८ बैशाख २०८१, शनिबार

बारीको पाठशाला सिकाउँछ कला ?



सुर्खेत । परम्परागत रुपमा आलु खेती गर्दै आएका पातारासी गाउँपालिका–५ लोर्पाका स्थानीयहरुलाई आफ्नो १० गुणा बढी उत्पादन देखेर अचम्म लागेको छ । २०७७ साल चैत ३ गतेदेखि सूरु भएको बारी पाठशाला कारितास जर्मनको आर्थिक सहयोग तथा कारितास नेपाल र पेस नेपाल जुम्लाको साझेदारीमा संचालन भएको एकीकृत खाद्य सुरक्षा, विपद जोखिम न्यूनिकरण तथा जलवायु परिवर्तन अनुकुलन कार्यक्रममार्फत सञ्चालन भएको थियो ।

पातारासी गाउँपालिका आलुको पकेट क्षेत्र मानिन्छ । स्थानीयहरुले परम्परागत तरिकाले आलु लगाउने गरिरहेको पाइन्छ । स्थानीयहरुले बिउँ कस्तो लगाउने, कसरी लगाउने, कति समयमा यसको गोडमेल गर्ने, मलको प्रयोग कसरी गर्ने, यसमा रोग किरा लाग्यो भने के गर्ने आदि कुरा प्राविधिकको सहयोग नलिई आफ्नो पुरानै तरिकाले लगाउने गरेको पाइएता पनि सोचेजस्तो उत्पादन हुन सकेको थिएन । आलु लगाउने प्राविधिक तरिकाको अनुभव थिएन, आलु खेती उत्पादन गाउँघरमा मिलेर सामुहिक रुपमा गर्दा उत्पादन १० गुणा बढि भएको स्थानीय लग्नुमाया बुढा बताइन् ।

स्थानीय ३५ जना महिलाहरुको इन्द्रेणी आलु कृषक पाठशाला समुह गठन गरि ५ समुहमा विभाजन गरि प्रत्येक समुहको संयोजक चयन गरि काम बाँडफाँड गरि नियमित प्राविधिकको मार्गनिर्देशन अनुसार आलु खेती गरिएको थियो । जहाँ विउ १ क्विन्टल ३० के.जी. लगाएकोमा ९ क्विन्टल ५५ के.जी.आलु उत्पादन भएको छ ।

समुहमा काम गर्दा सामुहिक उत्सुकता जाग्यो, खुसी लाग्यो समूह सदस्य दिपा विष्टका श्रीमान तंगराज विष्टले बताए ।

उत्पादन भएको ९ सय ५५ के.जी.आलु आगामी वर्षमा सबैले व्यक्तिगत रुपमा प्रविधि अनुसार खेती गर्ने उद्देश्यले सहभागीहरुविच बाँडेर बिउँ राखेको समूहकी सदस्य सन्तकली बुढाले बथाइन् । ‘आलु लगाउन नि किन पाठशाला चाहियो, सियोमै हालेपनि आलु त फल्छ भन्ने सोच राख्ने हामीलाई यो पाठशालाले सामुहिक रुपमा काम गरे के हँुदैन ।’ उनले भनिन्,‘मिलेर काम गर्दा सिक्ने जागरुकता भए सिकाई राम्रो हुँदोरहेछ ।’

आलुको पकेट क्षेत्र मानिए पनि परम्परागत शैलिको खेतिले दुःख गरे जस्तो आम्दानी हुँदैन । परिश्रम खेर जान्छ । तर यसरी पाठाशाला मार्फत दक्षतासहित आलु खेती गर्ने हो भने आम्दानीको लागि भौतारीनु नपर्ने पक्काछ ।