६ जेष्ठ २०८१, आईतवार

भारतमा सडक दुर्घटना हुँदा सुर्खेत चौकुनेको एकै परिवारका ५ जनाको मृत्यु


सुर्खेत । भारतमा सवारी दुर्घटनामा परी सुर्खेतको एकै परिवारका ५ जनाको मृत्यु भएको छ। भारतको कर्नाटक राज्यस्थित कालाबुरागी जिल्लामा पर्ने अजलपुर तालुक भन्ने स्थानमा भएको दुर्घटनामा परी उनीहरूको मृत्यु भएको हो।
दुर्घटनामा परी एकै परिवारका श्रीमानश्रीमती र तीन जना बालबालिकासहित ५ जनाको मृत्यु भएको भारतीय प्रहरीले जानकारी दिएको छ। उनीहरु सबै जना बाइकमा दुधानीबाट अफजपुर गइरहेका थिए।
विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिएपछि उनीहरु पाँचै जनाको घटनास्थलमा नै मृत्यु भएको टाइम्स अफ इन्डियामा समाचार छ। मृत्यु हुनेमा २७ वर्षीय कृष्ण नेवार, उनकी श्रीमती २५ वर्षीया अस्मिता नेवार छन्। उनीहरूका छोराहरू रोहन, मिलन र लखनको मृत्यु भएको भारतीय प्रहरीले जानकारी दिएको छ।
नेपाली परिवार सवार गरेको मोटरसाइकललाई ठक्कर दिने ट्रक चालक भने फरार छन्। यो परिवारले अफजपुरमा फास्ट फुड पसल चलाउँदै आएको थियो। उनीहरू हालै मात्र अफजलपुर सरेका थिए। त्यसअघि उनीहरू बैंगलोरमा रहने गर्दथे।
पाँचै जनाको शव अफजलपुर तालुक अस्पतालमा राखिएको टाइम्स अफ इन्डियाको समाचारमा उल्लेख छ। उनीहरू नेपालको सुर्खेत जिल्ला चौकुने गाउँपालिका-७ अमलटाकुराबासी भएको खुलेको छ। उक्त गाउँपालिकाका अध्यक्ष खड्क विश्वकर्माले दुर्घटनामा ५ जनाको मृत्यु भएको खबर आएको बताए।