६ जेष्ठ २०८१, आईतवार

कर्णाली सरकारले आज शोक मनाउने



सुर्खेत । कर्णाली प्रदेश सरकारले जाजरकोटमा गएको भूकम्पमा परी ज्यान गुमाएकाहरूको स्मृतिमा आज शोक मनाउने भएको छ । शनिबार बसेको प्रदेश सरकारको बैठकले आज आइतबार शोक मनाउने निर्णय गरेको हो । प्रदेश सरकारले भूकम्पपीडितहरूलाई सहयोग गर्नसमेत आह्वान गरेको छ ।
शुक्रबार राति गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरेर अहिलेसम्म एक सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी २०८ जना घाइते भएका छन् ।
भूकम्पबाट जाजरकोटमा एक सय ५, रुकुम पश्चिममा ८५, दैलेख र बैतडीमा तीन\तीन तथा रोल्पामा एक जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज, काठमाडौँ तथा अन्य ठाउँमा ल्याइएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुटेको छ ।
शुक्रबार राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र भएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको छ ।