२३ बैशाख २०८१, आईतवार

कर्णाली प्रदेश अस्पतालमा ५१ जनाको मेरुदण्डको सफल शल्यक्रिया


सुर्खेत । कर्णाली प्रदेश अस्पतालले हालसम्म ५१ जनाको मेरुदण्डको सफल शल्यक्रिया गरेको छ । जटिल प्रकृति मानिएको स्पाइनल इन्जुरी (मेरुदण्ड)को सफल शल्यक्रिया गरेको हो ।

अस्पतालमा हालसम्म ५१ जनाको मेरुदण्डको सफल शल्यक्रिया गरिएको अस्पतालका अर्थोपेडिक विभागका प्रमुख डा.शुभ श्रेष्ठले बताए । ‘तीन वर्षदेखि अस्पतालमा स्पानल इन्जुरीको शल्यक्रिया हुँदै आएको छ ।’ उनले भने,‘सुर्खेतमै शल्यक्रिया सेवा सुरु भएपछि कर्णालीका ढाडसम्बन्धी बिरामीलाई उपचारका लागि बाहिर जानुपर्ने बाध्यता अन्त्य भएको छ ।’

महँगो र जटिल प्रकृतिको रोग भएकाले ढाडको शल्यक्रिया गर्ने बिरामीका लागि अस्पतालले ‘विपन्न नागरिक औषधि उपचार कोष’ सञ्चालन गरेको डा.श्रेष्ठले बताए । ‘विसं.२०७९ असारदेखि सञ्चालनमा आएको उक्त कोषबाट स्पाइनल इन्जुरीको शल्यक्रिया गरेका बिरामीले एक लाख बराबरको औषधि उपचार सेवा पाउँदै आएका छन् ।’ उनले भने,‘आर्थिक अभावमा बिरामी उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले अस्पतालले विपन्न नागरिक लागि उपचार कोष सञ्चालन गरेको छ ।’

पछिल्लो समयमा प्रदेश अस्पतालमा ठूला र जटिल प्रकृतिका उपचार सेवा सञ्चालन हुँदै आएका छन् । अर्थोपेडिक विभागमा हाल डा. शुभ श्रेष्ठ, डा. पदम गिरी, डा. रवीन केसी, डा. तेजेन्द्र साउद, डा. किशोरकुमार विष्ट र डा. हिक्मत भण्डारीसहित छ जना चिकित्सक कार्यरत छन् ।