२१ बैशाख २०८१, शुक्रबार

३३ प्रतिशत महिला उम्मेद्वार सुनिश्चित गर्न माग


सुर्खेत । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला उम्मेद्वार बनाउन महिला नेतृहरुले माग गरेका छन् । कर्णाली फाउण्डेसनले शुक्रबार वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनीहरुले महिलालाई समानुपातिकमा मात्र सीमित नगर्न समेत आग्रह गरे ।
कैलालीबाट निर्वाचित निवर्तमान सांसद लक्ष्मी चौधरीले महिलाहरु राजनितिमा सक्षम भए पनि केही अन्धविश्वास र परम्परागत सामाजिक मान्यताले पछाडि परेको बताईन् । संविधानमा महिला सहभागिता सुनिश्चितता गरिए पनि व्यवहारमा कुनै पनि राजनितिक दलले कार्यान्वयन नगरेको उनको भनाई छ । ‘संविधानले राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको भए पनि कार्यान्वयनका लागि पार्टीभित्रै लड्नु परेको छ’ उनले भनिन्, ‘हरेक पार्टीमा कोटा पुरा गर्न मात्र महिला सहभागिता देखाउने गरिएको छ ।’
महिलाहरु प्रत्यक्षमा चुनाव लड्न सक्षम भए पनि दलहरुले आर्थिक हिसाब खोज्ने गरेको गुनासो गरिन् । ‘हामीले प्रत्यक्षमा चुनाव लड्न खोज्दा महिलाले पैंसा खर्च गर्न सक्दैनन् भनेर टिकट नै दिइन्न, महिलालाई विश्वास नै नगर्ने नेतृत्वका कारण समस्या भएको छ’ उनले भनिन् । नेपालका सबै राजनितक दलले प्रत्यक्षतर्फ पनि ३३ प्रतिशत महिलालाई टिकट दिएर प्रतिस्पर्धा गराउनुपर्ने बताइन् ।
दैलेखबाट समानुपातिकतर्फ निर्वाचित सांसद पार्वती विसुङ्केले आफूहरु प्रत्यक्षतर्फ चुनाव लड्न तयार रहेको भए पनि दलहरुले पत्याउने अवस्था नभएको बताईन् । महिलालाई समानुपातिकमै सीमित गर्न खोजिएको उनको बुझाई छ । ‘म प्रदेशसभाका लागि प्रत्यक्षतर्फ चुनाव लड्न चाहन्छु । तर नेतृत्वले महिलालाई अवसर दिने संकेत छैन’ उनले भनिन्, ‘प्रत्यक्षमा ३३ प्रतिशत हिस्सा नपाए महिलाले दलभित्रै अन्तरसंघर्ष र विद्रोह गर्नेछौं ।’


नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्यसमेत रहेकी उनले समानुपातिक सांसदलाई संसदमै हेपाह व्यवहार गरिएको अनुभव सुनाईन् । प्रत्यक्ष निर्वाचित र समानुपातिक निर्वाचित सांसदहरुलाई भेदभाव गर्ने गरिएको उनको भनाई छ । बजेट निर्माण र त्यसको कार्यान्वयनका लागि समेत विभेद गरिएको उनको अनुभव छ । दलहरुले युवा र महिलालाई अवसर दिन आनाकानी गर्ने गरेको उनले गुनासो गरिन् ।
दाङबाट समानुपातिकतर्फ निर्वाचित काँग्रेसका सांसद विमला नेपालीले पाँच वर्षसम्म संसदमा काम गर्दा आफूहरु अनुभवी बनेको बताइन् । संसदीय समितिमासमेत काम गरेर ज्ञान हाँसिल गरेको भन्दै उनले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बन्न आफूहरु मानसिक रुपमा तयार रहेको बताइन् ।
‘महिलालाई अब समानुपातिकको सिटमा मात्र सिमित नगरियोस्,’ उनले भनिन्,‘हामीलाई प्रत्यक्षतर्फ पनि टिकट दिइयोस्, यदी पार्टीले प्रत्यक्षमा टिकट नदिए दलभित्रै संघर्ष र विद्रोह गर्न हामी तयार छौं । यस्तो अवस्थामा फरक दलको भए पनि महिला उम्मेदवारलाई जिताउन सबै पार्टीका महिलाहरु एक हुनेछौं, यसतर्फ सबै दलहरु बेलैमा गम्भीर बनुन् ।’ पाँच वर्षसम्म प्रतिनिधिसभामा काम गरेर अनुभव हाँसिल गरेको, जनतासँग निकट रहेको, विकासका मुद्दामा पैरवी गरेको र जित्ने सम्भावना भएकाले पनि आफूले प्रत्यक्षतर्फ टिकट पाउनुपर्ने महिला सांसदहरुको दावी छ । कर्णाली प्रदेश सभा सदस्य पद्मा खड्का र अमृता शाहीले आफ्नो कार्यकालका अनुभव सुनाएका थिए ।