२१ बैशाख २०८१, शुक्रबार

तीन दशक पछि शाक्य र कँडेल चुनावी प्रतिष्पर्धामा


सुर्खेत । २०४९ सालमा स्थानीय निकायको चुनाव हुँदा वीरेन्द्रनगर नगरपालिकाको मेयरका लागि मुख्य चार जना उम्मेदवार थिए। एमालेबाट यामलाल कँडेल, कांग्रेसबाट कालीप्रसाद शाक्य र प्रेमदेव गिरी कांग्रेसबाटै बागी उम्मेदवार थिए। गिरीले पार्टीकै चुनाव चिन्ह लिएर चुनाव लडेका थिए। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भरतप्रसाद ढकाल वीरेन्द्रनगरको मेयरको उम्मेदवार थिए।

अहिले दलभित्र विश्वासिलो नेता मानिने एमालेका कँडेलले मेयरको लागि भएको चुनावी प्रतिस्पर्धामा जीत हात पारे। आफ्नै दलबाट समेत बागी उम्मेदवारको सामना गरेका शाक्य त्यतिबेला मेयर हुन पाएनन्। शाक्य त्यसयता २०७४ सम्म अरू चुनाव पनि लडेनन्। पछिल्लो पटक २०७४ को स्थानीय तहको निर्वाचनमा वीरेन्द्रनगर–२ को वडा सदस्यको लागि चुनाव लडे, तर हारे। २०७४ कै प्रदेश सभाको निर्वाचनमा कँडेले सदस्यमा लडे र जिते।

२०४९ मा मेयरको लागि मुख्य प्रतिस्पर्धी रहेका कँडेल र शाक्य तीन दशकपछि अहिले एउटै चुनावी मैदानमा उत्रिएका छन्। कँडेलले एमालेबाट र शाक्यले गठबन्धन (कांग्रेस) बाट सुर्खेत निर्वाचन क्षेत्र २ (क) बाट कर्णाली प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका छन्।तीन दशकपछि फेरि एउटै चुनावी मैदानमा उत्रिएका कँडेल र शाक्यमध्ये कसको पोल्टामा जनमत पर्छ भन्ने कुरा नतिजाले देखाउला। तर दुवै जना आ–आफ्नै तरिकाबाट जीत दाबी गर्छन्। कांग्रेसका शाक्यलाई गठबन्धनको भर छ।

‘देशको राजनीतिक र आर्थिक परिस्थिति बदल्ने उद्देश्यका साथ बनेको दलहरूबीचको यो चुनावी गठबन्धनले मैले चुनाव हार्नुपर्दैन,’ प्रतिस्पर्धी कँडेललाई लक्षित गर्दै उनले भने, ‘मेरो प्रतिस्पर्धीको कुरामा त उहाँका विगतका संसदीय नेतृत्व नै जनताले मन पराएको देखिँदैन, यसले गर्दा पनि मलाई सहज छ।’

कँडेल शाक्यका मुख्य प्रतिस्पर्धी मात्र हुन्। यसबाहेक गठबन्धनको निर्णयदेखि रूष्ट बनेर उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी) का शिवप्रसाद उपाध्याय पनि उनका अर्का प्रतिस्पर्धी हुन्। उपाध्यायनिकट नेताका अनुसार उनी समाजवादीबाट उम्मेदवार भए पनि केही भोट कांग्रेसबाट आउन सक्छ।

‘पारिवारिक रूपमा पनि उहाँलाई केही भोट त कांग्रेसको आउन सक्छ, बाँकी आफ्नो नेता–कार्यकर्ताको त छँदैछ,’ उनले भने। शाक्यलाई भने उपाध्यायको उम्मेदवारी फिर्ता हुने आशा छ। ‘उहाँहरूले गठबन्धनबाट चित्त नबुझाएपछि पार्टीभित्र भएको आन्तरिक सल्लाहले उम्मेदवार दिनुभएको होला, मलाई आशा छ कि उहाँहरूले गठबन्धनको मर्म बुझ्नुहुन्छ।’ नेकपा (एस) का उपाध्याय शाक्यका मात्र होइनन्, कँडेलका लागि पनि चुनौती हुन्।

तत्कालीन समयमा एमालेमा हुँदा उपाध्याय २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा कँडेलकै बागी उम्मेदवार उठेका थिए। त्यसबेला आफ्नै पार्टीका बागी उम्मेदवारको सामना गरेको कँडेलले कांग्रेसका हृदयराम थानीसँग पराजय भोगे। कँडेल भने प्रतिस्पर्धीको बारेमा आफूले कुनै सरोकार नराख्ने बताउँछन्। ‘कुन दलबाट को उठ्यो, कसले कस्तो प्रभाव राख्छ भन्ने कुरा मेरो सरोकारको विषय भएन,’ उनी भन्छन्, ‘हाम्रो आफ्नो प्रभाव छ।’ कँडेल अहिले नेकपा एमालेको स्थायी कमिटी सदस्य छन्।

उनी यसअघि पनि तीनपटक सांसद, एकपटक पर्यटन मन्त्री भइसकेका छन्। २०५१ को आम निर्वाचन, २०६४ को संविधान सभाको निर्वाचनमा उनी सांसद बनेका थिए। २०७४ को निर्वाचनमा उनी कर्णाली प्रदेश सभा सदस्य बनेका थिए। उनी अहिले नेकपा एमालेको कर्णाली प्रदेश कमिटी इञ्चार्ज पनि हुन्। कँडेलसँग तीन दशकपछि चुनावी प्रतिस्पर्धामा उत्रिएका कांग्रेसका शाक्य २०६२/६३ मा कांग्रेसको सुर्खेत जिल्ला कार्यसमितिमा उपसभापति भएका थिए। त्यसैबेला उनले कार्यबाहक सभापतिको भूमिका पनि निभाए। (सेतोपाटीबाट)