६ जेष्ठ २०८१, आईतवार

हत्या भएको ८ दिनपछि तीन बालबालिका र आमाको अन्त्येष्टि



मुगु । छायानाथ रारा नगरपालिका–६ मन्दु गाउँमा मारिएका सबैको दाहसंस्कार गरिएको छ। हत्याको घटना भएको ८ दिन र शव परीक्षण भएको चार दिनपछि चारै जनाको आज दाहसंस्कार गरिएको हो।
हत्याको कारण पत्ता नलागेको भन्दै मृतकका आफन्त दीपक बोहोराले शव बुझ्न नमानेपछि दाहसंस्कारमा ढिलाई भएको थियो। यही कात्तिक ८ गते राति २८ वर्षीया आमा श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, आठ वर्षीय छोरी अप्सरा र आठ महिनाका छोरा रहर बोहोरा मारिएका थिए।
गत ८ गते वुधबारको भएपनि प्रहरीले त्यसको दुई दिनपछि १० गते शुक्रबार बिहान ९ बजे स्थानीयवासीको सूचनापश्चात् जानकारि पाएको थियो। जानकारी पश्चात् घटना स्थल पुगेको प्रहरिले २८ वर्षीय आमा श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, आठ वर्षीय छोरी अप्सरा र ८ महिनाका छोरा रहर बोहोरालाई घरभित्रै मृतावस्थामा फेला पारेको थियो।
वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका मृतक श्रीदेवीका श्रीमान् दीपक बोहोरा शनिबार घर पुगेपछि सोही दिन प्रहरीले चारै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल मुगुमा पुर्‍याइएको थियो।घटनामा जानकारी आए लगतै जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापासहितको विशेष अनुसन्धान टोली घटनास्थलमा खटिएर हत्याको सूक्ष्म अनुसन्धान गरिरहेको छ।
सो घटना मृत्यु नभई सामूहिक हत्या भएको आशङ्का गरी प्रहरीले शनिवार ११ गते देखि कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको विशेष अनुसन्धान ब्यूरो टोली र कोहलपुरबाट तालिम प्राप्त कुकुरसहित खोज अनुसन्धान टोली खटिई अनुसन्धान गर्दै आएको छ। जुम्लाबाट पनि हत्या घटनाको अनुसन्धान कार्यलाई सघाउन प्रहरीको विशेष अनुसन्धान टोली मुगु पुगेको थियो।
घटनाको प्रकृति,अनुसन्धानको प्रगती बारे नजिकबाट बुझ्न कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल १२ गते घटनास्थल मै आफै पुग्नु भएको छ।
घटना भएको सिङ्गो गाउँलाई उच्च निगरानीमा राखेर अनुसन्धान गरिएता पनि घटना घटेको ९ दिन वितिसक्दा पनि खासै तथ्य भने प्रहरीले भेटाउन सकेको छैन। प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाका अनुसार प्रदेश प्रहरीले प्रदेशभरि कै घटना गतिविधिहरुमा मुगु घटनालाइ उच्च प्राथमिकता राखेर प्रदेश प्रहरी प्रमुख घटनास्थलमा पुग्नु भएको हो।
अनुसन्धानका क्रममा एक व्यक्तिलाई घटनामा संलग्न भएको आशङ्कामा प्रहरिले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। घटनाको प्रकृति हेर्दा श्रीदेवीले लगाएका गहना र उनले प्रयोग गर्दै आएको मोबाइल २ फोन सेट मध्ये एक सेट भेटिए पनि अर्को सेट भेटिएको छ। प्रहरीले हालसम्म पनि घटनामा संलग्न व्यक्तिबारे ठोस प्रमाण फेला पार्न सकेको छैन।
हत्यारा र हत्याको कारण पत्ता नलाग्दै लास बुझ्न दबाब परेपछि मानसिक तनावमा रहेका मृतक श्रीदेवीका श्रीमान दिपक बोहोरा बिहीवार बिहानैदेखि बेपत्ता भएका थिए। सबै तिर प्रहरी र स्थानियहरुले खोजी गर्दा राती ८ बजे छायानाथ रारा नगरपालिका वडा न ४ भामवाडा गाउमा रहेका आफन्तको घरमा बसेको फेला पारेका थिए।
शुक्रबार बिहान नगरप्रमुख विष्णु कुमार भाम,आफन्तहरुको सम्झाइ बुझाइ पछि दिपक बोहोरा लास बुझ्न र दाहसस्कार गर्न सहमत भएका थिए। आमा श्रीदेवी बोहोरा र ११ वर्षीय छोरा मनोज बोहोराको लास जलाइएको र ८ महिने छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको लास जमिनमा दफन गरिएको छ।