कार्यालय सहयोगीको जिम्मामा छ ।

उक्त कार्यालयमा दरबन्दीअनुसार नायब सुब्बा र खरिदार हुनुपर्ने हो । तर, दरबन्दीअनुसार कर्मचारी नहुँदा कार्यालय सहयोगीले चलाइरहेको कोष तथा लेखा नियन्त्रण कार्यालय मुगुले जनाएको छ ।

कार्यालयका अनुसार भन्सार कार्यालयहरूलाई सरकारको लक्ष्य पूरा गर्नुपर्ने दायित्व पनि हुन्छ । तर, यहाँको कार्यालयको भने गत वर्ष र यस वर्ष राजश्व संकलन शून्य रहेको कोष तथा लेखा नियन्त्रण कार्यालय मुगुका कार्यालय प्रमुख लक्ष्मीचन्द्र हमालले बताए ।

भन्सार कार्यालयमा वर्षको एकपटक सीमानाकामा हाट बजार लाग्ने गथ्र्यो अहिले हाट बजार पनि लाग्न छोडेको छ ।

दुई ठाउँमा कार्यालय स्थापना
जिल्लामा दुई वटा भन्सार कार्यालयको छन् । सीमा नाका मुगुगाउँमा रहेको एक व्यक्तिगत घरमा र अर्को सदरमुकाम गमगढी बजारमा घर भाडा लिई कार्यालय चलाइएको छ ।

यहाका कतिपय स्थानीयलाई भन्सार कार्यालय कहाँ छ ? कस्तो छ ? के गर्छ ? भनेर अत्तोपत्तो समेत छैन । उनीहरूले कार्यालय बारे थाहानै भनएको र नाम मात्र सुनेको बताए ।