२१ बैशाख २०८१, शुक्रबार

कोशीका मुख्यमन्त्री कार्कीले पाए दुई तिहाई बहुमत

राप्रपाका ५ जनाले दिए विपक्षमा मत

कोशी प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूको आ-आफ्नै स्वार्थको बाध्यताको फाइदा मुख्यमन्त्री केदार कार्कीलाई भएको छ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका कार्कीले प्रदेश सभाको ९३ मध्ये ८६ मत प्राप्त गरेका छन्। उपसभामुख सिर्जना दनुवारले मुख्यमन्त्री कार्कीको पक्षमा ८६ मत परेको घोषणा गरिन्। राप्रपाका पाँच सांसदले विपक्षमा मत दिए। राप्रपाका एक जना सांसद बैठकमा अनुपस्थित थिए।

मुख्यमन्त्री कार्कीलाई उनकै दल कांग्रेस (२९), एमाले (३९), माओवादी केन्द्र (१३), एकीकृत समाजवादी (४) र जनता समाजवादी (१) ले विश्वासको मत दिएका हुन्।

गठबन्धनलाई चुनौती दिएर प्रदेशको कार्यकारी प्रमुख बन्न पुगेका मुख्यमन्त्री कार्कीले सबैजसो दलको मत पाएपछि कोशी प्रदेशको सत्ता राजनीति फेरि एकपटक रोचक मोडतिर अघि बढेको छ।

मुख्यमन्त्री नियुक्त भएलगत्तैदेखि कार्कीले कोशीमा गठबन्धन दलहरूसँग छलफल तीव्र पारेका छन्। गठबन्धन दलहरूसँगको छलफलमा मुख्यमन्त्री कार्कीले आफूले गठबन्धनभन्दा दायाँबायाँ नगर्ने प्रष्ट वचन दिएको छलफलमा सहभागी नेताहरू बताउँछन्।