२१ बैशाख २०८१, शुक्रबार

कालीकोट पहिरोमा बेपत्ता २३ मध्ये १९ अझै बेपत्ता


कालीकोट  । अविरल वर्षाले ठाउँठाउँमा पहिरो खस्दा कालीकोट जिल्लाभर बेपत्ता भएका २३ मध्ये सोमबार ४ जनाको शव फेला परेको छ । १९ जना अझै बेपत्ता छन् । यहाँको तिलागुफा ४ राचुलीमा आइतबार दिउँसो मलामी गएका ५२ मध्ये १३ जना बेपत्ता छन् । दुई जना घाइते अवस्थामा बाच्न सफल भएका छन् ।

घाइते स्थानीय टेकराज शाही र अबराज शाहीलाई थप उपचारको लागि हेलिकोप्टरमा सुर्खेत लगिएको छ । आइतबार बिहान साढे १० बजे तिलागुफा ७ बालीगाउँमा गएको पहिरोले घर पुरिँदा बेपत्ता भएका स्थानीय ध्रुवराज विष्टको ५ जनाको परिवारमध्ये २ छोराको शव फेला परे पनि ३ जना अझै बेपत्ता छन् ।

त्यस्तै, खाडाचक्र ८ सेरावाडामा पहिरोले बगाउँदा सुर्खेतमा कार्यरत प्रहरी जवान पदम रावत, तिलागुफा ६ भैंसेगाैडाकी ८० वर्षीया लालका शाही र तिलागुफा ७ बाली बजारमा काम गर्दै आएका भारतीय नागरिक अब्दुल बटु बेपत्ता छन् । पहिरोमा पुरिएका सान्नीत्रिवेणी ८ का १६ वर्षीय केबल केसी (कमल), पचालझरना ७ का ४७ वर्षीय परिलाल बोहोराको शव भेटिएको कालीकोटका प्रहरी प्रमुख जयश्वर रिमालले बताए ।

राचुलीका स्थानीय २२ वर्षीय युवक हेमराज शाहीको शनिबार घरमै मृत्यु भएपछि आइतबार मलामी गएकाहरु तिलानदीको किनारामा दागबत्ती दिँदै गर्दा एक्कासी माथिबाट पहिरो आएपछि बेपत्ता भएको तिलागुफा नगर उपप्रमुख महेन्द्रबहादुर शाहीले बताए । ‘दुखद घटना भयो’ उनले भने ‘मलामी गएकाहरु पहिरोमै परे ।’

प्रहरी प्रमुख रिमालकाअनुसार मलामी गएर पहिरोमा परी बेपत्ता हुनेहरुमा तिलागुफा नगरपालिका ४ का ५६ वर्षीय वडाध्यक्ष परबहादुर शाही, सोही वडाका २३ वर्षीय प्रशान्त शाही, २४ वर्षीय नरेश शाही, ४१ वर्षीय मोतिलाल शाही, ५७ वर्षीय मानवहादुर शाही, २३ वर्षीय खेमराज शाही, ७६ वर्षीय बलिबहादुर शाही, ५५ वर्षीय धनबहादुर शाही, २३ वर्षीय भेषवहादुर शाही, २८ वर्षीय खगेन्द्र शाही, ३६ वर्षीय छत्रजंग शाही, ६३ वर्षीय धनबहादुर शाही र ४७ वर्षीय कालीबहादुर शाही छन् । स्थानीय र प्रहरीले पहिरो वरिपरि खोजी गरे पनि बेपत्ता नभेटिएको स्थानीय कमलबहादुर शाहीले बताए ।

तिलागुफाको राचुली गाउँमा पनि लगातारको वर्षाले २ सय ४ घर परिवार विस्थापित भएर स्थानीय कालिका माविमा बसिरहेको प्रजिअ रामहरि शर्माले बताए । राचुली गाउँमाथिबाट खसेको पहिरोले ९ घर पूर्णरुपमा भत्किएका छन् भने १२ घरमा आंशिक क्षति पुगेको छ । १ सय घर जोखिममा छन् । ‘पहिरो खस्ने डरले सबै घर परिवारका ५ सय जना कालिका माविमा छन्’ तिलागुफा ४ का पूर्व वडाध्यक्ष खडकराज शाहीले भने ‘गाई, गोरु गोठमै छन्, घरबाट चामल ल्याएर स्थानीयले विद्यालयमा खाना खानुपर्ने बाध्यता छ ।’ उनका अनुसार गाउँ वरिपरि पहिरोले आवतजावत पनि बन्द भएको छ ।

वर्षाले सडक, घोरेटा बाटो, विद्यालय भवन, स्थानीयको जग्गा पहिरोले क्षति भएको छ । वर्षाले पाक्न लागेको धान बाली र पशुचौपायामा पनि क्षति पुऱ्याएको पशु अस्पताल तथा पशु सेवा कार्यालय प्रमुख लक्ष्मीप्रसाद अधिकारीले बताए । कालीकोटमा एक सातादेखि केन्द्रीय प्रशारण लाइन पनि अवरुद्ध छ । बत्ती नहुदा टेलिफोन र मोबाइल सेवा पनि अवरुद्ध छ । यसैबीच, जिल्ला विपद् व्यवस्थापन समितिको आकस्मिक बैठक बसी पीडितको खोजी तथा उद्धार र राहातको लागि नेपाल सरकार, कर्णाली प्रदेश सरकार तथा विभिन्न संघ संस्थालाई अनुरोध गर्ने निर्णय गरेको छ ।