१९ बैशाख २०८१, बुधबार

एमालेको प्रदेश अधिवेशनबाट उपसचिव जितेका शाही हटाइए


सुर्खेत । एमालेबाट कर्णाली प्रदेश अधिवेशनबाट निर्वाचित भएका कर्णाली प्रदेशका उपसचिव रमेशकुमार शाहीलाई पदमुक्त गरिएको छ । एमालेको केन्द्रीय सचिवालय बैठकले उपसचिव शाहीलाई पदमुक्त गरेर उनको ठाउँमा पदमा खड्कालाई नियुक्त गरिएको छ ।

एमाले महासचिव शंकर पोखरेलले एउटा विज्ञप्ती जारी गरेर उपसचिव शाहीको ठाउँमा खड्कालाई नियुक्त गरेको जानकारी दिएका छन् ।

एमालेको केन्द्रीय सचिवालयको गत कार्तिक २२ गतेको बैठकले उक्त निर्णय गरेको पत्राचार महासचिव पोखरेलले मंगलबार प्रदेश कमिटीलाई जानकारी गराएका थिए ।

गत असोज ११ र १२ गते भएको प्रदेश कमिटीको निर्वाचनमा शाही र खड्का अलग अलग प्यानलबाट चुनाव लडेर उपसचिवमा बढी मत ल्याएर शाही विजयी भएका थिए ।

त्यो बेला पदाधिकारीमा महिलाको आरक्षण गरिएको थिएन् । पाँच सदस्यीय पदाधिकारीमा अहिले महिला नभएको भन्दै शाहीलाई हटाएर खड्कालाई नियुक्त गरिएको छ ।

शाहीलाई हटाएपछि एमाले कर्णालीमा तीव्र असन्तुष्टि देखिएको हो । महिला कोटा हुनुपर्ने दावीसहितको निवेदन परेपछि सचिवालय कमिटीले उक्त निर्णय गरिएको जनाइएको छ ।

निर्णय कार्यान्वयन गराउन लेखिएको पत्रमा भनिएको छ, ‘कर्णाली प्रदेश अधिवेशनमा पदाधिकारीमा महिला आरक्षण नगरिएकोमा उपसचिव पदमा महिला कोटा हुनुपर्ने दावीसहितको निवेदनलाई समेत ध्यानमा राखी विजयी पुरुष उम्मेदवारमध्ये दोस्रो मत ल्याउने रमेशकुमार शाहीका स्थानमा महिला उम्मेदवारमध्ये सबैभन्दा बढी मत ल्याउने पदमा खड्कालाई उपसचिव पदमा बहाल गर्ने । शाहीलाई प्रदेश कमिटीमा मनोनित गर्ने ।’

उपसचिव शाहीले अधिवेशनबाट लोकतान्त्रिक विधि पद्वती अवलम्बन गरेर चुनाव जित्दै पदाधिकारीमा आएका बताए । ‘अधिवेशनमा कार्यकर्ताले दिएको मतबाटै चुनिएका हौं ।’ उनले भने,‘विधान विपरित जसलाई मन लाग्यो, त्यसैलाई जिम्मेवारी दिने भन्ने कुरा हास्यास्पद हो । निर्वाचित कमिटिका पदाधिकारीको यो अधिकार खोस्ने अधिकार केन्द्रका महासचिव मात्रै होईन, कसैको पनि हुँदैन र छैन ।’