४ जेष्ठ २०८१, शुक्रबार

दिपाशा आत्महत्या प्रकरण : फेसबूकमा बेइज्जत गर्ने धम्की आएपछि भिडिओ कलमै विष सेवन

मिटरब्याजको पासोले तनावमा हुँदा सम्बन्ध टुटेपछि थप विक्षिप्त


काठमाडौं । मोडल दिपाशा बिसी ‘जलपरी’ ले आत्महत्या गर्नुको कारण आर्थिक कारोबार र धम्की रहेको निकटस्थहरूले खुलासा गरेका छन् । पार्लर व्यवसाय र अरू आर्थिक कारोबार मिलाउन नसकेपछि उनी निराशा र तनावमा थिइन् ।
उनी ज्यान फाल्ने अवस्थामा पुग्न भने केही व्यक्तिले दिएको निरन्तरको धम्कीले दुरुत्साहन गरेको हुनसक्ने निकटस्थहरूले अनुमान गरेका छन् । धम्की आर्थिक कारोबारसँग नै सम्बन्धित थियो ।
उनी सुन्धारास्थित काठमाडौं मलको तेस्रो तल्लामा करिब तीन वर्षयता ब्यूटीपार्लर चलाउँदै आएकी थिइन् । उनले बुधबार राति पार्लरको म्यानेजर उमेश लम्साललाई भिडिओ कल गरेर विष पिएकी हुन् ।
त्यो दिन उनले म्यानेजर उमेशलाई फोन गरिन् । ‘संकटमा रहेको व्यवसाय बचाउन र अरू कारोबार मिलाउन केही व्यक्तिसँग सापटी लिएको’ कुरा सुनाइन् ।
‘विविध तनाव झेल्न नसकेर आफू सदाको लागि धर्ती छाड्न लागेको’ अप्रिय निर्णय सुनाइन् । दिपाशाले बाँकी ऋण पार्लर बेचेर तिरिदिन उमेशलाई आग्रह गरिन् ।
पार्लरका म्यानेजर उमेश भन्छन्, “म्यामले भिडिओ कल गर्नुभयो । पसल बेचेर ऋण तिरिदिनु भन्नुभयो । अचानक विष खानुभयो । हामीले सम्झाउँदा-सम्झाउँदै त्यसो गर्नुभयो । अरू बेलामा हामीलाई सम्झाउने उहाँले त्यो निर्णय लिनुहुन्छ भन्ने कल्पनासमेत थिएन ।”
विष पिएपछि छटपटाएको देखेर दिपाशालाई सँगै बस्ने भाइ र बहिनीले अस्पताल पुर्‍याए । भोलिपल्ट अस्पतालमा उनको निधन भयो ।

कला क्षेत्रकी उम्दा प्रतिभा दिपाशा मिटरब्याजले किलकिलो अँठ्याएर छटपटाइरहिन् । साथीसङ्गीसँग सहयोगको याचना गरिन् । ऋण ‘दिन दुई गुणा–रात चार गुणा’ का दरले बढ्दै गयो । पैसा नदिए फेसबूकमा लेखेर बेइज्जत गर्ने धम्की आयो । मिटरब्याजको गलपासोले थिचिएकी दिपाशाले मुक्त हुन विषको सहारा लिइन् । अहिले उनले संसार छाडेपछि भने शोक सन्तप्त साथीहरू श्रद्धाञ्जली लेखिरहेका छन् । तर, सास छँदा भने सहयोग गर्न कसैले वास्ता गरेन ।

मिटर ब्याजको पासो- बेइज्जत गरिदिने धम्की
आर्थिक संकटको गर्जो टार्न दिपाशाले मिटरब्याजबाट ऋण लिन बाध्य भएकी काठमाडौं मलकै केही व्यापारीहरू बताउँछन् । तर, तिर्न सकिनन् । समयमै तिर्न नसकेपछि पैसा दिएकाहरूले सामाजिक सञ्जाल फेसबूक, टिकटकमा लेखेर बेइज्जत गरिदिने धम्की दिँदै आएका थिए ।
दिपाशा निकटका व्यक्तिहरूकाअनुसार उनले पैसा तिर्न केही समय मागिरहेकी थिइन् । तर, सावाँभन्दा धेरै गुण पैसा तिरिसक्दा पनि मिटरब्याजीको हिसाब चुक्ता भएन । अन्ततः उनी हारिन् ।
कानूनतः मिटरब्याजमा पैसा लगाउनु अवैध हो । तर, दिपाशाले साथीहरूको सहयोग नपाएपछि मिटरब्याजबाट ऋण लिन बाध्य भएकी थिइन् ।

कोरोना र आर्थिक मन्दीको असर
काठमाडौं मलको तेस्रो तलामा दिपाशाको ग्लो नामको पार्लर छ । पार्लर खोलेको २ महिनामै दोस्रो लकडाउन भयो । व्यापार सोचेजस्तो भएन । धेरैजसो उनका साथी सर्कलकै मानिसहरू आउँथे ।
चिनेकै मान्छे भएकाले उनले धेरै सहुलियतमा सेवा दिन्थिन् । भाडा महिनाको १ लाख २१ हजार थियो । बिजुलीको बिल १५ हजारसम्म उठ्थ्यो । १०-१२ जना स्टाफ थिए । सबैगरी मासिक खर्च कम्तीमा चारलाख रुपैयाँभन्दा बढी थियो।
नाफा नकमाएपनि खर्च धान्न चारलाख रुपैयाँ कमाउनैपर्थ्यो । भाडा समयमै नतिरेमा घरभेटीले बत्ती काट्ने गर्थे ।
दिपाशाले काठमाडौं मल सञ्चालक संस्थालाई पाँच महिनाको भाडा तिर्न बाँकी थियो । भाडाको ताकेता आइरहेको थियो । काठमाडौं मलले कात्तिक २५ भित्र सम्पूर्ण बक्यौता बुझाउन भन्दै पत्रसमेत दिएको थियो । त्यो पत्र दिपाशालाई मात्र नभई सबै व्यापारीलाई दिएको छ ।
दिपाशाको हकमा मासिक भाडा १ लाख २१ हजार र बिजुलीको बत्तीको बिलसहित पाँच महिनाको झन्डै सात लाख जति बुझाउन बाँकी छ । पार्लरसहित उनको अरू कारोबार मिलाउन उनले मिटरब्याजमा समेत पैसा लिएकी साथीहरू बताउँछन् ।
केही समयअघि दिपाशाले मिटरब्याजमा ठूलो परिमाणमा ऋण लिएकी थिइन् । उक्त ऋणको ब्याज सय गुणासम्म बढेपछि उनले तिर्न नसकेको स्रोतको भनाइ छ ।
त्यो तिर्न उनले कलाकारिता क्षेत्रका केही व्यक्तिहरूसँग आर्थिक सहयोगसमेत मागिरहेकी थिइन् । उनलाई नजिकबाट चिन्ने एक कोरियोग्राफर भन्छन्, “तिजअघि उनले आफूलाई ठूलो संकट परेको बताइन् । हामीले दुई लाख रुपैयाँ जुटाएर दिएका थियौँ ।”

काठमाडौं मलमै १८ वटा पार्लर, खर्च धान्नै मुस्किल
काठमाडौंको मुटु मानिने सुन्धारामा धेरै मानिसको भीडभाड हुन्थ्यो । मुख्य व्यापारिक क्षेत्र त्यहाँ केही वर्षअघि मानिसहरूको खचाखच भीड लाग्थ्यो । कोरोना महामारीपछि त्यहाँको भीड ह्वात्तै घटेको छ ।
त्यो मलमा पार्लर मात्रै १८ वटा छ । तर, ग्राहकको चाप पहिले जस्तो छैन । चल्न नसकेर चौथो तल्लामा रहेको एउटा पार्लर केही समयअघि मात्रै बन्द भयो ।
अझै त्यहाँ १७ वटा पार्लर चलिरहेका छन् । त्यसमध्ये २ वटा धेरै राम्रो चलिरहेको छ । सातआठ वटा ठीकै चलिरहेको छ। केही पार्लरहरूमा भने खर्च धान्न मुस्किल छ ।
दिपाशाको पार्लर ठिकै चलेको थियो । तर, पछिल्लो समय खासै चल्न सकेन । उनको बाहिरी अरू व्यवहार पनि मिलाउन सकस परेकोले तनाव झेल्न नसक्दा आत्महत्या रोजेको हुनसक्ने काठमाडौं मलकै अरू पार्लर व्यावसायीहरू बताउँछन् ।
दिपाशालाई नजिकबाट चिन्ने पार्लर सञ्चालकहरू भन्छन्, “खर्च मात्रै धान्न दैनिक २५, ३० हजारको व्यापार हुनैपर्छ । अहिले व्यापार छैन । व्यापार नभएपछि स्टाफ खर्च र भाडा तिर्न मुस्किल हुन्छ । घरबाट ल्याएर हाल्नुपर्छ । पछिल्लो समय खर्च धान्न सकस भयो । कला क्षेत्रबाट कमाएको पैसा पार्लरमै खनाउँदै गइन् । उनी आफू चल्न पनि खर्च चाहिन्थ्यो । यसबाहेक अरू बाहिरी व्यवहारमा पनि समस्या थियो कि भन्ने लाग्छ।” पछिल्लो महिना दिनयता दिपाशा तनावमा थिइन् । उनी लगातार पार्लरबाहिर भर्‍याङमा फोनमा डिस्कर्स गरेर बसेको देखेको वरिपरिका व्यापारीहरू बताउँछन् । उनको परिवारको आर्थिक अवस्था सामान्य छ। उनकी आमा दुबईमा वैदेशिक रोजगारीमा थिइन् । घर परिवार सबै सानैदेखि दिपाशाले नै हेर्दैआएकी थिइन् ।

काठमाडौं मल भन्छ- भाडा तिर्न दबाब थिएन
काठमाडौं मल सञ्चयकोषको भवन हो । दिवासपना जेभी नामको कम्पनीले जिम्मा लिएर चलाउँदै आएको छ । मल सञ्चालक दिवासपना जेभीले पनि आफूले सञ्चयकोषलाई भाडा तिर्नुपर्ने भन्दै व्यापारीसँग बक्यौता उठाउन दबाबयुक्त ताकेता गरिरहेको छ।
तर, दिपाशालाई भने कुनै दबाब नदिएको दिवासपना जेभीका सञ्चालक विष्णुहरी ढकाल बताउँछन् । उनी भन्छन्, ‘‘दिपाशाजीको भाडा नियमित आइरहेको थिएन । उहाँको व्यापारलगायतलाई मध्यनजर गर्दै हामीले पहिलादेखि सहुलियत दिँदै आइरहेका थियौँ । पूरा भाडा नभए पनि उहाँले जति सक्नुहुथ्यो त्यति मात्र दिनुहुन्थ्यो । हामीले यति नै चाहिन्छ भनेर कहिल्यै दबाब दिएनौँ । उहाँको अब पाँच महिनाको भाडा बाँकी छ ।’’

तिहारपछि क्यानडा जाने तयारीमा थिइन् दिपाशा
उनको पार्लर र अरू कारोबारमा समस्या आएपछि तिहारपछि पार्लर बेच्ने निर्णयमा पुगिसकेकी थिइन् । देश छाडेर क्यानडा पलायन हुने तयारीमा थिइन् । उनी हालै मात्र क्यानडा गएर आएकी थिइन् ।
त्यसो त दिपाशा म्युजिक भिडिओमा यत्तिकै सक्रिय नै थिइन् । देश तथा विदेशका स्टेज शोमा पनि उनको डिमान्ड थियो ।
स्रोतका अनुसार केही महिनाअघि उनको ब्रेकअप पनि भएको थियो । त्यसपछि उनी विक्षिप्त हुन थालेकी थिइन् । त्यही कारण दिपाशाले केही दिनदेखि सामाजिक सञ्जालमा निराशाले भरिएका पोस्टहरू गर्दै आएकी थिइन् ।
पार्लरको काम दिपाशाले वरिष्ठ ब्यूटीसियन सुष्मा महराको फेसियल हाउसबाट सिकेकी थिइन् । त्यही ठाउँ काठमाडौं मलमै । २०७० तिर उनी सिक्न गएकी थिइन् । त्यति बेला उनी कला क्षेत्रमा भर्खरै लागेकी थिइन् ।
आठदश महिना काम सिकेपछि उनले त्यही काम गर्न थालिन् । उनले त्यहाँ २ वर्ष काम गरिन् । त्यसपछि म्युजिक फिल्डमा व्यस्त बनिन् ।
काम गर्न छाडिन् । सानैदेखि केही गरौँ भन्ने सोच भएकी दिपाशाले फेरि त्यही फेसियल हाउसकै तल्लो तलामा आफ्नै ग्लो नामको पार्लर खोलेकी हुन् ।
दिपाशाले आफ्नो आइडल वरिष्ठ ब्यूटीसियन सुष्मा महरालाई मान्दै आएकी थिइन् । कला क्षेत्रमा जम्ने र सँगै सफल ब्यूटीसियन बन्ने उनको लक्ष्य थियो ।

सुर्खेतदेखि काठमाडौंसम्मको यात्रा
दिपाशा सुर्खेतमा जन्मिएकी थिइन्। सानैदेखि नृत्यमा रुचि थियो । त्यहीकारण स्कूलमा थुप्रै कार्यक्रममा नृत्य गरेकी थिइन् । स्कूल पढ्दा नै उनले सुर्खेतकै स्थानीय नृत्य समूह बागिनामा भर्ना भएर नृत्य सिकिन् ।
२०६८ सालमा उनले गोपीकृष्ण टीभी फिल्मीको ‘को बन्छ कलाकार’ नामको रियालिटी शोमा सुर्खेतबाटै अडिसन दिइन् ।
अडिसनपछि उनलाई गोपीकृष्ण फिल्म्सले प्रतियोगिताको अन्य चरणका लागि काठमाडौं बोलायो । त्यसपछि सफल कलाकार बन्ने चाहनाले उनी काठमाडौं आएकी थिइन् ।
त्यसपछि उनले ‘दुलही रानी’ फिल्म खेलिन् । ‘यही त होला माया भनेको’ बोलको लोकगीतमा अभिनय गरिन् । त्यसपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नु परेन । धेरै गीतमा आफ्नो नृत्य र अभिनय कौशल देखाइन् । केही फिल्म पनि खेलिन् । (नेपाल भ्युजबाट)